विधान महाविधेशनमा पेस गरिने प्रतिवेदनमाथि एमालेमा छलफल शुरु, भोलि पनि स्थायी कमिटी बैठक – Nepal Press

विधान महाविधेशनमा पेस गरिने प्रतिवेदनमाथि एमालेमा छलफल शुरु, भोलि पनि स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल शुरू भएको छ ।

आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।

भोलि १ बजे फेरि बैठक बस्ने र बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी भट्टराईले दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उनको भनाइ छ।

राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन गरिएको बताइएको छ । त्यस्तै नवौं महाधिवेशनदेखि आजसम्म आइपुग्दा संगठनात्मकरूपमा प्राप्त गरेका उपलब्धी, कमिकमजोरी र प्राप्त शिक्षाबारे सांगठानिक प्रतिवेदनमा उल्लेख गरिएको भट्टराइले बताए ।

विधान संशोधनसम्बन्धी प्रतिवदेनमा भने पार्टीको विधान संशोधनका विषय समेटिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *