व्यापार घाटा कम गर्न दशक केन्द्रित कार्यक्रम ल्याऔं : थापा – Nepal Press

व्यापार घाटा कम गर्न दशक केन्द्रित कार्यक्रम ल्याऔं : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वदेशी उद्योग र उत्पादनको प्रबर्धनका लागि १ दशकको लक्षित कार्यक्रम ल्याउन अर्थमन्त्री जनार्दन शर्मालाई सुझाएका छन् ।

प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै सांसद थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि तत्कालीन र दीर्घकालीन योजना ल्याउन आग्रह गरेका हुन् ।

नेपाली उद्योगहरूको प्रवर्द्धनबाट मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै थापाले जुत्ता, कपडा, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘नेपाली बजारमै उत्पादन हुनसक्ने सामानहरू पनि विदेशबाट आइरहेका छन् । विदेशबाट आउने सामानको पनि न्यून मूल्यांकन हुँदा सरकारले पर्याप्त राजस्व लिन सकेको छैन । त्यसैले विदेशबाट आउने सामानलाई राजस्वको दायरमा ल्याउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ’, थापाले भने ।

उनले आगामी १ दशकलाई मानक समय मानेर काम गर्ने हो भने व्यापार घाटा कम गर्न सकिने भन्दै दीर्घकालीन रणनीति ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

नेपाल मान्छे बेचेर मालसामाना किन्ने देशमा परिणत भएको भन्दै थापाले आयात प्रतिस्थापनलाई मौखिक नभइ व्यवहारिक एजेण्डा बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर