सीमावर्ती क्षेत्रका व्यवसायीको माग: नेपाली बजार बचाउन सीमामा कडाइ गरियोस् – Nepal Press

सीमावर्ती क्षेत्रका व्यवसायीको माग: नेपाली बजार बचाउन सीमामा कडाइ गरियोस्

रुपन्देही । नेपालका सीमावर्ती बजारलाई भारतीय बजारले अत्यधिक प्रभाव पारेको भन्दै व्यवसायीहरुले सिमानाका कडाइ गर्नेगरी नीतिगत व्यवस्था मिलाउन माग गरेका छन् ।

कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सीमानाका बन्द हुँदा स्थानीय उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको ठहर व्यवसायीको छ । सिमानाका कडाइ भए नेपाली बजारमा व्यापार विस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन तथा राजश्व असुली बढ्ने भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रुपन्देही आएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई भेटेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको टोलीले सीमा क्षेत्रका व्यवसायीको माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

करिब ६० किलोमिटर भारतसँगको खुला सीमा रहेको रुपन्देहीमा धेरै सामान भारतबाट अवैध ढंगले भित्रने गरेको छ । राजश्व तिर्न नपरेपछि यसरी आउने समानको कम मूल्य पर्ने र सरकारलाई राजश्व तिरेर ल्याउने व्यापारीको व्यवसाय चौपट हुने गरेको उद्योगी व्यवसायीको गुनासो छ ।

‘सीमा क्षेत्रबाट अवैध तरिकाले आउने समान रोक्न र यसरी आउने समान कमसल पनि भएकाले गुणस्तर पनि हुँदैन, अनि उपभोक्ताले मूल्यमा दाँजेर हेर्ने गर्छन्’, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल कसजूले भने ।

महानिर्देशक पौडेलले विभागबाट हुने कुराहरु विभागले मिलाउने र दुई तीनवटा कार्यालयबाट हुने कुरालाई एकद्वार प्रणालीबाट हुनेगरी समस्या समाधान गर्ने तयारी भएको जानकारी दिए ।

अध्यक्ष कसजूसहित निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यसमित सदस्यहरु बसन्तप्रसाद ढकाल, कृष्ण श्रेष्ठ, दीपक चापागाई, संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीसहितको टोलीले महानिर्देशकलाई भेटेर यो विषयम छलफल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर