सुदूरपश्चिममा कांग्रेसका ७ निर्विकल्प उम्मेदवार, प्रदेश सभापति नै ‘रेड जोन’मा – Nepal Press
संसदीय चुनाव-२०७९

सुदूरपश्चिममा कांग्रेसका ७ निर्विकल्प उम्मेदवार, प्रदेश सभापति नै ‘रेड जोन’मा

कैलाली । शुक्रबार कैलालीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘जनताको साथमा कांग्रेस अभियान’ मा पूर्वमन्त्री रामजनम चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरी २०७४ भन्दा पहिले ५ पटकसम्म संघीय सांसद भइसकेका छन् । २०४८ ५१, ५६ मा प्रत्यक्ष निर्वाचित भएका चौधरी २०६४ मा समानुपातिक मार्फत सांसद भए । त्यसपछि २०७० को दोस्रो संविधान सभा प्रत्यक्ष निर्वाचित भएका चौधरी २०७४ प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक पराजित भएका थिए ।

पाँच पटकसम्म लगातार निर्वाचित भएर एक पटक पराजित भएका चौधरीलेको घोषणासँगै उनकै सम्भावना बलियो देखिएको छ । उनले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदकै अगाडी आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

‘सीट बाँडफाँट टुंगो नलाग्दै उहाँले उम्मेदवारी घोषणा गर्नुभयो । उहाँले माथि छलफल गरेरै घोषणा गर्नु भएको होला’ जिल्लाका एक पदाधिकारीले भने, ‘कैलाली १ अब कांग्रेसले पाउने भयो, कांग्रेसबाट उहाँ (राम जनम ) नै उम्मेदवार बन्नुहुन्छ ।’

शुक्रबार कांग्रेसका पुराना नेता फकिरसिंह कडायतले कैलाली क्षेत्र नम्बर १ मा रामजनम चौधरी निर्वाचनमा लड्ने संकेत दिएका थिए ।

‘रामजनमजी यहाँ लड्छु भन्नुभएको थियो । मलाई खुसी लाग्यो ’, उनले भनेका थिए । त्यसलगत्तै चौधरीले कैलाली १ बाट निर्वाचनमा होमिने घोषणा गरे ।

‘कैलालीमा कति र कुन सीट पाइन्छ थाहा छैन । तर, मेरो उम्मेदवारी १ मै हुन्छ । घोषणा गर्छु’ उनले भनेका थिए ।

प्रधानमन्त्रीदेखि पत्नी आरजुसम्म

सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र छन् । ती क्षेत्रमध्ये गठबन्धनका दलहरूले आ-आफ्नो दाबी पेस गरिरहेका छन् । अहिलेसम्म सीट बाँडफाँट टुंगिसकेको छैन ।

गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले प्रदेशमा प्रतिनिधिसभाका १० क्षेत्रमा दाबी गरेको छ । अहिलेसम्म कांग्रेसका ७ क्षेत्र र ती क्षेत्रमा लड्ने उम्मेदवार भने करिब पक्का भइसकेका छन् । कांग्रेसबाट निर्विकल्प उम्मेदवार बन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पत्नी आरजुसम्म छन् ।

शेरबहादुर देउवा

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरा यस पटक पनि नेपाली कांग्रेसले पाउने लगभग निश्चित छ । डडेल्धुराबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लड्ने छन् ।

उनी २०४८ देखि अपराजित छन् । २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा विजयी भएर डबल ह्याट्रिक गरेका देउवा यस पटक पनि जित्ने दाबीसहित डडेल्धुरा रोज्ने देखिएका छन् ।

देउवा २०६४ मा डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचित हुँदा कञ्चनपुर छोडेर डडेल्धुरा रोजेका थिए । त्यस्तै २०७० मा कैलाली र डडेल्धुराबाट निर्वाचित हुँदा कैलाली छोडेर डडेल्धुरा रोजेका थिए । २०६४ मा कञ्चनपुरको क्षेत्र नम्बर ४ र २०७० मा कैलालीको क्षेत्र नम्बर ६ बाट उनी विजयी भएका थिए ।

यसअघि डडेल्धुराबाट निर्वाचित भएका देउवा अहिले पनि त्यहि लड्ने मनस्थिति बनाइरहेका छन् ।

आरजु राणा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट लड्ने मनस्थितिमा हुँदा उनकी पत्नी आरजु राणा देउवा कैलाली ५ बाट निर्वाचनमा होमिने तयारी गरेकी छन् । उनी पनि अहिलेसम्म कांग्रेसकी निर्विकल्प उम्मेदवार हुन् ।

‘उहाँ (आरजु ) लड्दिन भनेपछि अरू उम्मेदवार पक्का होलान् तर, अहिले सम्म उहाँ लड्ने मुडमा हुनुहुन्छ’ जिल्लाका एक पदाधिकारी भन्छन्, ‘कैलाली-५ मा उहाँ नै निर्विकल्प उम्मेदवार हो । ’

यसअघि पनि उम्मेदवार बनेकी आरजु राणा देउवा एमालेका उम्मेदवार नारदमुनि रानासँग ५ हजार बढी मतले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद कञ्चनपुर- २ बाट उम्मेदवार बन्ने पक्का जस्तै भएको छ । गठबन्धनभित्रका दलहरू बीच कञ्चनपुर २ मा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । यो क्षेत्र कांग्रेसले पाउने र त्यसबाट साउद उम्मेदवार बन्ने देखिएको छ ।
अघिल्लो पटक एमालेका नरबहादुर धामीसँग उनी ८ हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए । धामी ३३ हजार ३२० मत प्राप्त गरी विजयी हुँदा साउदले २४ हजार ८९३ मत प्राप्त गरेका थिए ।

रमेश लेखक

अघिल्लो पटक २५८ मतान्तरले एमालेका दीपकप्रकाश भट्टसँग पराजित भएका कांग्रेस नेता तथा पूर्व मन्त्री रमेश लेखक फेरि सोही क्षेत्रबाट उम्मेदवार बन्ने देखिएको छ । उनले यस पटक पनि कञ्चनपुर ३ रोज्ने उनी निकट स्रोतको दाबी छ । नेपाली कांग्रेसको लागि यो क्षेत्र निकै सुरक्षित मानिएको छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्री पत्नीको लागि पनि चर्चाका रूपमा हेरिएको यो क्षेत्रबाट अहिलेसम्म लेखक नै निर्विकल्प उम्मेदवार हुन् । अघिल्लो पटक झिनो मतले पराजित भएका लेखक अहिले उत्साहित छन् ।

२०७४ मा एमाले नेता भट्टले २६ हजार ३६४ मत प्राप्त गर्दा लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए ।

दिलेन्द्र बडू

देउवा सरकारमा हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका दिलेन्द्रप्रसाद बडू यस पटक दार्चुलाबाट निर्वाचनमा होमिने तयारीमा छन् । अघिल्लो पटक समानुपातिकमार्फत सांसद भएर हाल मन्त्री पदमा रहेका उनी अब प्रत्यक्ष निर्वाचन लड होमिने मुडमा छन् । दार्चुलामा दाबी गर्दा उनी निर्विकल्प हुन् ।

बद्री पाण्डेय

सुदूरपश्चिम प्रदेशमा सभापति शेरबहादुर देउवा पछि एक्ला पदाधिकारी रहेका पाण्डे यस पटक बाजुराबाट निर्वाचनमा होमिने तयारी गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा निर्वाचित भएका पाण्डेय यसअघि दुई पटक सम्म समानुपातिक मार्फत सांसद भएका थिए ।

समानुपातिक मार्फत राष्ट्रिय सभा सदस्य समेत भइसकेका पाण्डेय अहिले प्रत्यक्ष रोज्ने योजनामा छन् । देउवाइतर भएपनि केन्द्रीय पदाधिकारी रहेका कारण उनको उम्मेदवारी पक्का जस्तै रहेको कांग्रेस नेताहरू बताउँछन् ।

अरू कुन क्षेत्र ?

१६ निर्वाचन क्षेत्रमध्ये माथि उल्लेख गरिएका क्षेत्रहरू र उम्मेदवारहरू कांग्रेसभित्र पक्का जस्तै हो । उनीहरूले आफू उम्मेदवार बन्न नचाहेको अवस्थामा त्यो क्षेत्रबाट कांग्रेसका अरू बन्न सक्ने दाबी गरिएको छ । तर, गठबन्धन भएकाले पनि जित्न सहज हुने आँकलन छ । त्यसकारण १६ मध्ये ७ क्षेत्रबाट ती ७ जना उम्मेदवार हुने बताइएको छ ।

कांग्रेसले ७ मा मात्रै चित्त बुझाउने अवस्था भने छैन । तीबाहेक अन्य ३ क्षेत्र पनि कांग्रेसको रोजाइमा छ । तर, काग्रेसले सुदूरपश्चिममा अधिकतम ९ क्षेत्र पाउन सक्ने बताइएको छ । कैलालीको २ वा ४ र अछामको १ वा २ नम्बर क्षेत्र कांग्रेसले दाबी गरेको छ ।

गठबन्धनभित्र कांग्रेसले पाए कैलाली २ बाट कमल शाह वा मोहनसिंह राठोर, कैलाली ४ बाट सुनिल भण्डारीको चर्चा छ । कैलाली २ बाट यसअघि एमालेका झपट रावल र ४ बाट माओवादी केन्द्रका लेखराज भट्ट विजयी भएका थिए । अहिले भट्ट एमालेका सुदूरपश्चिम इन्चार्ज छन् ।

यसअघि भीम रावल निर्वाचित भएको क्षेत्रमा पनि कांग्रेसले दाबी गरेको छ । यो क्षेत्र नेकपा एकीकृत समाजवादीको पनि रोजाइमा छ । यहाँ नेकपा एकीकृतले बहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवरलाई उम्मेदवार बनाउने जनाएको छ ।

अछाम १ नेकपा एकीकृत समाजवादीले पाउने अवस्था आए अछाम २ मा कांग्रेसले दाबी गर्ने जनाएको छ ।

प्रदेश सभापति नै रेड जोनमा

कांग्रेस प्रदेश सभापति तथा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायरको क्षेत्र पनि कांग्रेसले दाबी गरेको छ । तर, यहाँ कांग्रेसले पाउने सम्भावना कम रहेको कांग्रेस उच्च स्रोत भन्छ ।

‘यो क्षेत्रमा कांग्रेस निकै बलियो छ यहाँ हामीले पाउनु पर्ने हो तर, गठबन्धनको सीट मिलाउँदा यो क्षेत्र नेकपा एकीकृत समाजवादीलाई पर्न सक्ने सम्भावना छ’ कांग्रेसका एक नेताले नेपाल प्रेसलाई बताए ।

नेकपा एमालेबाट निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा लागेका पूर्वमन्त्री प्रेम आले यहाँबाट उम्मेदवार बन्ने सम्भावना छ । प्रेम आलेको जोडले गर्दा प्रदेश सभापति नै प्रदेशमा लड्नुपर्ने बाध्यता आउन सक्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

अघिल्लो पटक बलायरलाई नै हराएर आले सांसद भएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेकै बेला बलायरलाई आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए ।

आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए । २०७४ सालमा बलायर हराएका आले २०७० सालमा डोटी क्षेत्र नम्बर २ बाट सांसद बन्दा बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

त्यस्तै डोटीमा माओवादीको तर्फबाट त्रिलोचन भट्टले पनि दाबी गरेका छन् । उनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हुन् । विभिन्न प्रदेशहरूमा मुख्यमन्त्री फेरिँदा पनि मधेस प्रदेश र सुदूरपश्चिममा मुख्यमन्त्री फेरिएका छैनन् ।

नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई दुई हजार पाँच सय ९२ मतले हराएका मुख्यमन्त्री भएका भट्टले मङ्सिर ४ का लागि संघीय निर्वाचन क्षेत्र ताकेका छन् । ७४ मा डोटी प्रदेशसभा ‘ख’ मा भट्टले १६ हजार ९१ मत र ल्याउँदा कांग्रेसका शाही १३ हजार ४९५ मा रोकिएका थिए ।

आफ्नो पूरै कार्यकाल मुख्यमन्त्री बन्न पाएको भट्टको ध्यान अब प्रतिनिधिसभातर्फ केन्द्रित छ ।

प्रदेश सभापति भएपनि समाजवादी र माओवादी मिलाउदा डोटी क्षेत्र कांग्रेसको भागमा पर्ने सम्भावना कम रहेको छ । तर,स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेस निकै अगाडि छ ।

कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर