राप्रपा अध्यक्ष लिङ्देनको आग्रह: चुनावमा कांग्रेस, एमालेलाई भोट दिएर गल्ती नगर्नुस् – Nepal Press

राप्रपा अध्यक्ष लिङ्देनको आग्रह: चुनावमा कांग्रेस, एमालेलाई भोट दिएर गल्ती नगर्नुस्

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्याउन आग्रह गरेका छन् ।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रब्युहमा देशसँगै हामी पनि फसेका छौं,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउँछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङदेनले टिप्पणी गरे । ‘साढेको टाङमुनि बाल्टी थापेर दुध आउछ ? साँढेले दुध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिदाँ दुध आउछ ? साँढेको धर्म नै दुध दिने होइन, कसरी आउछ ? त्यसैले ठूला भनिने दललाइ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर