भेटेरान लिडर्सः ४१ वर्षदेखि निरन्तर चुनावी मैदानमा, तैपनि छैनन् थाकेका – Nepal Press
आम चुनाव-२०७९

भेटेरान लिडर्सः ४१ वर्षदेखि निरन्तर चुनावी मैदानमा, तैपनि छैनन् थाकेका

काठमाडौं । एउटा व्यक्तिलाई कतिपटकसम्म चुनाव लड्न दिने ? नेकपा एमालेको बैठकमा बहसकै विषय बन्यो । एमालेका प्रायः २०४८ सालपछि चुनाव लड्न थालेका नेताहरु नै छन् । तर, नेपाली कांग्रेस, राप्रपा र मधेसवादी दलमा २०४८ होइन २०३८ सालदेखि लगातार चुनाव लड्दै आएका नेता २०७९ मा टिकटका आकांक्षी छन् ।

आजको दिनमा निर्वाचन लड्न संविधानमा उल्लेख भएअनुसारको योग्यता पुगेको जोकोही व्यक्ति योग्य हुन्छ । नेपालमा एउटा यस्तो समय थियो, जुनवेला दल खोल्न प्रतिबन्ध थियो । तैपनि त्यो पञ्चायतकालमा चुनाव भएको थियो ।

गाउँ, नगर र जिल्ला हुँदै र राष्ट्रिय पञ्चायतको चुनाव भएको थियो । जुन चुनावमा निर्दलीय उम्मेदवार बनेर जितेका तथा हारेकाहरु बहुदल हुँदै अहिले गणतन्त्रका चुनावमा पनि प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय पञ्चायतको २०३८ सालको चुनावदेखि उम्मेदवार बन्न थालेका कतिपय नेता ४१ वर्षपछि २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बन्न कम्मर कसेर लागेका छन् । दशकौं राजनीति गरेर पनि उनीहरु अहिलेसम्म थाकेका छैनन् । बरु उनीहरुलाई मत हाल्ने मतदाता थाकेर दिक्क मानिसके । ‘कतिपटक एउटै व्यक्तिलाई भोट हाल्ने ?’ अहिले जताततै यही प्रश्न गर्न थालिएको छ ।

यस सामग्रीमा पञ्चायतदेखि अहिलेसम्म निरन्तर चुनाव लडिरहेका छन् ‘भेटेरान लिडर्स’को बारेमा चर्चा गरिएको छ ।

पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा पञ्चायतकालीन समयदेखि नै निर्वाचन लड्दै आएका नेता हुन् । फरक कालखण्डमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जबराले पहिलोपटक २०३८ सालको पञ्चायतकालीन निर्वाचन लडेका थिए । सिन्धुपाल्चोकबाट निर्वाचन लडेका उनी मादल चिह्नबाट विजयी भएका थिए ।

त्यसपछि उनी २०४३ को निर्वाचनमा सिन्धुपाल्चोकबाटै पुुनः निर्वाचित भएका थिए । बहुदल आएपछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा जबराले राप्रपा (चन्द) बाट निर्वाचन लडेका थिए । सिन्धुपाल्चोक ३ बाट उनले उक्त निर्वाचन जिते ।

२०५१ सालको मध्यावधि निर्वाचनको क्रममा राप्रपा (चन्द) र राप्रपा (थापा) एक भएर राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको थियो । मध्यावधि निर्वाचनमा उनी एकता भएको राप्रपाबाट टिकट पाउँदै फेरि सिन्धुपाल्चोक ३ मै विजयी भएका थिए ।

२०५६ सालको आम निर्वाचनमा पनि जबराले राप्रपाबाटै निर्वाचन लडेका थिए । सिन्धुपाल्चोक ३ बाट उनी पाँचौंपटक निर्वाचित भए । त्यसपछि पहिलो र दोस्रो संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा उनी विजयी हुन सकेनन् । अहिले फेरि राप्रपाबाट निर्वाचन लड्न उनको नाम सिफारिस भइसकेको छ । ८१ वर्षीय राणाले अघिल्लो चुनावमा कांग्रेसको समर्थन हुँदा पनि जित्न सकेनन् ।

डा. प्रकाशचन्द्र लोहनी

पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी विभिन्न कालखण्डमा फरक पार्टीबाट प्रतिनिधित्व गर्दै आएको भए पनि अहिले एउटै पार्टी राप्रपामा छन् । उनीहरु दुवैजना पञ्चायतकालीन अवस्थामा सबैभन्दा बढी लाभको पदमा रहने व्यक्तिका रुपमा चिनिन्छन् ।

लोहनीले पनि २०३८ सालबाटै निर्वाचनमा भाग लिँदै आएका छन् । उक्त निर्वाचनमा लालीगुराँस चिह्नबाट उनी विजयी भएका थिए । नुवाकोटबाट निर्वाचित लोहनी २०४३ को चुनावमा फेरि नुवाकोटबाटै विजयी भएका थिए ।

बहुदल स्थापनापछिको २०४८ को पहिलो आम निर्वाचनमा उनी राप्रपा (चन्द) मा आवद्ध थिए । त्यतिवेला उनी नुवाकोट १ बाट निर्वाचित भएका थिए ।

यस्तै २०५१ सालको मध्यावधि निर्वाचनमा पनि नुवाकोट १ बाटै विजयी भएका थिए उनी । सो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नै अस्तित्वमा थियो ।

त्यसपछिका कुनै पनि निर्वाचन उनले जित्न सकेनन् । यसबीचमा उनी एकपटक समानुपातिकमा बसे भने बाँकी चुनाव हारेका हुन् । अहिले राप्रपाबाट फेरि उनी उम्मेदवार हुन चाहेमा निर्विकल्प छन् । उनले एमालेको समर्थन लिएर चुनाव लड्न खोजेको चर्चा पनि छ । राणा र लोहनी दुवैलाई गणतन्त्रपछि विजयमाला पहिरिने अवसर जुरेको छैन ।

अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको निर्वाचन क्षेत्र नुवाकोट हो । उनले पनि पञ्चायतकालदेखि नै निर्वाचनमा भाग लिँदै आएका छन् । २०३८ सालमा हलो चुनाव चिह्न लिएर निर्वाचन लडेका केसी नुवाकोटबाट विजयी भएका थिए ।

२०४३ को पञ्चायतकालीन निर्वाचनमा उनी पराजित भए । बहुदल स्थापनापछिको २०४८ सालमा भएको आम निर्वाचनमा उनले कांग्रेस रोजेका थिए । केसी नुवाकोट ३ बाट विजयी पनि भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा उनी फेरि कांग्रेसबाटै विजयी भएका थिए । उक्त निर्वाचन उनले नुवाकोट ३ बाटै लडेका थिए । त्यसपछिका दुई निर्वाचनमा उनी लगातार पराजित भए । २०५६ र २०६४ मा उनी पराजित भएका हुन् ।

२०७० सालको निर्वाचनमा भने उनी नुवाकोट १ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा पराजित केसी फेरि अहिले उम्मेदवार बन्ने दाउ हेरिरहेका छन् । यसअघिको निर्वाचनमा गठबन्धनका कारण हार व्यहोरेका केसी आगामी आम निर्वाचनमा गठबन्धनबाटै उम्मेदवार बन्ने दाउमा छन् ।

शरतसिंह भण्डारी

शरतसिंह भण्डारी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी महोत्तरीबाट निर्वाचित भएका थिए । भण्डारीले त्यतिबेला हाँस चुनाव चिह्न पाएका थिए ।

यसैगरी २०४३ सालको निर्वाचनमा उनी फेरि महोत्तरीबाटै निर्वाचित भएका थिए । दुइटा पञ्चायतकालीन निर्वाचनमा विजयी भण्डारी बहुदल आएपछि २०४८ सालको आम निर्वाचनमा भने पराजित भएका थिए ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार २०५१ को मध्यावधि निर्वाचनमा भण्डारी महोत्तरी ४ बाट निर्वाचित भएका थिए । उनी त्यतिबेला स्वतन्त्र उम्मेदवार थिए ।

कांग्रेसबाट टिकट नपाएपछि उनले बागी उठेर निर्वाचन जितेका थिए । त्यसपछि उनी कांग्रेसमै समाहित भए । २०५६ सालको आम निर्वाचनमा भण्डारी कांग्रेसका आधिकारिक उम्मेदवार बने । सो निर्वाचनमा महोत्तरी ३ बाटै उनी विजयी भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका भण्डारीले कांग्रेस छाडिसकेका थिए । अन्तरिम संविधान बनेपछि मधेस आन्दोलनको समयमा मधेसी जनअधिकार फोरम नेपाल संगठित रुपमा अगाडि बढेको थियो । २०६४ को निर्वाचनमा सो पार्टीले पनि निर्वाचनमा भाग लिएको थियो । मधेस आन्दोलन रापताप रहेकै बेला भएको निर्वाचनमा भण्डारी महोत्तरी ६ मा उम्मेदवार बनेका थिए । उनले फोरमबाट निर्वाचन जिते पनि ।

भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए । २०७४ सालको निर्वाचनमा पनि उनले जीत हात पार्न सकेनन् । अहिले उनी फेरि निर्वाचन लड्ने तयारीमा जुटेका छन् । सीट बाँडफाँटमा कुरा मिलेमा सम्भवतः उनी गठबन्धनको उम्मेदवार बन्नेछन् ।

बुद्धिमान तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ पनि पञ्चायतकालबाटै निर्वाचन लड्दै आएका व्यक्ति हुन् । २०३८ सालको निर्वाचनमा उनी धादिङबाट झोलुङ्गे पुल निर्वाचन चिह्न लिएर लडेका थिए । उनी विजयीसमेत भएका थिए ।
२०४३ को निर्वाचनमा भने उनी पराजित भएका थिए ।

बहुदल स्थापनापछिको पहिलो निर्वाचन २०४८ मा पराजय व्यहोरेका तामाङ मध्यावधि निर्वाचन २०५१ मा भने धादिङ १ बाट विजयी भएका थिए । उनले उक्त निर्वाचन राप्रपाबाट लडेका थिए ।

यस्तै २०५६ सालमा उनी राप्रपाबाटै उम्मेदवार बने । सो निर्वाचनमा पनि तामाङ धादिङ १ बाटै निर्वाचित भएका थिए । त्यसपछिका निर्वाचनमा भने तामाङ लगातार पराजित हुँदै आएका छन् । आगामी आम निर्वाचनमा फेरि उनी उम्मेदवार बन्ने तयारीमा छन् ।

दीपक बोहरा

पञ्चायतदेखि निरन्तर निर्वाचन लड्दै आएका राप्रपाका अर्का नेता हुन दीपक बोहरा । २०३८ को निर्वाचनमा उनले बत्ती बलेको दियो चिह्न पाएका थिए । उनी रुपन्देहीबाट निर्वाचित पनि भएका थिए । २०४३ को पञ्चायती निर्वाचनमा उनी फेरि रुपन्देहीबाटै विजयी भएका थिए ।

बहुदल स्थापनापछिको २०४८ सालमा भएको पहिलो आम निर्वाचनदेखि पहिलो संविधानसभा निर्वाचनसम्म उनी लगातार पराजित भए । २०७० सालको निर्वाचनमा भने बोहरा रुपन्देही २ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा फेरि पराजय भोगेका बोहरा अहिले फेरि निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

कमल थापा

अध्यक्षमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका कमल थापा पनि अहिलेसम्म निरन्तर निर्वाचन लड्ने नेतामा पर्छन् । मकवानपुरबाट निर्वाचन लड्दै आएका थापा २०४३ सालमा पहिलो पटक निर्वाचित भएका थिए ।

बहुदल स्थापनापछिको पहिलो निर्वाचन २०४८ मा उनी पराजित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भने थापा मकवानपुर १ बाट निर्वाचित भएका थिए । उनले त्यतिवेला राप्रपाबाट निर्वाचन लडेका थिए ।

त्यसपछि २०५६ र २०६४ को निर्वाचनमा उनी पराजित भए । २०७० सालमा भने उनी समानुपातिकबाट संविधानसभा छिरेका थिए । २०७४ को निर्वाचनमा थापा पराजितमात्रै भएनन् उनको पार्टीले थ्रेसहोल्डसमेत कटाउन सकेन । अहिले उनी फेरि निर्वाचन लड्ने तयारीमा छन् ।

पार्टीको महाधिवेशनअघिसम्म राजासहितको हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका थापा अध्यक्षमा पराजित भएपछि राजसंस्थाका विपक्षमा उभिएका छन् । पञ्चायतकालीन नेता थापा बहुदलमा सबैभन्दा बढी लाभको पदमा बस्ने नेताका रुपमा परिचित छन् ।

राजेन्द्र पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शिक्षक हुँदै राजनीतिमा होमिएका नेता हुन् । २०७४ को निर्वाचनमा धादिङ १ (क) बाट निर्वाचन जितेका पाण्डे नेकपा एमाले विभाजनपछि नेकपा एसमा छन् । विद्यार्थी आन्दोलनबाटै राजनीतिमा संलग्न उनले केही समय शिक्षण पेशासमेत अंगाले ।

२०४३ सालमा जिल्ला पञ्चायत सभापति बनेका पाण्डेले धादिङबाट निर्वाचन लड्दै आएका छन् । बहुदल स्थापनापछिको २०४८ सालमा भएको पहिलो निर्वाचनमा उनी नेकपा एमालेबाट विजयी भएका थिए । २०५१ सालको मध्यावधि, २०५६ सालको आम निर्वाचन र २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा उनी एमालेबाटै निर्वाचित भएका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने उनी माओवादीसँग पराजित भएका थिए । २०७४ मा प्रदेशसभामा झरेका उनी अहिले बागमती प्रदेशको मुख्यमन्त्री रहेका छन् । आगामी आम चुनावमा उनी फेरि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारी गरिरहेका छन् । अहिले नेकपा एसको केन्द्रीय उपाध्यक्ष रहेका पाण्डेले संघमा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर