बुद्ध जयन्ती अघि सुनसान लुम्बिनी – Nepal Press

बुद्ध जयन्ती अघि सुनसान लुम्बिनी

रुपन्देही । बुद्धजयन्ती नजिक आएपछि चहलपहल हुने गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो वर्षको बुद्ध जयन्ती नजिक आउँदा पनि सुनसान छ ।

गतवर्षको २५६४ औं बुद्धजयन्ती पनि कोरोना महामारीका कारण सुनसान बनेको लुम्बिनीमा यसवर्षको २५६५ औं बुद्धजयन्ती पनि पूरै प्रभावित हुने भएकाे  छ । यसवर्ष जेठ १२ गते बुद्धजयन्ती परेको छ ।

रुपन्देही र आसपासका क्षेत्रका लागि बुद्धजयन्ती ठूलो पर्वका रुपमा आउथ्यो । बौद्धधर्मावलम्बीहरुले मात्र होइन रुपन्देही, कपिलवस्तु नवलपरासीमा रहेका बुद्धसँग जोडिएका विभिन्न स्थानहरुमा सबैले ठूलो मृलाका रुपमा मनाउने गरेका थिए ।

स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि यी क्षेमा विशेष कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथे । विगतका वर्षमा विभिन्न देशका राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना महामारी कारण यस बर्ष औपचारिक कार्यक्रम राखिएका छैनन् ।

बन्दाबन्दीको कारण गतवर्ष पनि पूजापाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस वर्ष पनि पूजापाठ, दीप प्रज्वलन गरेर सामन्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिएका छन् ।

‘अन्तराष्ट्रिय सम्मेलन गरेर बुद्धजयन्ती मनाइने गरिन्थ्यो बिगतका वर्षहरुमा तर गतसालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस वर्ष न हामीले राम्रोसंँग मनाउने तयारी थियौ, तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाका बीच सामान्यरुपमा मनाउनुपर्ने बाध्यता आइलागेको छ,’ शाक्यले भने ।

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यले बताए ।

‘कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गरेर यसवर्षको बुद्धयन्ती मनाउने तयारी छ’ शाक्यले भने ।

बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । बैशाख पूर्णिमामा त्रिसंयोग परेको देखिन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पूर्णिमाकै दिन भएको थियो । उनले बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पूर्णिमाकै दिन थियो । बुद्ध महापरिनिर्वाण भएको दिन पनि बैशाख पूर्णिमाकै दिन भएकाले बैशाक पूर्णिमालाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।

बैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई नेपाललगायत बौद्ध राष्टहरु भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस, कोरिया, जापन, चीनलगायतका देशहरुमा विशेष सम्मानका साथ मनाउने गरिन्छ ।

नेपालमा २००८ सालदेखि बुद्धजयन्तीमा सार्वजनिक बिदा दिएर मनाउन थालिएको हो ।
कोरोना कहरको पहिलो संक्रमणमा केही भएपछि मंसिर महिनामा खुलेको लुम्बिनी क्षेत्र अहिले पूर्णरुपमा बन्द रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *