कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर – Nepal Press

कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षले एकाघरका सदस्यलाई टिकट बाँडेका छन् ।

आफ्नै हस्ताक्षरमा टिकट वितरण गर्ने अवसर पाएका नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई दैलेखको ठाटीँकाध गाउँपालिका अध्यक्षको उम्मेदवार बनाए ।

नेकपा माओवादीको प्रदेश अध्यक्ष विमला केसीले रुकुमपश्चिममा आफ्नै श्रीमान् वसन्तकुमार शर्मालाई टिकट दिलाएकी छन् । शर्माले रुकुमको मुसिकोट नगर प्रमुखमा टिकट पाएका छन् ।

कम्युनिष्टमात्रै हाेइन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समेत सालीलाई दैलेखको नारायण नगरपालिका प्रमुखको टिकट दिलाएका छन् । दैलेखमा निर्मला थापाले टिकट पाएकी हुन ।

यस्तै कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगर प्रमुखकाे टिकट पाएका छन । दैलेखमा गठबन्धन कायम भएमा शाहीको उम्मेदवारी फिर्ता हुने बताइएको छ । कांग्रेसका अन्य आकांक्षी भए पनि शाहीले नै टिकट पाएका हुन ।

नारायण नगरपालिकाकै प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा एमालेबाट नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छन् । फेरि प्रमुखको उम्मेदवार नहुने बताएका खड्काले आफ्नी बहिनीलाई उपप्रमुखको उम्मेदवार बनाएको चर्चा एमाले वृत्तमा छ ।

यस्तै सरकारका अर्थमन्त्री जनार्दन शर्माले भाइ नाता पर्नेलाई टिकट दिलाएका छन् । अर्थमन्त्री शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार भएका हुन । उनी उम्मेदवार भएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृहजिल्ला कालीकोटको नरहरिनाथ गाउँपालिका उपाध्यक्षमा कलशा विकले उम्मेदवारी गराएकी छिन् । उनी प्रकाण्डकी भाइबुहारी हुन् ।


प्रतिक्रिया

One thought on “कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर

  1. यो नातावादी‌व्यवस्था प्रति घोर आपत्ति छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *