दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी – Nepal Press

दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी

रुपन्देही । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेको जिल्ला हो दाङ ।

एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित नेताहरूको जिल्ला भएकाले पनि यहाँको चुनाव सधैँ चर्चामा हुन्छ ।

यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा तालमेल गरी मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमनेसामने रहेका कारण जिल्लाको निर्वाचन रोचक बन्ने पुगेको छ ।

दश पालिका रहेका दाङमा नेकपा एमालेको विरासत भत्काउन आइतबार घोराहीमा पाँच दलीय गठबन्धनको बैठक बसेर चुनावी प्रतिवेदन तयार पारी केन्द्रमा पठाएको छ ।

एमाले एक्ले भिड्ने तयारीमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने तयारी गरेको छ । एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसँग तालमेल नहुने र एक्लै मैदानमा उत्रने जानकारी दिए ।

बस्नेतले घोराहीमा भने अहिलेका मेयर नरुलाल चौधरीलाई नै फेरि दोहोर्‍याउने तयारी भइरहेको बताए । घोराहीमा कृत्रिम जलाशय निर्माण, फोहोर व्यवस्थापन लगायतको क्षेत्रमा चौधरीले राम्रै काम गरेको भन्दै चर्चा भइरहेको छ । तर जिल्ला पार्टी कमिटीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए ।

२०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । घोराहीमा अहिले पनि कांग्रेस र माओवादीबाट डाँगी र गौतमकै नाम मेयरका लागि चर्चामा छ ।

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डेले आफू अहिले नउठ्ने भनेपछि एमालेले टीकाराम खड्काको नाम अगाडि सारेको छ । तुलसीपुरमा नेपाली कांग्रेसबाट भने एक दर्जन बढी आकांक्षी देखिएका छन् ।

त्यस्तै, जिल्लाको लमही नगरपालिकाको हकमा भने अझै यकिन भई नसकेको एमाले जिल्ला अध्यक्ष बस्नेतले बताए । २०७४ सालमा लमही नगरपालिकामा पनि गत स्थानीय निर्वाचनमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका थिए ।

एमालेलाई क्लिनस्वीप पार्ने गठबन्धनको रणनीति

दाङमा सत्ता गठबन्धनले एमालेलाई क्लिनस्वीप पारेर जाने रणनीति बनाएको दाबी गरेको छ । यस्तो रणनीति तयार गरी केन्द्रमा पठाएको संयुक्त प्रतिवेदनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउन सके जिल्लाका सबै पालिकामा एमालेलाई क्लिनस्वीप पार्ने उल्लेख छ ।

प्रतिवेदनमा गठबन्धन अनुसार साझा उम्मेदवार छनौट गर्न सके जिल्लाका १० वटै पालिका प्रमुख र उपप्रमुख मात्र नभई सबै वडाहरूमा समेत जित्ने दाबी गरिएको छ ।

नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले तयार गरी केन्द्रमा पठाएको प्रतिवेदनमा एमाले क्लिनस्वीप पार्ने उल्लेख गरिएको हो ।

केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रूपमा छलफल गरी वस्तुस्थितिको विवरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले बताए ।

डाँगीले दाङ काँग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिनस्वीप हुने दाबी गरे । तर उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठबन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरूप छलफल हुने डाँगीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर