बजेटपछि मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसले पाएका मन्त्रालय घट्ने प्रचण्डको संकेत – Nepal Press

बजेटपछि मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसले पाएका मन्त्रालय घट्ने प्रचण्डको संकेत

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट तथा नीति कार्यक्रम आएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बजेट र नीति कार्यक्रमबारे पनि छलफल भएको छ । तर, मन्त्रिपरिषद पुनर्गठन तथा चुनावी गठबन्धनको समिक्षा भने हुन बाँकी रहेको एक नेताले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले भने आइतबार आफ्नै निवास खुमलटारमा एकजना मन्त्रीसहित केही कांग्रेसका नेताहरुसँगको भेटमा बजेटलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । प्रचण्डलाई भेटेका एक कांग्रेस नेताले उनी चुनावी परिणामबाट सन्तुष्ट छन् र गठबन्धनलाई आगामी संसदीय चुनावसम्मै अझ बलियो बनाउने पक्षमा छन् ।

ती नेताले नेपाल प्रेससँग भने, ‘प्रचण्डजी विशेषगरी भरतपुरमा रेणु दाहालको जित निश्चित भएपछि गठबन्धन अझ बलियो बनाउनुपर्नेमा देखिनुभयो । उहाँले मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एकीकृत समाजवादीलाई दिइएको चार मन्त्रालयबाट अब एउटा झिक्ने पक्षमा हुनुहुन्छ । माओवादीले आफ्नो हैसियतअनुसार कम मन्त्रालय पाएको उहाँको भनाइ छ ।’

सरकार गठनका बेला नेकपा एमाले विभाजन गर्नु अनिवार्य रहेको र त्यसका लागि माधव नेपालको पार्टीलाई हैसियतभन्दा बढी मन्त्रालय दिनुपर्ने बाध्यता रहे पनि अब त्यो अवस्था नरहेको प्रचण्डले सो भेटमा बताएका छन् । प्रचण्डले यसअघि सार्वजनिक रुपमै पनि यो कुरा बताउँदै आएका थिए र माओवादीले हैसियतअनुसारको सरकारमा स्थान नपाएको बताएका थिए ।

हाल प्रधानमन्त्रीसहित कांग्रेसबाट ६ मन्त्री र एकजना राज्यमन्त्री छन् । त्यस्तै दोस्रो ठूलो दल माओवादी केन्द्रबाट पाँचजना मन्त्री र एक राज्यमन्त्री छन् भने नेकपा एकीकृत समाजवादीबाट ४ मन्त्री र एकजना राज्यमन्त्री छन् ।

पछिल्लोपटक कानूनमन्त्री बनेका गोविन्द बन्दी नेकपा एसकै नेता हुन् । यद्यपी उनलाई सत्ता गठबन्धनकै साझा मन्त्री मान्नुपर्ने नेकपा एसको दाबी छ । न्यायपालिका र द्वन्द्वकालीन मुद्दाको काम समन्वय गर्न उनलाई गठबन्धनबाट साझा मन्त्री बनाइएको हो ।

मन्त्रिपरिषदमा जनता समाजवादी पार्टीबाट चारजना मन्त्री छन् । मिनेन्द्र रिजालले राजीनामा दिएपछि रिक्त रहेको रक्षा मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले राखेका छन् । त्यो समेत कांग्रेससँग ७ मन्त्रालय छन् । माओवादीले कम्तीमा ६ वटा मन्त्रालय दाबी गरेको छ । यो पुनर्गठनमा हैसियतअनुसार माओवादीको मन्त्रालय थपिने प्रचण्डले बताएका छन् ।

बजेटलगत्तै मन्त्रिपरिषद् हेरफेर हुँदा मन्त्रीहरू पनि फेरिने र केही यथावत् रहने सम्भावना छ । अर्थमन्त्री फेर्न प्रधानमन्त्रीमाथि तीब्र दबाब छ भने माओवादीभित्रै पनि अर्थमन्त्री जनार्दन शर्मालाई फेर्न प्रचण्डमाथि दबाब छ ।

उता नेकपा एकीकृत समाजवादीभित्र चारैजना मन्त्रीलाई फिर्ता बोलाउन माधव नेपालमाथि दबाब छ । नेकपा एसका एक नेताले ६ महिना आलोपालो गर्ने पूर्वसमझदारी अनुसार अब सबै नयाँ मन्त्री पठाइने सम्भावना रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर