पुल अलपत्र पार्ने कांग्रेस नेता कान्छारामविरुद्ध स्याङ्जा कांग्रेसको उजुरी – Nepal Press

पुल अलपत्र पार्ने कांग्रेस नेता कान्छारामविरुद्ध स्याङ्जा कांग्रेसको उजुरी

काठमाडौं । ठेक्का लिएर काम नगर्ने ठेकेदार तथा कांग्रेसका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध कांग्रेसकै नेताहरुले प्रदेश सरकार गुहारेका छन् ।

स्याङ्जाका कांग्रेस जिल्ला सभापति राजु थापाको नेतृत्वमा आँधिखोला गाउँपालिका कार्यसमितिका नेताहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटेर ठेकेदारलाई कारवाही गर्न आग्रह गरेका हुन् ।

स्याङ्जाको आँधिखोला गाउँपालिकामा पुल निर्माणका लागि कान्छाराम–आशेष जेभीले ठेक्का पारेको ७ वर्ष हुँदा पनि पुल निर्माण भएको छैन । कान्छाराम कांग्रेस नेता हुन् भने आशेष निर्माण कम्पनीका ऋषिराम गौतम कास्कीमा एमाले कार्यकर्ता हुन् ।

२ वर्षमा सम्पन्न हुनुपर्ने काम ७ वर्षसम्म नभएपछि स्थानीयले समस्या भोगिरहेका छन् । कांग्रेस आँधिखोला गाउँ कार्य समितिका अध्यक्ष नरेन्द्र पौडेलले सम्बन्धित ठेकेदारलाई निर्माण सम्पन्न गर्नका लागि कडा निर्देशन दिन प्रदेश सरकारसँग माग गरिएको बताए ।

२०७३ साल २५ असोजमा काम सक्ने गरी २०७१ साल २६ असोजमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । भ्याटबाहेक दुई करोड ८९ लाख ९५ हजार रुपैयाँ लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइ बनाउने भनिएको पुलको ठेक्का कान्छाराम–आशेष जेभीले पाएको थियो ।

सेतीदोभान तरेर दक्षिण एसियाकै पहिलो होमस्टे सिरुबारी पुगिन्छ । पुल समयमै नसकिँदा बर्खामा खोलाबाट वारपार गर्न निकै कठिन हुने गरेको छ ।

याे पनि  पढ्नुहाेस् ।

दुई वर्षमा बन्ने पुल सात वर्षमा एक ढलान, फेसबुकमा ठेकेदार हराएको सूचना !

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर