भुकम्प विनाशको ‘इपिसेन्टर’- पुनर्निर्माण सकियो, रिसोर्टजस्तै सरकारी कार्यालय (तस्बिरहरु) – Nepal Press
भुकम्प विनाशको ‘इपिसेन्टर’- पुनर्निर्माण सकियो, रिसोर्टजस्तै सरकारी कार्यालय (तस्बिरहरु)
दिनेश थापा २०७८ जेठ १९ गते १४:५७
२०७८ जेठ १९ गते १४:५७

काठमाडौं । २०७२ साल वैशाख १२ को भुकम्पको ‘इपिसेन्टर’गोरखाको बारपाक भएपनि भौतिक र मानवीय क्षतिको ‘इपिसेन्टर’ भने सिन्धुपाल्चोक थियो । भुकम्पले सिन्धुपाल्चोकको सम्पुर्ण सरकारी कार्यालय,९० हजार बढी व्यक्तिको घर मात्रै होइन सम्पुर्ण शैक्षिक संस्थाहरु समेत ध्वस्त भएका थिए ।

तर भुकम्पको ६ वर्ष र पुनर्निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदै गर्दा भुकम्पमा क्षति भएका सिन्धुपाल्चोकका सम्पुर्ण सरकारी कार्यालयहरु पुनर्निर्माण सम्पन्न भएका छन् । कार्यालय पुनर्निर्माण सम्पन्न भएका मात्रै होइन अहिलेका कार्यालय हेर्दा कुनै सुविधा सम्पन्न रिसोर्ट भन्दा आर्कषक रुपमा निर्माण सम्पन्न भएका छन् ।

भुकम्पले क्षतिग्रस्त भएका १६ र एउटा नविनिर्माण सहित १७ सरकारी कार्यालयहरु निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भएको छ । १६ सरकारी कार्यालय यस अघि नै निर्माण सम्पन्न भएर हस्तान्तरण भएपनि जिल्ला हुलाक कार्यालय भने बुधबार औपचारीक रुपमा हस्तान्तरण भएको छ ।

अन्य सरकारी कार्यालयहरु निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि ६ महिनादेखि एक वर्षसम्म म्याद थपिएपनि हुलाक कार्यालय भने तोकिएको समयमा नै निर्माण सम्पन्न भएको आयोजना प्रमुख निरौलाले जानकारी दिए ।

निर्माण कम्पनी शान्तिदेवी कन्स्ट्रक्सनका प्रमुख प्रभातमान श्रेष्ठले भने आफुहरुलाई दिएको समय भित्रै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको बताए । श्रेष्ठले भुकम्प पछि पुनर्निर्माण सम्पन्न भएको सिन्धुपाल्चोकको अन्तिम सरकारी कार्यालय हुलाक निर्माण सम्पन्न भएपछि चाँबी आयोजना प्रमुख निरौलालाई हस्तान्तरण गरेका थिए ।

हुलाक कार्यालय सँगै २०७२ बैशाखको भुकम्पमा ध्वस्त भएका सबै सरकारी कार्यालयको पुननिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) का आयोजना प्रमुख सन्तोष निरौलाले भने ।

रिसोर्ट जस्ता सरकारी कार्यालय

जिल्लाभरको सरकारी कार्यालयहरुको आर्थिक कारोबारको अडडा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पुग्दा कार्यालयको भवन यती भव्य,सुन्दर र चिटिक्क छ की भवन भित्र प्रवेश गर्दे गर्दा नेपालकै सरकारी कार्यालय नै हो ? भन्ने लाग्न सक्छ । सेतो र रातो रंगले बाहिर जति सुन्दर छ,भित्र प्रवेश गर्दा त्यो भन्दा पनि आर्कषक र सुन्दर छ ।

बाहिर शिशाको झ्यालले भवनलाई थप आर्कषक देखाएको छ । जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना भएपछि पहिलो पटक यति सुन्दर र भव्य भवन पाएको छ । प्रत्येक कोठामा आवश्यक कुर्सी,टेबुल,कार्पेटीङ गरेर कोठाहरु सजाइएको छ । कार्यालय प्रमुखको आवसदेखि सबै सुविधा भवन भित्र रहेको छ । भवनमा अपाङ्ग मैत्री छ,चाइनिज दुबो राखेर भवनलाई थप आर्कषक बनाईको छ ।

ठुला र एउटै रंगमा सजिएका भवनहरु हेर्दा लाग्छ यी भवन जस्तै भवन भित्र बस्ने कर्मचारीहरुको भावना पनि स्वच्छ र सुन्दर भैदिए सेवाग्राहीहरुले कति सजिलो हुने थियो होला ? सरकारी कार्यालयका प्रमुखहरु बस्ने क्वाटरहरु मन्त्री क्वाटर भन्दा बढी आर्कषक र सुविधा सम्पन्न छन्  ।

संघीय सरकारको अर्थ मन्त्रालयको आधिकारीक कार्यालय कोलेनीकामा कार्यरत सबै कर्मचारीहरुलाई छुट्टै कोठाको व्यवस्था गरिएको छ । कार्यालयका प्रमुख भन्दै थिए–‘कर्मचारी भन्दा कोठा नै धेरै छ ।’

यस अघिका प्रमुख जिल्ला अधिकारीहरुको क्वाटर एउटा सामान्य जस्ताको टहरो मात्रै भएपनि अहिलेको सिडीओ कार्यालयको क्वाटर मन्त्रीहरुको क्वाटर भन्दा आर्कषक मात्रै होइन सुविधा सम्पन्न पनि रहेको छ । भवनको सजावट मात्रै होइन बाहिर पनि त्यतिकै सुन्दर बनाइएको छ । बिरुवाहरु,दुबो लगाएर बाहिरी परिसर आर्कषक बनाइएको छ ।

सीडीओ आवस गृहमा आवश्यक फ्रिज,सोफा लगायतका सामग्रीहरु समेत पुननिर्माणको स्टीमेटमा नै थियो । जिल्ला आयोजना कार्यन्वयन इकाईका आयोजना प्रमुख सन्तोष निरौला भन्दै थिए–‘हामीले डिजाई गर्दा नै भित्र आवश्यक पर्नै सबै सामग्रीहरु ठेकेदार बाटै राख्ने गरी इस्टमेट गरेका थियौ ।’

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन मार्फत ठेक्का प्रक्रिया मार्फत निर्माण सुरु गरिएका भवनहरु निर्माण सम्पन्न भएर सबै सम्बन्धीत कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

देश संघीय संरचनामा गएपछि जिल्लामा खारेज भएका कार्यालयका पनि सुन्दर भवनहरु निर्माण भएका छन् । पुन निर्माण प्राधिकरणले सीडीओ क्वाटर,कोलेनीका भवन,वन, कृषि विकास कार्यालय,पशु सेवा कार्यालय,जिल्ला न्यायधिश क्वाटर, भुसंरक्षण,सिञ्चाई,निर्वाचन,रष्ट्रिय अनुसन्धान,शहरी विकास तथा भवन, जिल्ला घरेलु,मालपोत क्वाटर,न्याययिक प्रहरी ब्यारेक र हुलाक सहित १७ सरकारी कार्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् ।

१७ सरकारी कार्यालय भवन निर्माण सम्पन्न हुदाँ करिब ६५ करोड खर्च भएको जिल्ला आयोजना कार्यन्वयन इकाई(भवन)का आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

निजी आवस पुननिर्माण अन्तिम चरणमा,९४ प्रतिशतले लिए अन्तिम किस्ता

सरकारी कार्यालय मात्रै होइन भुकम्पपछि पुननिर्माण सुरु भएको ५ वर्षमा सिन्धुपाल्चोकमा ८४ हजार बढी घर निर्माण सम्पन्न भएको छ । २०७२ बैशाख १२ गते भुकम्प गएको ठिक एक वर्षपछि २०७३ बैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुननिर्माणको औपचारीक सुरुवात गरेका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुदाँ सुरु भएको निजी आवास पुननिर्माण प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालमा सिन्धुपाल्चोकमा लगभग अन्तिम चरणमा पुगेको छ ।

९१ हजार १२ कुल लाभग्राही रहेकोमा हालसम्म ८९ हजार ४३८ ले पहिलो किस्ता लिएका छन् भने ८७ हजार ९०८ ले दोस्रो र ८३ हजार ९५२ ले अन्तिम किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख सन्तोष निरौलाले बताए ।

दोस्रो किस्ता लिनेको प्रतिशत ९८ दशमलब २९ रहेको छ भने अन्तिम किस्ता लिनेको प्रतिशत ९३ दशमलब ८७ रहेको छ । कोरोनाको महामरी नभएको भए जेठ भित्रै निजी आवस पुनर्निर्माण सकिने थियो आयोजना प्रमुख निरौलाले भने असारको दोस्रो हप्ता सम्म निजी आवस पुनर्निर्माण सम्पन्न हुन्छ ।

जिल्लाका १२ स्थानीय तह मध्ये पुनर्निर्माणमा पहिलो नम्बरमा बाह्रविसे नगरपालिका रहेको छ भने दोस्रोमा सुनकोशी गाउँपालिका रहेको छ । जुगल तेस्रो नम्बरमा रहेको छ भने भोटेकोशी अन्तिम नम्बरमा रहेको छ ।