सुदूरपश्चिममा माधव पक्षकै मत बाझियो, एमाले संसदीय दलको बैठक बस्न सकेन – Nepal Press

सुदूरपश्चिममा माधव पक्षकै मत बाझियो, एमाले संसदीय दलको बैठक बस्न सकेन

धनगढी । माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि आज बिहान बस्ने भनिएको एमाले संसदीय दलको बैठक बस्न सकेको छैन ।

मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलको लागि बोलाएका थिए ।

८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेरै बाहिरिए । उनीहरूले तयारी गरेर २५ जना नै उपस्थित हुने गरी दलको बैठक बस्न आग्रह गरेका थिए ।

संसदीय दलका नेता शाहले मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदलाई बैठकमा बोलाएका थिए।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

दलको नेतालाई ओली पक्षका सांसदहरूलाई पनि बोलाउन दबाब आएपछि अहिले सम्म दलको बैठक बस्न नसकेको हो ।

‘हामीलाई बिहान ८ बजे दलको कार्यालयमा उपस्थित हुन भनेर दलको नेताले बेलाउनु भयो । उहाँ नै आउनु भएन’ एक सांसदले भने, ‘अहिले सम्म फेरि बस्ने टुंगो छैन । ’

उनका अनुसार मंगलबार बिहान ८ बजे पछि दलको कार्यालयमा १० जना सांसद उपस्थित भएका थिए । दलको नेता र प्रमुख सचेतक नै नआएपछि उनीहरुले अनौपचारिक छलफल गरेर फर्किएका थिए ।

मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदहरूलाई बोलाएको भन्दै केही सांसदहरूले दलको नेताको समेत आलोचना गरे । यस्तो बेला एउटा पक्षलाई छुटाएर अघि बढ्न नसकिने सन्देश दलको नेतालाई सांसदहरूले पठाएका थिए ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन् ।

‘केन्द्रमा जस्तो विवाद भएपनि प्रदेशमा मिलेर जानु पर्छ भनेका छौँ’ एक सांसदले भने, ‘सरकार परिवर्तन गरेर बरु यहि गठबन्धनलाई अघि बढाउन सकिने कुरा हुन सक्छ । ’

अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

एउटै पक्षभित्र पनि मतभेद देखिएपछि ८ बजे स्थगित भएको बैठक अझै आह्वान गरिएको छैन । प्रमुख सचेतक तारालामा तामासँगको सल्लाहपछि साढे १२ बजेपछि बैठक आह्वान हुनसक्ने बताइएको थियो । तर, त्यो समयमा पनि बैठक बस्न सकेन ।

तामाङ पनि नेपाल पक्षका हुन् । तर, पछिल्लो समय उनी तटस्थ बसेको बताउँछन् । २४ घण्टाभित्रै सरकारबाट फिर्ता हुन आएको निर्देशन र समर्थन फिर्ताका बिषयमा छलफल गर्नुपर्ने हुँदा दलको बैठक मंगलबार नै राख्न दबाब छ ।

दलको नेता अहिले प्रमुख सचेतक तारा लामा तामाङसँग प्रमुख सचेतक कै कार्यकक्षमा छन् । तामाङको कार्यकक्षमा एमालेका नेपाल पक्षीय सांसद कुलवीर चौधरी, अमर साउद, प्रकाश रावल, दीर्घ सोडारीले दलको नेतालाई कुरिरहेका थिए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने केहीबेर संवाद गरेर अहिले निस्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर