दशवर्षपछि निमा रुम्बाको कमब्याक, रिलिज भयो आरएन्डबी गीत ‘क्रेजी लभर’ (भिडिओ) – Nepal Press

दशवर्षपछि निमा रुम्बाको कमब्याक, रिलिज भयो आरएन्डबी गीत ‘क्रेजी लभर’ (भिडिओ)

काठमाडौं। पपगायक निम्बा रुम्बा दशवर्षपछि नयाँ गीतमार्फत कमब्याक गरेका छन् । उनको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)को भिडिओ आज सार्वजनिक भएको छ ।

गीतमा रुम्बाकै शब्द, स्वर र संगीत छ । आफ्नो अलग्गै गायन शैलीको कारण युवा श्रोता र दर्शकको ध्यान खिच्न सक्ने रुम्बाले यसमा पनि त्यही कौशलता पस्किएका छन् । गीतमा आरएन्डबी र र्‍याप जनरको मिश्रण गरिएको छ ।

अमेरिकामा खिचिएको यो गीतको भिडिओमा निमा स्वयम समेत फिचर्ड छन् । उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अन्शिका शर्मा र मिस्टर युएसए उत्सव सिंह समेत फिचर्ड छन् । कथा वाचन शैलीमा निर्माण गरिएको भिडिओमा कुनै मिसन प्राप्तीका लागि खटिएको जासूसको न्यारेटिभ प्रस्तूत गरिएको छ । केही अमेरिकी कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

भिडिओलाई आशिष श्रेष्ठले निर्देशन गरेका छन् । पटकथा र सम्पादन समेत उनकै छ । युवा फिल्मस र आहा प्रोडक्सनले भिडिओ तयार पारेका हुन् । सहनिर्माता उज्वल सिंह रहेका छन् । सार्वजनिक भएको यो गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । निमा दिवंगत गायक सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । तर, सुनीलको निधनपछि गीत आउन ढिलाइ भएको थियो ।

गायक रुम्बाका मिस क्याटवाक, हुरी बतास, आऊ आऊ न, प्रीति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता हिट गीत पस्किएका छन् । निमाले २०५० सालमा आरएन्डबी र र्‍याप शैलीको गीत पागल प्रेमी र मायालु तिमी भनिदेऊ ल्याएका थिए जुन अहिलेसम्म पनि लोकप्रिय छ ।

गायक रुम्बाले भिडिओ हलिउड स्तरमा तयार भई रिलीज भएकोमा खुसी व्यक्त गरे । ‘यो गीतले मेरो केही समयको ग्यापलाई पूर्ण गर्नेमा आशावादी छु’ उनले भने । भिडिओ निर्देशक श्रेष्ठले गायनमा रुम्बाको विरासतलाई गीतले कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर