सत्ता गठबन्धनको चुनावी तालमेल : सबै चाहन्छन्, तर कांग्रेस चाहँदैन – Nepal Press

सत्ता गठबन्धनको चुनावी तालमेल : सबै चाहन्छन्, तर कांग्रेस चाहँदैन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध संयुक्त प्रतिवाद गरेको वर्तमान सत्तारुढ गठबन्धन अझ कसिलो बन्दै गएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्री नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले सबै जस्तो प्रदेशमा सत्तारोहण गर्दैछ ।

विहीबारमात्रै सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि नेकपा एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी र गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनिसकेका छन् । संघदेखि प्रदेश सरकारसम्म ५ दलीय गठबन्धन कस्सिँदै जाँदा जिल्ला र स्थानीय तहमा भने ‘गठबन्धन’ को प्रभाव देखिदैन । निर्वाचन सन्निकट देखेका सत्तारुढ गठबन्धनमा आबद्ध स्थानीय नेता कार्यकर्ता आफ्नै पार्टीको संगठन निर्माण र विस्तारमा बढी केन्द्रित छन् ।

सत्तारुढ गठबन्धनमा रहेकामध्ये कान्छो दल नेकपा एकीकृत समाजवादी राजनीतिक ध्रुवीकरणको विषयमा प्रष्ट छ । नेकपा एमालेबाहेकका शक्तिसँग सहकार्य सम्भव रहेको प्रतिक्रिया एकीकृत समाजवादीका नेताहरूले दिँदै आएका छन् ।

गठबन्धनका घटकहरूले माओवादी, नेकपा एस र जसपाले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने औपचारिक धारणा बनाइसकेका छन् । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र भने गठबन्धनको निरन्तरताबारे पर्याप्त छलफल नै हुन सकेको छैन । यस्तो अवस्थामा सत्तारुढ गठबन्धनको तल्लो तहसम्मको फैलावट सहज देखिँदैन ।

चुनावसम्मै तालमेल माओवादी चाहना

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमै गठनबन्धन आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्नुपर्ने नीति समेटिएको छ ।

‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हनेछ’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । उनले सार्वजनिक कार्यक्रमहरूमा पनि चुनावसम्मै तालमेलको आवश्यकता औंल्याउने गरेका छन् । गठबन्धन सरकार बन्नुअघिसम्म संविधान र लोकतन्त्रका लागि भनिएको गठबन्धन अब ‘चुनावका लागि’ भन्ने स्थितिमा माओवादी पुगेको छ ।

चुनावी तालमेल भएमा प्रदेश २ को पहिलो शक्ति बन्न सक्ने आँकलन जसपाको छ । यहीकारण जसपाका नेताहरू पनि निर्वाचनसम्मै तालमेलको पक्षमा छन् । जसपा नेताहरू डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतलाई पनि चुनाव जित्न गठबन्धन आवश्यक पर्ने देखिन्छ ।

अघिल्लो संसदीय निर्वाचनमा एमालेसंग तालमेल गर्दा ५९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ३६ सिटमा जित हात पारेको थियो । आगामी निर्वाचनमा त्यो शक्ति यथावत राख्न पनि माओवादी चुनावी तालमेलको पक्षमा छ । सके कांग्रेससहित सिंगो गठबन्धनको तालमेल नभए नेकपा एस र जसपासँग भए पनि चुनावी तालमेल गर्नुपर्ने मत माओवादीमा बलियो देखिन्छ ।

प्रचण्डले विहीबार चुनावी क्षेत्र चितवनबाट एमाले बलियो भएको ठाउँमा कांग्रेसहित ५ दलको गठबन्धन हुने र अन्य क्षेत्रमा नेकपा एस, माओवादी, जसपा र राजमोसँग मोर्चा बनाएर चुनाव लड्ने बताएका छन् ।

नेकपा एसको ईच्छा : तलसम्मै गठबन्धनको संयन्त्र

सत्तारुढ गठबन्धनमा रहेकामध्ये कान्छो दल नेकपा एकीकृत समाजवादी राजनीतिक ध्रुवीकरणको विषयमा प्रष्ट छ । नेकपा एमालेबाहेकका शक्तिसँग सहकार्य सम्भव रहेको प्रतिक्रिया एकीकृत समाजवादीका नेताहरूले दिँदै आएका छन् ।

समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकले पारित गरेको अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमै सत्तारुढ गठबन्धन निर्वाचनसम्म अपरिहार्य रहेको उल्लेख छ ।

‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो’, प्रतिवेदनमा उल्लेख छ ।

विगतमा माओवादीसँग स्थानीय निर्वाचनमा तालमेल गरेको विषयमा हालसम्म देउवाको आलोचना हुने गरेको छ । यहीकारण देउवाइत्तर समूहका नेताहरूले आगामी निर्वाचनमा सबै कांग्रेसीले रुखमा भोट हाल्न पाउने विषयलाई ‘एजेण्डा’ नै बनाएका छन् ।

विहीबारमात्रै धनगढी पुगेका समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन, स्थानीय निर्वाचन र संसदीय निर्वाचनसम्मै गठबन्धनको सहकार्य हुने बताए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको समाजवादीलाई निर्वाचनमा राजनीतिक हैसियत स्थापित गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि सकेसम्म ५ दलीय गठबन्धन नभए माओवादी, जसपा र राष्ट्रिय जनमोर्चासँगको सहकार्यका पक्षमा एकीकृत समाजवादी उभिएको छ । नेपालले विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहसँग समेत संवाद बढाएका छन् ।

जसपाको दाउ : मधेशको पहिलो शक्ति बन्ने, पहाडमा सुधार्ने

जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि विभाजनको पीडामा छ । राजनीतिक एजेण्डामै कुरा नमिलेर जसपाबाट बाहिरिएका नेताहरूले महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन गरेका छन् । प्रदेश २ लाई मुख्य आधार क्षेत्र बनाएका जसपा र लोसपाबीच कडा प्रतिस्पर्धा निश्चित छ ।

चुनावी तालमेल भएमा प्रदेश २ को पहिलो शक्ति बन्न सक्ने आँकलन जसपाको छ । यहीकारण जसपाका नेताहरू पनि निर्वाचनसम्मै तालमेलको पक्षमा छन् । जसपा नेताहरू डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतलाई पनि चुनाव जित्न गठबन्धन आवश्यक पर्ने देखिन्छ ।

गठबन्धन चाहने तर तालमेल नचाहने कांग्रेस

गठबन्धनको नेतृत्व गरेर संघीय सरकार हाँकिरहेको नेपाली कांग्रेसभित्र चुनावी तालमेलबारे कुनै चर्चा भएको छैन । आफ्नै महाधिवेशनको आन्तरिक किचलोमा व्यस्त रहेको कांग्रेसभित्र गठनबन्धन सरकारको निरन्तरताका विषयमा एकमत छ । यद्यपि निर्वाचनसम्मै गठबन्धन कायम राख्ने वा चुनावी तालमेल गर्ने भन्नेमा कांग्रेसमा मत बाझिन्छ । अहिलेसम्म चुनावी तालमेलको पक्षमा कोही नेता नखुलेपनि कांग्रेसले एक्लै निर्वाचन लड्नुपर्ने तर्क धेरै नेताले गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व गरेका कारण माओवादी र समाजवादीसँग चुनावी तालमेलका लागि ‘सकारात्मक’ छन् । यद्यपि महाधिवेशन अगाडि नै त्यसबारे बोल्दा पार्टीभित्र ‘ब्याकफायर’ हुने खतरा छ ।

विगतमा माओवादीसँग स्थानीय निर्वाचनमा तालमेल गरेको विषयमा हालसम्म देउवाको आलोचना हुने गरेको छ । यहीकारण देउवाइतर समूहका नेताहरूले आगामी निर्वाचनमा सबै कांग्रेसीले रुखमा भोट हाल्न पाउने विषयलाई ‘एजेण्डा’ नै बनाएका छन् ।

चितवन पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मले कांग्रेसले वामपन्थीहरूसँग मिलेर निर्वाचन नलड्ने प्रष्ट पारिसकेका छन् । पार्टीभित्र औपचारिक छलफल नभएपनि चुनावमा गठबन्धन गर्दा अन्तर्घात हुने र पार्टीले थप क्षति व्यहोर्नुपर्ने आँकलन अधिकांश कांग्रेस नेताको छ । यहीकारण सत्ता राजनीतिको ‘प्राविधिक’ प्रभावले गठबन्धनको पक्षमा रहेपनि चुनावी तालमेलको पक्षमा कांग्रेस उभिने सम्भवना न्यून देखिन्छ ।


प्रतिक्रिया

2 thoughts on “सत्ता गठबन्धनको चुनावी तालमेल : सबै चाहन्छन्, तर कांग्रेस चाहँदैन

  1. तालमेल घातक हुनेछ समयमै नेतृत्वले चिरफार गर्दा उत्तम हुनेछ ।

  2. गठबन्धनको पछि लागे कांग्रेस हुतिहारा सावित हुनेछ।गठबन्धनको भाग खाने बाहेक कोही पनि तालमेलको पक्षमा छैनन् भन्ने कांग्रेसले बुझ्न जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर