राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने पक्राउ – Nepal Press

राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगि रक्सी खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीनजना युवालाई पक्राउ गरेको छ ।

गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।

भिडियोमा होटल सन्चालन पुनले राउटे युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ । सामाजिक सन्जालमा भिडियो भाइरल भएसँगै चौतर्फी दवाव बढेपटि प्रहरीले तीनजनालाई शनिबार पक्राउ गरेको हो ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा पारेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत कुरा हो,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ । उनीहरुलाई जवर्जस्ती फोटो, भिडियो खिच्न लगाउने र अनावश्यक सनसनीपूर्ण हेडलाइन राखेर पैसा कमाउने ध्याउन्नमा युट्युबरहरु छन् ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा सरेका छन् ।

सरकारको ध्यान सुरक्षा भन्दा भत्तामा मात्र केन्द्रित

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार महिनाअघि कर्णालीका डीआईजी बसन्तकुमार पन्तलाई राउटे बस्तीमा बाहिरका नागरिकलाई प्रवेश गर्न नदिन र प्रहरी समेत परिचालन गर्न निर्देशन दिएका थिए । तर त्यसको कार्यान्वयन हुन नसकेकै परिणाम यो भिडियो प्रकरण हो । पछिल्लो समयमा टिकटक बनाउनेदेखि ‘रमाईलो’ गर्ने बहानामा अन्य समुदायका युवाहरु राउटे बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ ।

राउटे समूदायका चेलीहरु विस्तारै अन्य समूदायका नागरिकसँग पनि घुलमिल हुन थालेको देखिन्छ । उनीहरु अन्य समूदायका युवाहरुसँग होटलमा गएर मदिरासमेत सेवन गर्न थालेका छन् । ‘पहिले राउटे समूदायमा रहेका नारीहरुले कसैलाई अनुहार नदेखाउने, कसैसँग नबोल्ने गर्थे तर अहिले त्यो परिस्थिति फेरिएको छ,’ वीरेन्द्रनगर वडा नं. ६ का रमेश कार्की भन्छन् ।

राउटेलाई दुःख सुख पर्दा सहयोग गर्नेदेखि सहयोग जुटाउनेसम्मको काम गर्दै आइरहेका राउटे अभियान्ता नगेन्द्र उपाध्यय सरकारकै लापरवाहीका कारण दुव्र्यवहारका घटना भइरहेको बताए । ‘सरकारले सबै ध्यान भत्तामै केन्द्रित गरेको पाइयो । उनीहरुको स्वास्थ्य तथा सुरक्षा मा ध्यान नदिएका कारण समस्या आएको हो,’ उनी भन्छन्, ‘कम्तीमा मुख्यमन्त्रीको निर्देशनपछि प्रहरीले सुरक्षा दिन सकेको भए यस्तो अवस्था आउँदैनथ्यो ।’

उनले सरकारले राउटे उत्थान प्रतिष्ठान बनाउने भने पनि त्यो कागजमा नै सीमित रहेको बताए । ‘मुख्यमन्त्री शाही र सरकारका अन्य मन्त्रीहरुले प्रतिष्ठान गठन गर्ने, उनीहरुको सुरक्षामा ध्यान दिने, उनीहरुलाई राम्रो पाल दिने, स्वास्थ्यकर्मी खटाउने जस्ता आश्वासन बाँडेका छन्,’ उपाध्याय भन्छन्, ‘तर पूरा भएका छैनन् । भत्ता बढाएर मात्रै राउटे समूदायको संरक्षण गर्न सकिँदैन ।’ नेपालमा राउटेकाे जनसंख्या १ सय ३८  छ ।

उनले भत्ता भन्दा पनि उनीहरुको अधिकार, बाह्य व्यक्ति प्रवेश निषेध, राहत वितरण एकद्धार नीतिबाट गर्नुपर्ने जस्ता सुझाव सरकारलाई दिइएको भएपनि नटेरेको बताए ।

राउटे समूदायले आगामी वर्षबाट प्रतिव्यक्ति छ हजार पाउने छन् । यो वर्ष उनीहरुले संघीय सरकारबाट तीन हजार र प्रदेश बाट दुइ हजार गरि पाँच हजार पाइरहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर