‘फर्की फर्की’ र ‘पुजार सार्की’ को सुखद ओपनिङ, पहिलो दिन दुवै चलचित्र हाउसफुल – Nepal Press

‘फर्की फर्की’ र ‘पुजार सार्की’ को सुखद ओपनिङ, पहिलो दिन दुवै चलचित्र हाउसफुल

काठमाडौं । बिहीबारदेखि देशव्यापी रुपमा लागेको चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । बुद्धजयन्तीको अवसर पारेर आजदेखि रिलिज भएका यी दुवै चलचित्रहरुको काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि अकुपेन्सी सुखद् छ ।

प्रदर्शन अगावै देखि दर्शकमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने कौतुहल थियो । आज पहिलो दिनको अकुपेन्सीबाट दुवै चलचित्रका मेकरहरु आनन्दित बनेका छन् । ‘फर्की फर्की’ फेन्टासी र ‘पुजार सार्की’ सोसल–ड्रामामा आधारित चलचित्र भएकाले एक चलचित्रले अकोै चलचित्रको व्यापार धेरै प्रभावित तुल्याउने सम्भावना देखिँदैन । दर्शकले आफ्नो रुचिअनुसार चलचित्र छनोट गर्न वा दुवै चलचित्र पालैपालो हेर्न सक्छन् ।

आज सार्वजनिक विदा भएकाले पनि अकुपन्सी उच्च हुनु स्वभाविक थियो । अब दर्शकबाट आएको प्रतिक्रियाले चलचित्रको व्यवसायीक भविष्य निर्धारण गर्नेछ । दुवै चलचित्रका कलाकारहरु आज हल भिजिटको दौडधुपमा व्यस्त छन् ।

सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पुजार सार्की’ले काठमाडौंका मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलमा समेत राम्रो अकुपेन्सी प्राप्त गरेको देखिएको छ । चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा २५ शो पाएको छ । त्यस्तै, बिग मुभिजमा २ शो, इनी सिनेमाजमा ६ शो, एफ–क्युबमा २ शो, वान सिनेमाजमा ६ शो र थप अरु हलमा पनि सन्तोषजनक शो पाएको छ । अनलाइन बुकिंङ हेर्ने हो भने मध्यान्हदेखि चलचित्रले राम्रो पिकअप लिएको देखिन्छ ।

चलचित्रको आज रिलिजकै दिन पहिलो शोमा प्रिमियर गरिएको थियो । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया बटुलेको छ। २०४६ सालको जनआन्दोलनको सेटिङमा तयार भएको यो चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । १३८ मिनेट रनटाइम रहेको चलचित्रमा आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, परीक्षा लिम्बू र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

अनमोल केसी स्टारर ‘फर्की फर्की’ ले पनि काठमाडौंका मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलहरुमा राम्रो अकुपेन्सी पाएको छ। चलचित्रको बेलुकासम्मकै अकुपेन्सी सुखद छ । चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा २७ शो, बिग मुभिजमा ५ शो, इनी सिनेमाजमा ६ शो , एफ–क्युबमा ३ शो, वान सिनेमाजमा ५ शो, रन्जना सिनेप्लेक्समा ३ शो र थप अरु हलमा पनि राम्रो शो पाएको छ ।

चलचित्रको हिजो राजधानीमा भव्य प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रको कथावस्तु र अनमोलको अभिनयको चौतर्फी तारिफ भएको थियो । १४६ मिनेट रनटाइम रहेको चलचित्रमा अनमोल केसी र जसिता गुरुङ शीर्ष भूमिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *