देउवालाई बधाई दिन चीन र भारतको कन्जुस्याइँ, मोदीले किन तोडे परम्परा ? – Nepal Press

देउवालाई बधाई दिन चीन र भारतको कन्जुस्याइँ, मोदीले किन तोडे परम्परा ?

विज्ञहरु भन्छन् : एमसीसी र पूर्वप्रधानमन्त्रीहरुको वक्तव्य केन्द्रमा

काठमाडौं । २०७४ सालमा तत्कालीन एमाले-माओवादी गठवन्धनले चुनाव जित्नासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त नहुँदै फोन गरेर बधाइ दिए । ओली प्रधानमन्त्री बन्नासाथ मोदीको दोस्रो ‘बधाइ कल’ आयो ।

अहिले ओली सरकार ढलेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन दिन भएको छ । तर, मोदीले फोन कल मात्र होइन, बधाइ सन्देशधरी पठाएका छैनन् । बरु भारतीय रक्षामन्त्री राजनाथ सिंहले देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् । भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर दिएको बधाइमा नै देउवाले चित्त बुझाउनु परेको छ ।

स्मरणीय के छ भने भारतले शेरबहादुर देउवालाई आफू निकट ठान्छ भने ओली भारतविरोधी मानिन्छन् । ओलीलाई बधाई दिन गरेको हतारो र देउवाप्रति देखाएको उदासिनतालाई लिएर भारतीय कूटनीतिक शैलीको विभिन्न अर्थ खोज्न थालिएको छ ।

भारतीय मिडियामा देउवाको सत्तारोहणको विषयले राम्रै स्थान पाइरहेको छ । मूलधारका भारतीय अखबारले बालुवाटारमा देउवाको प्रवेशपछि नेपाल-भारतबीचको सम्वन्धका विभिन्न आयामबारे चर्चा गरिरहेका छन् । टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, द हिन्दू सहितका अखबारले सम्पादकीय नै लेखेर देउवालाई भारतका भरपर्दा मित्रको रुपमा प्रशंसा गरेका छन् भने भारतले नेपाली राजनीतिमा तटस्थ हुनुपर्ने सुझाव पनि दिएका छन् । देउवाप्रति भारतीय सञ्चारमाध्यमले देखाएको हार्दिकता सरकारले भने अहिलेसम्म लुकाइरहेको छ ।

भारतीय विदेशमन्त्रीमा एस जयशंकर नियुक्त हुँदा कांग्रेस सभापतिका रुपमा देउवाले बधाइ सन्देश नै जारी गरेका थिए । तर, उनै जयशंकरले देउवा प्रधानमन्त्री बन्दा बधाइको औपचारिकता निभाएका छैनन् । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले बुधबार बेलुका देउवालाई टेलिफोन गरेर बधाई दिए र नेपाली कांग्रेस तथा भाजपाबीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङ र देउवा ।

चीनको पूरै मौनता

नेपालको उत्तरी छिमेकी चीन देउवाको सत्तारोहणमा झन् धेरै उदासिन देखिएको छ । उसले कुनै पनि तहबाट अहिलेसम्म देउवालाई बधाइ दिएको छैन । चिनियाँ राजदूत होउ यान्छीको ट्वीटर अपडेट नभएको तीन दिन भयो र यति नै दिन भयो देउवाको सत्तारोहण पनि । यसअघि अ‍ोली प्रधानमन्त्री बन्दा राजदूत यान्छीले हतारहतार भेटेर नै बधाइ दिएकी थिइन् । अहिले उनी मौन छिन् । यसले निकै ठूलो अर्थ राख्ने कुटनीतिका जानकारहरु बताउँछन् ।

चीनका लागि नेपालका पूर्व राजदूत लिलामणी पौड्याल प्रधानमन्त्रीलाई बधाइ आउने नआउने कुरा उनको व्यक्तिगत सम्वन्ध र कूटनीतिक च्यानलको सक्रियतामा पनि भर पर्ने बताउँछन् । चीनले बधाइ दिन ढिलाइ गरेको सन्दर्भमा उनले भने, ‘हरेक देशले आफ्नो अनुकूलता र विषयवस्तुलाई हेर्ने गम्भिरताको आधारमा प्रतिक्रिया जनाउने हो । अहिलेसम्म चीनबाट बधाई नआउनुमा पनि यस्तै कारण हुनसक्छ ।’

पौड्याल थप्छन्, ‘चीन सुरुदेखि नै नेपालमा आफ्नो प्रभुत्व रहिरहोस् भन्ने चाहन्थ्यो । तर, देउवा प्रधानमन्त्री भएर आएपछि अमेरिकालाई उसको एमसीसी अघि बढाउन सजिलो हुने भयो । यी दुई मुलुकबीचको प्रतिस्पर्धा अहिले कुटनीतिमा पोखिएको हो ।’ राष्ट्रसंघका लागि पूर्वनेपाली राजदूत जयराज आचार्य जुनसुकै सरकार आएपनि मिलेर काम गर्ने चिनियाँ परराष्ट्र नीति भएकाले बधाई ढिलो आउनुलाई अन्यथा लिन नमिल्ने बताउँछन् ।

‘चीनले बीपी, महेन्द्र, ज्ञानेन्द्र, ओली र प्रचण्डसँग पनि मिलेरै काम गरेको हो’ आचार्य भन्छन्, ‘जुनसुकै सरकार आए पनि काम गर्ने चिनियाँ नीति हो । बधाई आउन त आउला, तर सोचबिचार गरेर आउला ।’

पछिल्लो समय नेपालसहित विश्व राजनीतिमा सक्रियता देखाउन प्रदर्शन गरिरहेको चीनले तीन दिनसम्म बधाई नदिनुलाई देउवा सरकारसँग उसको असन्तुष्टिको रुपमा बुझ्न सकिने कतिपय कूटनीतिज्ञको ठम्याइ छ । देउवाले सपथ लिने वित्तिकै बधाई दिन हतार गर्ने अमेरिका र अहिलेसम्म बधाई नदिएको चिनियाँको यो टाइम एन्ड स्पेसलाई गम्भीरतासाथ लिनुपर्ने उनीहरु बताउँछन् ।

अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री देउवाबीच बिहीबार भेटवार्ता भएको छ । तस्विर : परराष्ट्र मन्त्रालय

अमेरिकी ‘उत्साह’ को अर्थ

कूटनीतिमा टाइम, स्पेस र प्रोटोकलको महत्व हुन्छ । सोहीअनुसार नै एक देशले अर्को देशको समकक्षीलाई आफ्ना च्यानलबाट बधाई दिने चलन हुन्छ । तर, देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि अहिलेसम्म उनका कुनै पनि अन्तर्राष्ट्रिय समकक्षीले बधाई दिएका छैनन् ।

देउवालाई बधाई दिनेमा पहिलो मुलुक थियो अमेरिका । देउवाले राष्ट्रपतिबाट सपथ लिएको केही घण्टामै राजदूत र्‍यान्डी बेरीले ट्वीट गर्दै बधाई तथा शुभकामना दिए र देउवा सरकारसँग विकास एवं महामारी नियन्त्रणमा काम गर्न इच्छुक रहेको बताए ।

बिहीबार बिहान देउवासँग भेट गर्दै राजदूत बेरीले औपचारिकमा बधाई दिएका थिए । विश्लेषकहरु यसको केन्द्रमा अमेरिकाले प्रस्ताव गरेको ५५ अर्ब रुपैयाँको पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लार्ई जोडेर हेर्छन् । स्वभाविकरुपमा अमेरिका नेपालको अस्थिर राजनीतिले गिजोलिएको एमसीसीलाई संसदबाट पारित गर्ने र लागू गर्ने अनुकूल सरकारको पर्खाइमा थियो र देउवा विगतदेखि नै पश्चिमामैत्री रहँदै आएका छन् ।

अर्कोतर्फ चीनको महत्वाकाङ्क्षी परियोजना बेल्ट रोड एन्ड इनिसिएटिभ (बीआरआई)मा नेपालले हस्ताक्षर त गरेको छ तर उसले सोचेअनुसार यो प्रोजेक्ट अघि बढ्न सकेको छैन । शक्तिराष्ट्रको यो एमसीसी र बीआरआईको रस्साकस्सीको नतिजा यसपटक देउवाको बधाईमा देखिएको छ ।

पूर्वप्रधानमन्त्रीहरुको त्यो वक्तव्य

२०७४ सालमा चौंथोपटक प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै देउवालाई मोदीले फोन गरेर बधाई दिएका थिए । सामाजिक संजालमार्फत पनि मोदीले नेपाल-भारतको सम्बन्धको व्याख्या गर्दै बधाई दिएका थिए । तर, यसपटक भारतीय राजदूत विनयमोहन क्वात्राले देउवा निवास बुढानिलकण्ठ पुगेर फूलको गुच्छा दिए, बधाई भने अनि फोटो सुट गरे ।

प्रश्न बधाई आयो वा आएन भन्ने होइन । दर्शनमा एउटा चर्चित भनाई छ : सन्देश नपठाउनू पनि एउटा सन्देश हो ।’ यो भनाई यतिबेला ठ्याक्कै चीन र भारतको हकमा लागू भएको छ । बधाई सन्देश नपठाएर चीन र भारतले कस्तो सन्देश प्रवाह गर्न खोजे त ?

यसपछाडि एउटा लामो पृष्ठभूमि निर्माण भएको जानकारहरु बताउँछन् । यसको लागि जेठ २९ गते बैदेशिक हस्तक्षेप भएको बताउँदै पाँचजना पूर्वप्रधानमन्त्रीले जारी गरेको वक्तव्यतर्फ हेर्नुपर्ने हुन्छ । उक्त वक्तव्यमा भारततिर लक्षित गर्दै पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्नेतर्फ सजग गराइएको कुरा उल्लेख थियो ।

‘बधाई नआउनूमा पाँचजना पूर्वप्रधानन्यायधीशको विज्ञप्तिप्रतिको असन्तुष्टि पनि हुनसक्छ’ राष्ट्रसंघका लागि पूर्वनेपाली राजदूत जयराज आचार्य भन्छन्, ‘सरकारले पूर्णरुपमा आकार पनि लिइसकेको छैन । नेपालको आन्तरिक स्थिती पनि चुनौतिपूर्ण छ । बधाई आउन त आउला तर, नेपालको विषम परिस्थिती भएकाले ढिलाइ भएको हुनसक्छ ।’ नेपालको हितमा कूटनीतिक सम्बन्ध व्यवस्थापन गर्न केही वर्षयता काम हुन नसकेको बताउँदै उनले यसको बाछिटा देउवाको बधाईमा देखिएको बताउँछन् ।

देउवालाई भारतबाट बधाई नआउनूमा पाँचजना पूर्वप्रधानमन्त्रीप्रति बदला भाव हुनसक्ने ठम्याइ पूर्वराजदूत तथा मुख्यसचिव पौड्यालको छ । ‘बदला भाव र असन्तुष्टि पनि हुनसक्छ’ पौड्यालले भने, ‘किनभने, अहिले तिनै पूर्वप्रधानमन्त्रीहरुको समर्थनमा बनेको सरकार छ ।’ भारतका लागि पूर्वनेपाली राजदूत लोकराज बराल पहिले–पहिले भारतले उत्साहित भएर फोन गर्ने गरेपनि पछिल्लो समय सामान्य व्यवहार प्रदर्शन गर्ने गरेको बताउँछन् ।

‘भारतले बधाई नदिनूमा शंका गर्ने ठाउँ छैन । ओलीलाई चीनसँग नजिक भएको भन्ने गथ्र्यो भारत, अब त देउवालाई भन्ने ठाउँ पनि छैन’ बराल भन्छन्, ‘यसलाई म स्वभाविकरुपमा लिन्छु ।’


प्रतिक्रिया

2 thoughts on “देउवालाई बधाई दिन चीन र भारतको कन्जुस्याइँ, मोदीले किन तोडे परम्परा ?

  1. janadesh bat bhayko bhaye dinthey hola paramadesh bat bhayako le dhila bhayako hola,,,,,,,,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर