कोरोना बढेपछि अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल – Nepal Press

कोरोना बढेपछि अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल

चितवन । यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ ।

शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जिओपिडि सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएका छन् ।

दैनिक यो संख्या बढ्दो छ । अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार ९ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उनले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताए । उनले भने, ‘संक्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी यही ढङ्गले संक्रमित बढ्दै गयो भने सामान्य अवस्थाका संक्रमित चिकित्सक स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले भने, ‘सबै संक्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्‍यो नि ।’

चितवन मेडिकल कलेजमा अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा संक्रमित भइसकेको बताए । उनले भने, ‘सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्, परीक्षण गर्‍यो भने उनीहरुलाई पनि संक्रमण देखिन सक्छ ।’ यस्तै अवस्था रहेमा संक्रमितले संक्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताए । जिल्लामा संक्रमितको संख्या दुई हजार ७३६ जना पुगेको छ । त्यसमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर