फतिमा सुमारको ‘काठमाडौं मिसन’ कति फलदायी ? – Nepal Press

फतिमा सुमारको ‘काठमाडौं मिसन’ कति फलदायी ?

काठमाडौं । नेपालमा एमसीसी सम्झौता कार्यान्वयनको निर्णायक पहल गर्न नेपाल आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले आफ्नो भेटवार्ताहरु सिध्याएकी छन् । चार दिनसम्म काठमाडौंमा दौडधुप गरेकी उनले नेपालका राजनीतिक दलहरुबाट धेरै आशावादी सन्देश भने पाइनन् ।

राजनीतिक भेटवार्ताहरु सकिएपछि आज दिउँसो पत्रकारहरुसँग सुमारको अन्तरक्रिया राखिएको थियो । उक्त अन्तरक्रियामा बोल्दै सुमारले नेपालको संसदले एमसीसी सम्झौता चाँडै पारित गर्ने आशा व्यक्त गरिन् । यद्यपि, त्यो उनको औपचारिक अभिव्यक्ति मात्र थियो । उनले एमसीसीमाथि राजनीतिकरण नगर्न आग्रह गरिन् । त्यो चाहिँ उनको भेटघाटको अन्तर्य थियो ।

चार दिनको बसाइमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवादेखि लोसपाका अध्यक्ष महन्त ठाकुरसम्मलाई भेटेकी थिइन् । प्रधानमन्त्री देउवाबाहेक अरु कसैबाट पनि उनले स्पष्ट जवाफ पाइनन् । एमसीसी फिर्ता लैजाउ भनेर कसैले भनेनन् तर पारित गर्छौं पनि भनेनन् ।

अर्थपूर्णरुपमा सुमारको भेटघाटको सुरुवात एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको थियो । ओलीसँगको भेटघाटले उनलाई खासै उत्साहित तुल्याएन । सरकारमा हुँदासम्म एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका ओलीले प्रतिपक्षमा झरेसँगै आफ्नो अडान फेरेका छन् । अहिले उनी एमसीसी पारित गर्न सरकारलाई सघाउने मुडमा छैनन् ।

सुमारसँगको भेटवार्तामा ओलीले प्रधानमन्त्री छँदा आफूले एमसीसी पारित गर्ने कोशिष गरेको बताए । तर, अब आफ्नो पार्टी एमसीसीको पक्षमा नउभिन सक्ने संकेत गरे । एमसीसीबारे सरकारको धारणा आएपछि मात्रै आफ्नो पार्टीले निर्णय लिने उनको भनाइ रह्यो । तर, बदलिएको राजनीतिक परिवेशका बीच एमालेले एमसीसीका पक्षमा निर्णय लिने सम्भावना कमजोर देखिएको छ ।

सत्तारुढ गठवन्धनका दुई नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटले सुमारलाई थप निराश तुल्याए । प्रचण्डले नेपालका राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरेर मात्रै एमसीसी कार्यान्वयन हुन सक्ने अमूर्त जवाफ दिए । नेकपा एसका अध्यक्ष नेपालले पनि एमसीसीबारे सत्तारुढ गठवन्धनले साझा दृष्टिकोण बनाउने भन्दै टारे ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटले भने सुमारलाई थोरै सान्त्वना मिलेको छ । उनले एमसीसी कार्यान्वयन गर्ने वचन दिएका छन् । तर, देउवाको वचनमा सुमार आश्वस्त हुन सक्दिनन्, किनकी नेपालमा अहिलेको राजनीतिक माहोल एमसीसीको पक्षमा छैन । संसदबाट सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा कांग्रेस मात्रै देखिएको छ । संसदमा कांग्रेसको एकल बहुमत नरहेको हुँदा उसले मात्रै चाहेर एमसीसी पारित हुँदैन । गठवन्धनका दलहरु नै यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । जबकि अमेरिकाले एकपटक हस्ताक्षर भइसकेको सम्झौतामा हुनै हेरफेर र संसोधन हुन नसक्ने बताइसकेको छ ।

नेपालले थप ढिलाइ गरे अमेरिकाले एकतर्फीरुपमा सम्झौता भंग भएको घोषणा गर्न सक्ने आँकलनहरु भइरहेका छन् । तर, आज पत्रकारहरुसँग कुरा गर्ने क्रममा सुमारले अमेरिकाले अब कतिञ्जेल प्रतिक्षा गर्छ भन्ने खुलाइनन् । उनले चाँडो पारित गर्नुपर्नेमा मात्रै जोड दिइन् । यद्यपि, नेताहरुसँगको भेटघाटमा भने उनले एमसीसी कार्यान्वयन गर्न दुई वर्ष ढिलाइ भइसकेको भन्दै अब धेरै पर्खिन नसक्ने बताएकी थिइन् ।

आफ्नो ‘काठमाडौं मिसन’ सिध्याएर सुमार भोली स्वदेश फर्किँदैछिन् । नेपालभित्र एमसीसीलाई लिएर कस्तो माहोल छ भन्ने नियाल्न पाइन् । तर, जे उद्देश्य लिएर आएकी थिइन्, त्यसमा उनलाई अपेक्षित सफलता भने हात लागेन । अमेरिकामा गएर उनले कस्तो व्रिफिङ गर्नेछिन्, सम्भवतः एमसीसीको भविष्य त्यसमै निर्भर गर्ने छ ।

एमसीसी सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर, नेपालको संसदबाट पारित गर्न ढिलाइ हुँदा परियोजनाको भविष्य अन्योलमा परिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर