धितोपत्रसम्बन्धी कारोबारका लागि विकास बैंकहरूले मागे अनुमति – Nepal Press

धितोपत्रसम्बन्धी कारोबारका लागि विकास बैंकहरूले मागे अनुमति

काठमाडौं । विकास बैंकहरूले पनि आफ्नो सहायक कम्पनीमार्फत धितोपत्रसम्बन्धी कारोबार गर्न पाउनु पर्ने माग गरेका छन् ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालले कारोबारसम्बन्धी आशयसहितको पत्र नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’, भन्ने व्यवस्था छ ।

सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा ‘प्रचलित कानूनबमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछन’, भन्ने प्रावधान राखिएको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरूको औषत चुक्ता पुँजी ३ अर्व ४० करोड रूपैंयाँ रहेको छ । त्यस्तैगरी विकास बैंकहरूले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरूलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गर्दै आएको छ ।

यी बैंकहरूले २०७८ असार मसान्त सम्ममा ४ खर्ब ४५ अर्व निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर