मोतिपुर झडपमा घाइते सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं पठाइयो – Nepal Press

मोतिपुर झडपमा घाइते सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं पठाइयो

रुपन्देही । आइतबार मोतिपुर ‌औद्योगिक क्षेत्रमा भएको झडपमा परी घाइते ४ जना सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौँ लगिएको हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले झडपमा गम्भीर घाइते नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको छ । मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच भएको झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता मनोज केसीले बताए । प्रहरी प्रमुख केसीका अनुसार आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना घाइते भएका थिए ।

घाइतेमध्ये २ जनालाई काठमाडौँ पठाइएको र ७ जना भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको उनले बताए । घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए । यस्तै सशस्त्र प्रहरीका प्रवक्ता निराकरनाथ शुक्लाले आइतबारको झडपमा २३ जना सशस्त्र प्रहरी घाइते भएको बताए । घाइतेमध्ये काठमाडौं रिफर गरिएका २ जना बाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएको शुक्लाले बताए ।

अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताए । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर