राष्ट्रपतिको खोप कूटनीतिलाई ‘राजनीतिकरण’ नगरौं : परराष्ट्रमन्त्री ज्ञवाली – Nepal Press

राष्ट्रपतिको खोप कूटनीतिलाई ‘राजनीतिकरण’ नगरौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

एमाले स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता समेत रहेका नेता ज्ञवालीले भने, ‘नागरिकलाई खोप ल्याएर जीवन रक्षा गर्नु न्यूनतम मानवीय कुरा हो । यसको कुरामा क्षुद्र ढंगले टिप्पणी गर्नु उचित होइन ।’

केही राजनीतिक दलका नेताहरुले खोप आपूर्तिमा भैरहेको राष्ट्रपतिको सक्रियताप्रति आपत्ति जनाएका थिए । यसतर्फ लक्षित गर्दै ज्ञवालीले भने, ‘यस्ता मामिलालाई राजनीतिकरण नगर्न र टिप्पणी नगर्न म आग्रह गर्छु ।’

सर्वोच्च पदाधिकारी, संविधानको रक्षक र अभिभावकको हैसियतले राष्ट्रपतिले आफ्नो हैसियतलाई प्रयोग गरेको बताउँदै ज्ञवालीले न्यूनतम प्रोटोकल बुझ्न आग्रह गरे ।

परराष्ट्र मन्त्रालयले पनि आफ्नो ढंगले काम गरिरहेको जानकारी उनले दिए । जीवन रक्षाको लागि राष्ट्रपतिले काम गरेकाले यसलाई सकारात्मक रुपमा लिन ज्ञवालीले आग्रह गरे ।

कांग्रेस लगायतका विपक्षी दलले राष्ट्रपतिको खोप सक्रियतालाई लिएर विरोध गरिरहेका छन् । राष्ट्रपतिले खोप आपूर्तिको पहल गर्न चीन, भारत, अमेरिका, रुस समकक्षीहरु र र बेलायती महारानीलाई पत्राचार तथा टेलिफोन संवाद गरेकी थिइन् ।

राष्ट्रपतिको संवाद लगत्तै चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर