कांग्रेसको प्रदेश चुनाव : कतै अन्तर्घातको बात, कतै २ भोटले मात – Nepal Press

कांग्रेसको प्रदेश चुनाव : कतै अन्तर्घातको बात, कतै २ भोटले मात

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएका छन् । केही क्षेत्रमा जारी विवादका कारण प्रदेश २ मा भने महाधिवेशनपछि मात्रै प्रदेश कार्यसमितिको लागि निर्वाचन हुनेछ ।

६ वटा प्रदेशको परिणाम आउँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ३ वटा प्रदेशको नेतृत्व हात पारेको छ । देउवा पक्षले वागमती, कर्णाली र सुदूरपश्चिम कांग्रेसको नेतृत्वमा जित हासिल गरेको हो ।

संस्थापनइतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले २ प्रदेशको नेतृत्व जितेको छ । गण्डकी र लुम्बिनी पौडेल पक्षले निर्वाचनबाट नेतृत्व हात पारेको हो ।

कांग्रेसमा तेस्रो धार भनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले एक प्रदेशमा जित हासिल गरेको छ । सिटौला समूहले प्रदेश एकमा नेतृत्व गरेको छ । प्रदेश २ मा भने अधिवेशन हुन सकेन ।

प्रदेश १ मा देउवा-सिटौला गठबन्धनको जित

कांग्रेसको राजनीतिक प्रादुर्भाव भएको क्षेत्र हो प्रदेश १ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरासम्मको राजनीतिक विरासत जोडिएको सो प्रदेशमा यसपटक कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति शेरबहादुर देउवाले तागत बढाएका छन् । प्रदेश अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई सभापतिमा देउवा पक्षले सघाएको थियो । बदलामा प्रदेश १ का अधिकांश क्षेत्र र जिल्लाका अधिवेशनमा सिटौला पक्षको साथ देउवा समूहले पाएको थियो ।

संस्थापनइतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे प्रतिस्पर्धामा रहेका थिए । अन्तिम परिणाममा घिमिरे २ मतले पराजित भएपछि देउवा-सिटौला गठबन्धनले प्रदेश १ मा नेतृत्व हात पारेको हो । सभापतिमा निर्वाचित थापा दुई कार्यकाल झापा कांग्रेसको सभापति रहेका थिए । उनी सिटौलाका राजनीतिक विश्वासपात्र मानिन्छन् । प्रदेश कार्यसमितिको उपसभापतिमा रमेशजंग रायामाझी र टंकप्रसाद राई, महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा तथा सहमहामन्त्रीमा खड्ग फागो, विनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।

वागमती प्रदेश : सिटौलाको समर्थनले देउवालाई सफलता

वागमती प्रदेशमा संस्थापनइतर समूहले अन्यत्रभन्दा आफूलाई बलियो दाबी गरेको थियो । यद्यपि परिणाम त्यस्तो आएन । प्रकाशमान सिंह, डा. रामशरण महत, डा. अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरू निरन्तर खटिए पनि वागमती प्रदेश सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भए । उनले नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतको अन्तरले पराजित गरे । बानियाँको जितमा सिटौला पक्षको समर्थन निर्णायक रह्यो ।

पहिलो चरणमा १ सय ९७ मत ल्याएका सिटौला पक्षका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई सहयोग गरेका थिए । अघिल्लो महाधिवेशनभन्दा वागमती प्रदेशमा सुधार गरेको संस्थापन पक्षलाई सिटौलाको समर्थनले अझ बढी सफलता दिलायो । वागमती प्रदेशका पदाधिकारी र कार्यसमिति सदस्यहरूको मतपरिणाम आउन बाँकी छ ।

गण्डकी प्रदेश : पौडेलले जोगाए साख

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको गृह प्रदेश गण्डकीमा संस्थापनइतर पक्षले नै जित हासिल गरेको छ । सभापतिमा पौडेल पक्षका उम्मेदवार शुक्रराज शर्माले संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे । गण्डकीमा सिटौला पक्षको मत नगण्य रहेको थियो । यसकारण मुख्य प्रतिस्पर्धा देउवा र पौडेल पक्षकै बीचमा हुन पुग्यो । उम्मेदवार घोषणापूर्वका असहमति थाती राखेर अन्तर्घात रोक्न सकेकै कारण पौडेल पक्षले जित हासिल गरेको हो ।

जिल्ला अधिवेशनमा तनहुँसहित कास्की, लमजुङ, म्याग्दी, मनाङ र पर्वत गुमाएपछि पौडेललाई गण्डकीमा साख जोगाउनैपर्ने चुनौती थियो । शर्माको जितले पौडेल-कोइरालालाई राहत मिलेको देखिन्छ । गण्डकी प्रदेशको उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

लुम्विनी प्रदेश : खाणले जोगाउन सकेनन् देउवा

सभापति देउवाको टिमबाट महामन्त्री लड्ने तयारी गरिरहेका गृहमन्त्री बालकृष्ण खाणका लागि लुम्बिनी प्रदेशको परिणाम बिर्सनलायक रह्यो । एकातिर देउवा पक्षले प्रदेशको नेतृत्व गुमायो भने खाणलाई अन्तर्घातको आरोप समेत लाग्यो । लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जसमध्ये २ वटामा मात्रै संस्थापन पक्षले जित हासिल गरेको थियो । आफ्ना भाइ रामकृष्ण खाणलाई रुपन्देहीमा सर्वसम्मत सभापति बनउन भरत शाहको समर्थन लिएपनि खाणले शाहलाई प्रदेश सभापतिमा असहयोग गरेको चर्चा संस्थापन समूहमा छ । शाह संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनसँग पराजित भएका हुन् । पूर्वराज्यमन्त्री पुन रोल्पा कांग्रेसका पूर्व सभापति समेत हुन् । लुम्विनी प्रदेश कार्यसमितिको उपसभापतिमा भुवन श्रेष्ठ र राजु खनाल, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा खगराज पाण्डेय, विष्णु खनाल र निमा गिरी निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश : पूर्णबहादुरको प्रयत्नबाटै परिणाम

कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भए । परम्परागतरूपमै कर्णाली प्रदेशमा देउवा पक्षको पकड राम्रो भएको मानिथ्यो । यद्यपि १३ औं महाधिवेशनमा सुर्खेतमा संस्थापनइतर पक्ष हावी थियो । क्रियाशील सदस्यतामा आफ्नै टिमका नेताले अडान नलिएका कारण कर्णाली प्रदेश गुमाउनु परेको आन्तरिक समीक्षा पौडेल पक्षले गरेको छ । सुर्खेतको अधिवेशनमा संस्थापनइतर पक्ष बढारिएको थियो । सुर्खेतको जित नै संस्थापन पक्षका लागि कर्णालीको जित सावित भयो । जसका लागि महामन्त्री पूर्णबहादुर खड्काले गरेको मेहेनत खेर गएन । कर्णालीमा मोतीराज बलले उपसभापति विमलेन्द्र निधिको समूहबाट सभापतिमा उम्मेदवारी दिएपनि ७ मत मात्रै ल्याए । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा कम्तीमा ३ सय प्रतिनिधि हुन्छ । प्रदेशको जितले संस्थापन पक्षको मनोबल बढाएको छ ।

कर्णालीको उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरन्जन केसी र कृष्णकुमार रोकाया तथा सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँ कुमारी शाही निर्वाचित भए ।

सुदुरपश्चिम प्रदेश : देउवा पक्षको दबदबा

विगतदेखि नै सुदूरपश्चिम सभापति देउवाको गढका रूपमा रहेको थियो । यसपटक पनि त्यसले निरन्तरता पाएको छ । केन्द्रीय सदस्य बलबहादुर बलायरको उम्मेदवारीले संस्थापन पक्षलाई अझ बल प्रदान गरेको थियो । सभापतिसहित प्यानल नै संस्थापन पक्षले जितेको छ । बलायरलाई सहमतिमै छाड्न संस्थापनइतर पक्ष तयार भएपनि सम्मानजनक उपस्थिति भाग नपाउने भएपछि नारायणदत्त मिश्र सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सुदूरपश्चिममा फराकिलो जितले देउवाको दोहोरिने प्रयासमा बल पुगेको छ ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिको उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपालदत्त भट्ट , चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर