चीनद्वारा नेपालसहित ३० मुलुकसँग छलफल, बीआरआई सदस्य मुलुकहरुलाई खोप र विकास सहायता दिने – Nepal Press

चीनद्वारा नेपालसहित ३० मुलुकसँग छलफल, बीआरआई सदस्य मुलुकहरुलाई खोप र विकास सहायता दिने

काठमाडौं । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र भाइरस महामारीबारे नेपालसहित ३० मुलुकका प्रतिनिधिसँग बुधबार बेलुका उच्चस्तरीय भर्चुअल संवाद गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अध्यक्षता गरेको उक्त बैठकमा चीनको पूर्वाधार परियोजना बीआरआईमा हस्ताक्षर गरेका दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, ओसियाना, मध्य एसिया, पश्चिम एसिया र ल्याटिन अमेरिकासहित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागि थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले भर्चुअल सत्रलाई सम्बोधन गर्दै कोरोना महामारी नियन्त्रण गर्न खोप सहायतामा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

अल्पविकसित र गरिब मुलुकहरुलाई महामारीले असर पारेको बताउँदै अर्थमन्त्री पौडेलले वैश्विक साझेदारी, एकता र सहकार्यमा जोड दिएका थिए । साझेदारीता प्रवद्र्धन गर्दै महामारीलाई परास्त गरेर दिगो विकासतर्फ अघि बढ्न सकिने उद्देश्यमा छलफल आयोजना गरिएको जनाइएको छ ।

उक्त बैठकले दुईवटा पहलकद्मी कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ । पहिलो- कोभिड–१९ खोपको समान वितरणमा बेल्ट एन्ड रोड साझेदारिता र दोस्रोमा हरियाली विकास छन् ।

अमेरिका, बेलायत, जर्मनी, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा लगायतका ठूला सात विकसित मुलुकले गतसाता बेलायतमा आयोजना गरेको जी–सेभेन बैठकपछि चीनले त्यसलाई काउन्टर दिन गरि बीआरआइमा हस्ताक्षर गर्ने मुलुकहरुसँग छलफल गरेको हो ।

जी-सेभेन मुलुकहरुले आगामी वर्षसम्म १ अर्ब डोज खोप विपन्न मुलुकहरुलाई आपूर्ति गर्ने घोषणा गरेका छन् । चीनले पनि विकास र महामारी नियन्त्रणमा खोप आपूर्तिलाई प्राथमिकता दिँदै छलफलको आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर