उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक – Nepal Press

उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।

सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात उल्लेख छ । बुधबार विज्ञप्ति जारी गर्दै यादवले त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ। यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’

यसले पर्यावरणमा नकरात्मक असर पार्ने र तराई-मधेशमा बसोबास गर्ने जनताले त्यसको मूल्य चुकाउनु पर्ने यादवको दावी छ । ‘व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ । यसले चुरे विनाश गर्ने, तराई-मधेशलाई मरुभूमिकरण गर्ने निश्चित नै छ,’ यादवले भनेका छन्।

भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको नीति रद्ध गर्नुपर्ने उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर