महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला – Nepal Press

महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला

जिल्ला अदालतकाे नेतृत्व पनि महिलाकै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नायव सुब्बादेखि सीडीओसम्म गरी पाँचजना महिलाले जिम्मेवारी सम्हालिरहेका छन् । आफूमातहत चारजना महिला नै भएका कारण काम गर्न सहज भएको सीडीओ रुद्रादेवी शर्मा बताउँछिन् ।

२०७८ भदौ ३० गते सहसचिव शर्माले भक्तपुर सीडीओको नियुक्ति पाएकी थिइन् । शर्मा त्यसअघि गुल्मीको सीडीओ थिइन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये महिलाले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने उनी एक्लो महिला हुन् ।

यस्तै गृह मन्त्रालयले असोज २० गतेबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि महिलालाई नै दिएको छ । यसअघि मन्त्रालयमा काजमा रहेकी उपसचिव सीता परियारलाई मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । उनी नेपालकै पहिलो दलित महिला सहायक प्रमुख जिल्ला अधिकारीसमेत हुन् ।

गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीपछिको तेस्रो वरीयतामा पनि महिलालाई नै जिम्मेवारी दिएको छ । कात्तिक एक गतेदेखि तेस्रो वरीयतामा  प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत उर्मिला खतिवडाले सम्हाल्दै आएकी छन् । उनी जिल्ला प्रशासन कार्यालयमा नागरिकता शाखा प्रमुखको जिम्मेवारीमा पनि छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ की स्थायी बासिन्दा खतिवडा यसअघि सोलुखुम्बु जिल्लाको सहायक प्रमख जिल्ला अधिकारी थिइन् ।

यस्तै कार्यालयको चौथो वरीयता अर्थात् प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा पनि महिला नै छन् । राहदानी तथा मुद्धा शाखाको प्रमुखसमेत रहेकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठ ६ वर्षदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत छन् । उनी २०७२ चैत एक गतेबाट कार्यरत छन् ।

यस्तै कार्यालयको पाँचौ वरीयतामा पनि महिला नै रहेकी छन् । प्रशासन शाखाको प्रमुख जिम्मेवारीमा रहेकी नायव सुब्बा कमलादेवी कार्की एक वर्षभन्दा पहिले अर्थात् २०७७ साउन २२ गतेदेखि यस कार्यालयमा कार्यरत छन् ।

जिल्ला प्रशासनमा मात्र हाेइन भक्तपुरमा जिल्ला अदालत पनि महिलाकाे नेतृत्वमा छ । न्यायाधीश कमला पौडेलले जिल्ला अदालतकाे नेतृत्व लिएकी छन् । उनले एकै दिन २४३ मुद्दा फैसला गरी रेकर्ड राखेकी थिइन् ।

महिला नेतृत्वसँग काम गर्न सहज भएको छः सीडीओ शर्मा

जिल्ला प्रशासन कार्यालयका प्रमुख पाँच ओहोदामै महिला भएका कारण काम गर्न सहज भएको बताउँछिन्, प्रमुख जिल्ला अधिकारी शर्मा । शर्माले भनिन्, ‘काम गर्ने र र गराउने भनेको पदले हो । महिला र पुरुषले गर्ने गराउने भन्ने होइन । तर पनि तुलनात्मक रुपमा सहज अनुभूत भएको छ ।’

ललितपुरमा प्रमुख जिल्ला अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म पाँच जनामध्ये कृष्णाकुमारी गौली मात्रै महिला छिन् । गौली प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै काठमाडौंमा तीन जना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये सुप्रभा खनाल मात्रै महिला छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर