स्काउटमा लफडा, अदालतको आदेश ठूलो कि मन्त्रालयको ? (भिडियोसहित) – Nepal Press

स्काउटमा लफडा, अदालतको आदेश ठूलो कि मन्त्रालयको ? (भिडियोसहित)

भण्डारीले नै लफडा गर्ने नियत राखे– खत्री

काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पुनर्वहाली भएका नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीलाई काम गर्न नदिन एउटा समूहले स्काउट कार्यालयमा लफडा गरेको छ ।

युवा तथा खेलकुद मन्त्रीले पठाएको भन्दै राजिव खत्रीको नेतृत्वमा गएको एउटा समूहले स्काटउनको कार्यालय र राष्ट्रिय संयोजक भण्डारीको कार्यकक्षमा  लफडा गरेपछि प्रहरीले उनीहरुलाई फर्काएको छ । शुरुमा सो समूह प्रहरी लिएर भण्डारीलाई निकाल्न भन्दै गएको थियो ।

तर भण्डारीले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश देखाएपछि प्रहरीले अर्को समूहलाई फर्काएको हो । केपी ओली सरकारले नियुक्त गरेका भण्डारीको टिमलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो ।

सरकारले रविन दाहाललाई संयोजक र राजिव खत्रीलाई सहसंयोजक नियुक्त गरेको थियो । उनै खत्रीको नेतृत्वमा बुधवार लफडा भएको हो । दाहाल भने केहीबेरपछि स्काउट कार्यालयबाट हिँडेका थिए ।

आफूलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै भण्डारी अदालत गएका थिए । अदालतले भण्डारीलाई हटाउने र दाहाल नियुक्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेपछि भण्डारीले पुनर्वहाली गरेका छन् ।उनलाई काम गर्न नदिन मन्त्रालयबाटै बाहुबलीहरुको समूह हुलहुज्जत गर्न पठाइएको आरोप भण्डारी पक्षले लगाएका छ ।

दुवै पक्षबीच निकैबेर भनाभन चलेको थियो । भण्डारीले अदालत भन्दा ठूलो कोही नभएको भन्दै आफू मन्त्रीसँग सम्बन्धित नभएको बताएका थिए । खत्रीले भने आफूलाई मन्त्रीले पठाएको भन्दै कार्यालय नछाड्ने अडान लिएका थिए ।

उनीहरुले भण्डारीलाई निकाल्न प्रहरी लिएर गएका थिए । तर प्रहरीले सो समूहलाई अदालतको आदेशभन्दा बाहिर जान नसकिने बताएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बिहीबार बोलाएको छ ।

खत्रीले भने भण्डारी नै गैरस्काउटको दलबलसहित कार्यालय पसेपछि लफडा भएको बताउँछन् । हामीलाई सरकारले नियुक्त गरे संगै नियमित काम गर्दै आएका छौ।सम्मानित अदालतबाट आएको अन्तरिम आदेश बारे जानकारी नै छैन । नेपाल स्काउट विपक्षी पनि छैन र पत्र पनि न मन्त्रालयबाट न अदालतबाट आएको छ भने कसरी उहाँहरूलाई स्विकार्ने ? खत्री भन्छन्, ‘हामी वैठक बसी रहेको समयमा लोक भण्डारी गैरस्काउट दलबलसहित भित्र पस्नु भएको हो । यो हुन सक्छ भन्ने पहिल्यै लागेको थियो । हामीले नै प्रहरीलाई खबर गरेका कारण कुनै अप्रिय घटना भएन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर