श्रीमानको यादमा निरोजको पहल, कालीगण्डकी तीरमा ‘बिच भलिबल’ – Nepal Press

श्रीमानको यादमा निरोजको पहल, कालीगण्डकी तीरमा ‘बिच भलिबल’

पाल्पा । नेपाल भौगोलिक हिसाबमा सानो भए पनि प्राकृतिक हिसाबले अनेकन सम्भावना बोकेको देश हो । तर, नेपालको यो प्राकृतिक विशेषतालाई मनन गरेर र बुझेर काम गर्ने कमै मान्छे हुन्छन् ।

तिनै कम मान्छेमा पर्छिन्, भलिबल संघकी उपाध्यक्ष तथा सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्के । उनी आज नेपालको सुन्दर पक्षलाई खेलकुदको माध्यमबाट दुनियासामु चिनाउन लागिपरेकी छिन् । उनकै अग्रसरतामा लुम्बिनी प्रदेशको पाल्पास्थित कालिगण्डकीको किनारामा पहिलोपटक बिच भलिबल प्रतियोगिता भइरहेको छ ।

आफ्नो स्वर्गीय पति सञ्जय मास्केको सम्झनामा निरोजले यो प्रतियोगिताको आयोजना गरेकी हुन् । उनका श्रीमान सञ्जयले २९ वर्षको युवा अवस्थामै दुर्घटनामा परी ज्यान गुमाएका थिए । सञ्जय स्वयम् पनि खेलकुद तथा कला साहित्यमा सक्रिय थिए ।

श्रीमानले नै निरोजलाई रानीमहलको सेरोफेरोका बारेमा सुनाएका थिए, तर सँगै आउने भाग्य उनीहरुलाई जुरेन । २०५५ सालमा पतिको मृत्युपछि निरोज २०६० सालमा घुम्न रानीमहल पुगिन् । उनलाई त्यतिबेला भलिबलको केही ज्ञान नै थिएन । जब २०६४ सालमा भलिबल संघमा आबद्ध भइन्, त्यसपछि उनले भलिबलबारे बुझ्न थालिन् र बिच भलिबलको बारेमा पनि थाहा पाइन् ।

आफू जानकार भएपछि पहिलोपटक पर्यटकीय स्थल सौराहामा उनले राष्ट्रिय बिच भलिबल आयोजना गरिन् । कालिगण्डकीको किनारमा अझ भनौं, रानीमहलको काखमा यो प्रतियोगिता आयोजना गर्ने उनको तीन वर्ष अगाडिदेखिको योजना थियो । कयौंपटक रानीमहल धाइन् । कयौं दिनको स्थलगत अवलोकन र घण्टौं त्यही ठाउँमा बसेर सोचेको बिच भलिबल आयोजना गर्ने सपना साकार हुँदा मास्के दंग छिन् ।

प्रतियोगितालाई आगामी वर्षहरुमा निरन्तरता दिएर यसलाई राष्ट्रियबाट अन्तर्राष्ट्रिय उनको अझै ठूलो सपना छ ।

उनी भन्छिन्, ‘स्वेदेश तथा विदेशबाट पाल्पा घुम्न आउँदा रानीमहल मात्रै भनेर आउने मान्छे धेरै हुन्छन् । यो प्रतियोगिताले पक्कै पनि रानी महलजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पादको संवद्र्धनमा मद्दत पुग्नेछ ।’

धेरै मानिसहरुलाई अझै पनि बिच भलिबलको ज्ञान छैन । यहाँका स्थानीयदेखि देशभरिका जनतामा भलिबललाई ‘प्रोमोट’ गर्ने मुख्य उद्देश्य प्रतियोगिताको छ । त्यतिमात्रै नभइ खेलकुदको माध्यमबाट पर्यटनलाई टेवा पुर्याउने अर्को मुख्य उद्देश्य हो ।

रानीमहल परिसर या कालिगण्डकीको किनार बिच भलिबलका लागि प्रबल सम्भावना बोकेको ठाउँ हो । मास्केका अनुसार यस ठाउँमा स्थायी कोर्ट बनाउने प्रयास भइरहेको छ । स्थायी कोर्ट स्थापना गरी स्थानीय खेलाडीलाई प्रोत्सान गर्ने जमर्को सञ्जय मेमोरियल फाउन्डेसनले गरिरहेको छ ।

राष्ट्रिय भलिबलको एउटा महत्वपूर्ण विधाका रुपमा रहेको बिच भलिबल नेपालका लागि मेडल ल्याउने सम्भावना बोकेको खेल हो । नेपाली खेलाडीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गरेर मेडलहरु ल्याएका पनि छन् । कालिगण्डकीजस्तै अन्य स्थानहरुमा पनि यस्ता प्रतियोगिता आयोजना गर्ने हो भने नेपालको राष्ट्रिय खेलको थप स्तरोन्नति हुन सक्ने मास्के बताउँछिन् ।

चैत्र २४ देखि आयोजना भएको प्रतियोगिता शनिबार समापन भएको थियो । विभागीय टोली नेपाल पुलिस क्लबले प्रतियोगिताको उपाधि उचाल्यो । लुम्बिनी प्रदश प्रतियोगिताको उपविजेता बन्यो भने सुदूरपश्चिम तेस्रो भयो । विजेता टोलीकी कप्तान कमला पुनः सर्वोत्कृष्ट खेलाडी बनिन् । यस्तै, पूर्व राष्ट्रिय खेलाडी कमला उप्रेतीलाई भलिबल विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

पहिलोपटक प्रतियोगिता आयोजना भएकाले धेरै कमिकमजोरी भएको स्वीकार्दै मास्केले आगामी वर्षमा यसलाई सुधारेर अझै भव्य आयोजना गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *