यसरी मिलाइएको छ ट्राफिक र सुरक्षा व्यवस्था – Nepal Press
एमाले महाधिवेशन

यसरी मिलाइएको छ ट्राफिक र सुरक्षा व्यवस्था

चितवन । नेकपा एमालेको आजदेखि चितवनमा सुरु हुन लागेको दशौं महाधिवेशनमा विभिन्न जिल्लाबाट हजारौं नेता कार्यकर्ताहरु चितवनमा आइरहेका छन् । आज बिहान ७ बजेसम्म करिब ४० हजार कार्यकर्ताहरु चितवनमा भित्रिएको एमालेले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार बिहान ७ बजेसम्म ४ हजार बढी ठूला सवारीसाधन अधिवेशनस्थल आसपासमा आएका छन् । लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै सवारी साधन अधिवेशन स्थलमा आएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । काठमाडौं र पोखरा क्षेत्रबाट आएका सवारीसाधनलाई आपटारी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।

उनका अनुसार त्यो ठाउँमा समेत अहिले सवारी साधन भरिसकेको छ । आज बिहान ३ बजे सबैभन्दा बढी सवारी साधन अधिवेशन स्थलमा आएका छन् । ‘झण्डा राखेको मात्रै गाडी हामीले हेर्दा ४ हजार बढी गाढी आएका छन्’, प्रजिअ तामाङले भने, ‘अन्य साना सवारीको हिसाब नै गर्न सकिएको छैन ।’

अधिवेशनस्थलमा सवारी व्यवस्थापनका लागि १ सय ८५ ट्राफिक प्रहरीको व्यवस्थापन गरिएको छ भने सुरक्षाका लागि ४ सय ४१ सशस्त्र प्रहरी र ८ सय २१ जनपथ प्रहरी खटाइएको प्रजिअ तामाङले जानकारी दिए । अधिवेशनमा नेपाल प्रहरीका एआइजी सहकुलबहादुर थापाको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने तामाङले जानकारी दिए ।

अधिवेशनस्थलमा १५ सय जनशक्ति परिचालन गरिएको छ । सुरक्षाकर्मी र अन्यका लागि चितवनमा भएका ६५ सरकारी कार्यालयका सबै सवारीसाधन प्रयोग गरिएको प्रजिअ तामाङले जानकारी दिए ।

सौराहामा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली मध्यान्ह १२.३० मा अधिवेशन स्थलमा आइपुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । अधिवेशनमा प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा १ बजे आइपुग्ने क्रार्यक्रम रहेको छ ।

अधिवेशनमा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, राजपा नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, राप्रपाका कमल थापा, राजमोका चित्रबहादुर केसी कार्यक्रममा आउने आफूहरुलाई जानकारी आएको प्रजिअ तामाङले जानकारी दिए । त्यस्तै भारत, बंगलादेशबाट पनि विभिन्न राजनीतिक दलका नेताहरु चितवनमा आइसकेको सूचना आफूहरुलाई आएको तामाङले बताए ।

एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनहरुलाई प्रवेशमा कुनै अवरोध नभएको प्रजिअ तामाङले प्रष्ट पारे । उद्घाटन सत्र सकिएपछि बन्द सत्रमा सहभागी हुने प्रतिनिधिहरुलाई ५० वटा सवारी साधानमा बन्दसत्र स्थल सौराहमा लैजाने गरेर आफूहरुले तयारी गरेको प्रजिअ तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर