दाङ कांग्रेस: सभापतिका आकांक्षी धेरै, घिमिरे र डाँगीबीच प्रतिस्पर्धाकाे सम्भावना बढी – Nepal Press

दाङ कांग्रेस: सभापतिका आकांक्षी धेरै, घिमिरे र डाँगीबीच प्रतिस्पर्धाकाे सम्भावना बढी

रुपन्देही । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा दाङको जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरु उम्मेदवार छनोट गर्न लागि परेका छन् । नेता खुमबहादुर खड्काको निधनपछि फेरिएको समीकरणमा जिल्ला नेतृत्वका लागि अघिल्लो अधिवेशनमा थोरै मतले सभापतिमा पराजित कमलकिशोर घिमिरे यसपालिकाका पनि बलियो प्रतिस्पर्धी हुन् ।

खुमबहादुर खड्काविरोधीको रुपमा देखिएका उनी अहिले देउवा समूहमै गनिन्छन् । तर उनी आफैं भने समूह खुलाउन चाहँदैनन् । शशांक कोइरालासँग नजिक रहेका केन्द्रीय सदस्य दीपक गिरीसँग पनि घिमिरे नजिक छन् ।

उनका दाजु कृष्णकिशोर घिमिरेको केन्द्रमा प्रभाव भएको, यसअघिको बलियो प्रतिस्पर्धी भएको र युवा पिंढीको प्रतिनिधित्व हुने भएकाले र दुवै समूहलाई मिलाउन खोज्ने भएकाले उनलाई सबैले बलियो उम्मेदार मानेका हुन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रदेशसभामा निर्वाचन लडेका थिए ।

देउवा समूहबाट भूपबहादुर डाँगी पनि आकांक्षी हुन् । दुईपटक क्षेत्रीय सभापति भइसकेका डाँगी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग पराजित भएका हुन् ।

त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट अहिलेका सचिव शंकरप्रसाद डाँगी र नेता खगराज पाण्डेले आकांक्षा व्यक्त गरेका छन् ।

यसैगरी जिल्ला नेतृत्वको लागि जानकीलाल बस्नेत, बुद्धिराम भण्डारी, भरत न्यौपाने पनि आकांक्षा राखेर नेता कार्यकर्तासँग पुगेका छन् ।

दाङबाट केन्द्रीय समितिमा नेता दीपक गिरी दोहोरिने निश्चित छ । उनलाई केहीले पदाधिकारीमा पठाउनपर्ने सुझाव पनि दिइरहेका छन् ।

त्यसैगरी कृष्णकिशोर घिमिरे, पार्वती जिसी चौधरी, गेहेन्द्र गिरी, अनिता देवकोटा, कृतिबहादुर खड्का र शिला गौतम केन्द्रीय सदस्यमा अगाडि बढ्ने तयारी गरेका छन् । जिल्लाबाट लुम्बिनी प्रदेशको अध्यक्षमा नेता प्रदीप शर्माले आकांक्षा व्यक्त गरेका छन् ।

कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर