नाम र राजधानी तोक्न प्रदेश २ मा आज मतदान, कुनै प्रस्तावमा दुई तिहाइ नपुग्ने – Nepal Press

नाम र राजधानी तोक्न प्रदेश २ मा आज मतदान, कुनै प्रस्तावमा दुई तिहाइ नपुग्ने

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तोक्न प्रदेशसभामा आज दोस्रोपटक मतदानको तयारी गरिएको छ । बिहान ११ बजे बस्ने बैठकमा हिजो छलफलमा भाग नलिएका सांसदले आफ्नो धारणा राख्ने र त्यसपछि मतदान हुनेछ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन विशेष अध्ययन समिति गठन भएको थियो । तर, समितिमा सहमति नजुटेपछि मतदान प्रक्रियाबाटै टुंगो लगाउने निष्कर्षमा दलहरू पुगेका छन् ।

समितिले प्रदेशसभामा पेस भएका नामाकरणका ६ प्रस्तावमध्ये ४ र राजधानीका लागि पेस भएका ६ प्रस्तावलाई ३ वटामा झारेको छ ।
समितिका सदस्य तथा लोसपा सांसद प्रमेश्वर साहका अनुसार ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ मा मतदान हुनेछ । यस्तै जनकपुरधाम र वीरगञ्जलाई राजधानी तोक्ने प्रस्ताव छ । तर, भूभाग फरक भएको भन्दै वीरगञ्जका दुई प्रस्ताव र जनकपुरधाममका लागि मतदान हुनेछ ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको थियो । तर, मिथिला भोजपुरामा मधेश जोडेर प्रदेशको नाम राख्न कांग्रेस तयार भएको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेकोमा जानकी मधेश राख्न तयार भएको बताइएको छ । तर, प्रमुख सत्तारुढ जसपा, सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी लोसपा मधेस नाममा मिथिला भोजपुरा वा जानकी जोड्न तयार छैन ।

प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत छन् । तर, पर्सा र आसपासका सबै दलका सांसद वीरगञ्जको अडानमा छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै जसपाकी सांसद करिमा बेगमले वीरगञ्जलाई राजधानी नतोकिए पर्साका बासिन्दा प्रदेशबाटै अलग हुने र प्रदेश ३ मा मिल्ने चेतावनी दिएकी थिइन् ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन दुई तिहाइ बहुमत आवश्यक पर्छ । तर, कुनै प्रस्तावमा दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन ।
प्रदेशसभामा हाल १०४ सांसद छन् । दुई तिहाइका लागि ७० सांसद चाहिन्छ ।

प्रमुख सत्तारूढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ सांसद छन् । प्रतिपक्षी लोसपाका १६, एमालेका ८ र नेपाल संघीय समाजवादीका १ जना छन् ।

मधेश प्रदेशका पक्षमा रहेका जसपा, लोसपा र माओवादी केन्द्रका ६३ सांसद छन् । दुई तिहाइका लागि उनीहरूसँग ७ सांसद पुग्दैन । प्रदेशको नाममा सहमति नजुटे मधेस पक्षमा रहेका सांसदहरू जनकपुरधामलाई राजधानी बन्न नदिने स्रोतले बताएको छ ।

यसअघि २०७७ चैत ५ मा पनि राजधानी र नाम टुंगो लगाउन मतदान भएका थियो । तर, कुनै पनि प्रस्तावमा दुईतिहाइ नपुगेपछि पारित भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर