प्रचण्डको आरोप: चितवनको विकासमा केपी ओली बाधक बने (भिडियो) – Nepal Press

प्रचण्डको आरोप: चितवनको विकासमा केपी ओली बाधक बने (भिडियो)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास गर्न ओली नेतृत्वको सरकारले निषेध गरेको आरोप लगाएका छन् ।

भरतपुर महानगरले लायन्सचोकमा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा निर्माण गर्न लागेको भरतपुर मेट्रो प्लाजको शिलन्यास गर्दै उनले ओली नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।

‘राजनीतिक स्थायीत्व र विकासको निम्ति गठबन्धन र एकताको पहल लिएँ, तर आफैंले बनाएको प्रधानमन्त्री चितवन र मप्रति यतिधेरै नकरात्मक र पूवाग्रही बन्नुभयो’, उनले भने, ‘निर्वाचनपछिको अवधि मीठो रहेन ।’

उनले क्रान्तिकारी ढंगले विकास आयोजनाहरु अगाडि बढाउन ओली सरकारले साथ नदिएको आरोप लगाए । ‘केन्द्रबाट धेरै मिहेनत गरेर यति भयो’, उनले आक्रोश पोख्दै भने, ‘सिटीहलको शिलन्यास गर्ने बेला भएको लुछाचुडीको अनुभूति गर्नुभएकै छ, इन्टरनेशनल क्रिकेट रंगशाला निर्माणका गतिविधि देख्नुभएकै छ ।’ भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा बजेट विनियोजन नगरेकोमा समेत असन्तुष्टी जनाए ।

‘सबैभन्दा उपयुक्त छ भनेर सबैले मानेकै हो, तर एक अर्ब रुपैयाँ राखेर स्मार्ट सिटीको अवधारणा लान दिइएन’, उनले भने, ‘औद्योगिक क्षेत्र निर्माणको कामलाई समेत कंक्रिट रुपमा अगाडि बढाउन दिइएन ।’

उनले चितवनको विकासमा विगतको सरकारले धेरै कञ्जुस्याई गरेको जीकिर गरे । ‘नारायणीको डिपिआर बनेको छ, मलाई विश्वास छ, अहिलेको नयाँ सरकाले कञ्जुस्याई गर्ने छैन’, उनले भने, ‘डिपिआर अनुसारको पैसा राखेर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’

उनले ठूला विकास आयोजनाहरु सुरु गर्न खोज्दा आफूमाथि प्रहार र निषेध गरेको आरोप लगाए । अबको सरकारले चितवनमा सहज रुपमा विकासमा सघाउने अपेक्षा गरे । उनले चितवन–हेटौडा–नवलपुर दाउन्नेलाई समेटेर एउटै विकास प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । बृहत्तर परियोजनामार्फत विकास गर्न पहल गर्ने बताए ।

३० वर्षसम्म नीजि क्षेत्रलाई मेट्रो प्लाजा

प्रचण्डले शिलन्यास गरेको भरतपुर मेट्रो प्लाजा ३० वर्षसम्म नीजी क्षेत्रले सञ्चालन गर्न पाउनेछ । पीपीपी मोडेलमा ३ वर्षभित्र निर्माण गरेपछि सो प्लाजा निजी क्षेत्रले नै उपभोग गरेर महानगरलाई राजश्व बुझाउने छ ।

महानगरको साढे ११ कट्टठा जग्गामा निजी क्षेत्रले करिब २ अर्ब लगानी गरेर प्लाजा बनाउनेछन् । आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिलाई निर्माण तथा सञ्चालनको जिम्मा दिइएको हो ।

महानगर र आर्यबीच यही साउन २४ गते सम्झौता भएको हो ।

आर्य बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए । उनका अनुसार चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्नेछन् ।

उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजश्व पाउने महानगरका बरिष्ठ इञ्जिनियर भरतकुमार आचार्यले बताए । उनका अनुसार पहिलो वर्ष ३० लाख, दोसैो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ ।

उनले राजश्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए । २०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए । मेयर रेनु दाहालले मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने बताइन् ।

 


प्रतिक्रिया

One thought on “प्रचण्डको आरोप: चितवनको विकासमा केपी ओली बाधक बने (भिडियो)

Leave a Reply to रबिकुमार गिरि Cancel reply

Your email address will not be published. Required fields are marked *