‘निर्वाचनसम्म मात्रै म दलको प्रतिनिधि थिएँ, अब सबैको भएको छु’ – Nepal Press
हाम्रा प्रतिनिधि

‘निर्वाचनसम्म मात्रै म दलको प्रतिनिधि थिएँ, अब सबैको भएको छु’

रोहिणी गाउँपालिका अध्यक्ष यादव भन्छन्ः जनतालाई नजिकबाट सेवा-सुविधा प्रदान गर्नेछौं

रुपन्देही । २०७० र २०७४ सालमा सांसद जित्न नसकेका विद्याप्रसाद यादव २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष निर्वाचित भए । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता यादवले पालिकाको अल्पकालीन र दीर्घकालीन विकासका योजनालाई अगाडि सारेर घोषणा गरेका प्रतिबद्धता पूरा गर्न सबैसँग सहकार्य गर्न खोजेको बताउँछन् । गाउँपालिकाको विकास योजना, निर्वाचनमा घोषणा गरिएको प्रतिबद्धता कार्यान्वयनलगायतका विषयमा नेपााल प्रेसकर्मी रामप्रसाद आचार्यले जसपाका संघीय परिषद् सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ :

– गाउँपालिकामा पाँच वर्षमा के–के गर्न सकिन्छ भन्ने लागेको छ ? के छन् तपाईंको कार्यकालका प्राथमिकता ?

निर्वाचनअघि घोषणापत्र बनाएर जनताको घरदैलोमा पुगेका थियौं । सोही घोषणापत्रअनुसार मुख्यतः शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गाउँपालिकाको विकासका लागि काम गर्नेछौं । रोहिणी गाउँपालिकाको आफ्नै भवन नभएकाले भाडाको भवनमा छौं । गएको पाँच वर्षमा गाउँपालिकाको भवन बन्नसकेन । यो कार्यकालमा भवन बनाउनेछौं ।

त्यस्तै गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गरिनेछ । शैक्षिक गुणस्तरमा सुधार, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, सडक निर्माण जस्ता कार्यलाई प्राथमिकता दिनेछौं । जनतालाई नजिकबाट सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । धर्म-संस्कृतिको संरक्षणमा ध्यान दिनेछौं । गाउँपालिकाका प्रत्येक विद्यालयमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना छ ।

गाउँपालिकामा विभिन्न उद्योग रहेकाले विभिन्न क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना छ । गाउँपालिकालाई नमुना बनाउँछौंै । निर्वाचनका समयमा म एक पार्टीबाट आए पनि अब सबै दलसँग यहाँको विकासका लागि समन्वय गरेर अगाडि बढ्नेछौं ।

– सांसदमा पटक-पटक लडेको व्यक्ति गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । कस्तो अनुभूति भइरहेको छ ?

म यसअघि जनताको परीक्षणका लागि संसदमा लडेको हुँ । जित्न सकिएन । पहिले आफ्नो पालिका बनाउँछु अनि क्षेत्र बनाउँला भनेर यता आएको हुँ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको छु, जनताको सेवा गर्ने मौका पाएको छु । जनताबाट ठूलो अवसर पाएको छु । गाउँपालिका अध्यक्ष पद आफैमा महत्वपूर्ण जिम्मेवारी हो । जनताले मलाई विश्वास गरेर अमूल्य मत दिई निर्वाचित गराउनुभएको छ । जिम्मेवारी बढेको अनुभूति भइरहेको छ । जनताको मतको सम्मान गर्दै उहाँहरुको सुखदुःखमा साथ रहनेछु । सबै जनताको प्रतिनिधि बनेर सेवा गर्नेछु, मन जित्नेछु ।

– पालिकामा अन्य दल र मुख्य प्रतिस्पधामा रहेका दललाई कसरी समेट्ने योजना बनाउनुभएको छ ?

निर्वाचनसम्म मात्रै म दलको प्रतिनिधि थिएँ । अब यहाँका सबै नागरिकको प्रतिनिधि भएको छु । सम्पूर्ण राजनीतिक दलको मुख्य एजेण्डा नै रोहिणी गाउँपालिकाको विकास हो । अन्य दलसँग समन्वय गर्दै अगाडि बढ्छु । उहाँहरुसँग सल्लाह–सुझाव लिएर नै अगाडि बढ्छु । म जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएको छु । निर्वाचनमा प्रतिस्पर्धा गरेका थियौंं । विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्छ । कसैलाई पनि प्रतिस्पर्धी नमान्दै विकासका लागि हातेमालो गर्दै अघि बढ्छु । गाउँपालिकाको विकास हुनुपर्छ । रचनात्मक सहयोगको लागि सबैलाई धन्यवाद दिन चाहन्छु । यहाँको विकासका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्नेछु ।

– रोहिणीवासीले तपाईंसँग के अपेक्षा गर्ने ?

जनताको सेवा गर्न आएको छु । जनताको चाहना गाउँपालिकाको विकास हो । जनता अभिभावक हुन् । म जनताको चौकीदार हुँ । मैले गाउँपालिकाको विकासका लागि काम गर्नुपर्छ भन्ने रोहिणीवासीको अपेक्षा हो । गाउँपालिका र अस्पताल निर्माण, शैक्षिक गुणस्तरमा सुधार, भौतिक पूर्वाधार विकास जस्ता अपेक्षा उहाँहरुको छ । उहाँहरुको अपेक्षालाई पूरा गर्ने मेरो पहिलो प्राथमिकता हो ।

– पहिलो ३ महिनामा गाउँपालिकाको मुख्य-मुख्य समस्या के पत्ता लगाउनुभयो ?

नागरिकको उपचार गर्न यहाँ सुविधासम्पन्न अस्पताल छैन । उच्च शिक्षा अध्ययन गर्न क्याम्पस छैन । जसकारण उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई रोहिणी बाहिर जानुपर्ने बाध्यता छ । रोहिणीमा क्याम्पस सञ्चालन गर्ने योजना छ । गाउँपालिका भवन बन्न सकेको छैन । गाउँपालिकाका मुख्य-मुख्य समस्या समाधानतर्फ लागिपरेका छौं । यी समस्यालाई प्राथमिकताका आधारमा राखेर काम गर्नेछौं ।

– सुरुवाती चरणमा के के काम गर्नुभयो ?

विभिन्न विद्यालयमा भवन निर्माणको अवस्था पहिचान, शैक्षिक सामग्री वितरण, जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको छ । हामी निर्वाचित भएको तीन महिना पुगेको छ । पाँच वर्षको कार्यकालमा धेरै काम गर्न बाँकी नै छ । शिक्षा, स्वास्थ्य, भौतिक निर्माणका आधारभूत आवश्यकता हेर्दै काम गर्नेछु ।

– संघ र प्रदेश सरकारसँग कसरी समन्वय गर्नुभएको छ ?

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास र कृषि मन्त्रालयमार्फत योजना आएको छ । संघबाट योजना ल्याउने पहल गरिरहेको छु । आगामी दिनमा धेरै योजना सञ्चालन गर्नेतर्फ लागिपरेका छौं ।

– आन्तरिक स्रोत व्यवस्थापन कसरी गर्नुभएको छ ?

पालिकाको आन्तरिक स्रोत बढाउन विभिन्न योजना बनाएका छौं । ठूला आम्दानीको स्रोत नभए पनि वैकल्पिक स्रोतहरु प्रयोग गर्ने योजना छ । आन्तरिक स्रोत बढाउन करको दायरा फराकिलो बनाउनेदेखि विभिन्न योजना बनाएका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर