रिलिज अगावै दर्शकलाई देखाइयो ‘पुजार सार्की’ (भिडिओ) – Nepal Press

रिलिज अगावै दर्शकलाई देखाइयो ‘पुजार सार्की’ (भिडिओ)

काठमाडौं। सामान्यतया, चलचित्र रिलिजपूर्व फिल्मकर्मी र मिडियालाई बोलाएर प्रिमियर गर्ने गरिन्छ र रिलिजको दिनबाट दर्शकलाई चलचित्र देखाईन्छ। तर चलचित्र ‘पुजार सार्की’ले भने रिलिज अगावै दर्शकलाई चलचित्र देखाएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा गरिएको एक सर्वेक्षणबाट छनोट भएका १०० जना दर्शकलाई निर्माण टिमले रिलिज अगावै चलचित्र देखाएको हो।

‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका र पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका दर्शक निर्माण टिमको छनोटमा परेका थिए। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको ‘दर्शक विशेष शो’ मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। दर्शकसँगै ‘पुजार सार्की’का कलाकारहरूले पनि चलचित्र हेरेका थिए।

रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य प्रष्ट्याउँदै निर्देशक दिनेश राउत भन्छन,‘हामीले यस्तो गर्नुको मुल उद्देश्य भनेको चलचित्रप्रति दर्शकको वास्तविक दृष्टिकोण बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु र चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु हो।’

चलचित्र हेरेर निस्किएका दशैकले चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहको को बेजोड र फरक भूमिका र निर्देशकिय क्षमताको तारिफ गरेका थिए।

यहीँ बिहीबारबाट रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको राउतको भनाइ छ। प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर