बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए – Nepal Press

बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

काठमाडौं । सुर्खेत जिल्ला अदालतले गत जेठमा बलात्कृत बनेकी युवतीको पहिचान खुलाएको समाचार प्रकाशित गरेको आरोमा एक पत्रकारलाई सजाय सुनाएको छ । राप्ती पहिचान डटकमका सञ्चालकसमेत रहेका पत्रकार एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएको हो ।

न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्नु नपर्ने विकल्प पनि दिएको थियो । त्यसअनुसार बुढामगरले आफ्नै अनलाइनमा क्षमायाचना गरेका छन् । आफ्नो फेसबुक पेज र राप्ती पहिचान डट कममा उनले क्षमायाचना गरेका हुन् । त्यसको स्क्रिनसट उनले अदालतमा बुझाएका छन् । २४ घन्टाभित्र क्षमायाचना गरेर त्यो सामग्री ६ महिनासम्म हटाउन नहुने अदालतको सर्त थियो ।

क्षमायाचनापछि बुढामगरले कैदसजाय माफी पाएको अदालत स्रोतले जनाएको छ । जरीवाना भने उनले बुझाइसकेका छन् । अदालतमा पनि उनले माफी मागेका छन् ।

बुढामगरले युवतीको नामथर र तस्बिरसहित समाचार प्रकाशित गरेका थिए । पिडितको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध फेसबुकमा समेत उनले स्टाटस लेखेका थिए ।

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्मकार पीडित युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीनजना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो । निजहरूको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु ।’

अदालतको फैसलामा संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रशारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको उल्लेख छ ।

गत जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न गएका बेला केही युवाले होटलमा उनीहरुलाई मापसे गराएर यौनसम्वन्ध राखेका थिए । त्यसको भिडियोसमेत सामाजिक सञ्जालमा लिक भएको थियो । युवतीमाथि यस्तो हर्कत गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनाद पुन अदालतको फैसलाबाट जेल चलान गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर