बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन – Nepal Press

बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिखेर गोरखामा छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनी गोरखाका सबै स्थानीय तहमा घरदैलो गरिरहेका हुन् ।

सोमबारदेखि सुरू भएको अभियान मंसिर ३ सम्म संचालन हुने बताइएको छ । भट्टराईले आफू भोट माग्न नभइ जनताको वास्तविकता बुझ्न र समस्या समाधानको पहल गर्न घर-घरमा आएको स्पष्टीकरण दिएका छन् ।

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । ‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’

भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा छन् ।

दुई-दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएसँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको भट्टराईको भनाइ छ । उनले तर राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथाव्यथा भने उस्तै रहेको बताएका छन् ।

नेता भट्टराईले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको उनले सुनाए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर