संसद सचिवालयमा कोरोना खोपको दुरुपयोग, सांसद र कर्मचारीका आफन्त आउँदा लगाउनुपर्नेले नै पाएनन् (भिडियो) – Nepal Press

संसद सचिवालयमा कोरोना खोपको दुरुपयोग, सांसद र कर्मचारीका आफन्त आउँदा लगाउनुपर्नेले नै पाएनन् (भिडियो)

काठमाडौं । संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै आइतबार सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।

संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसंग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन् ।

संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार संसद सचिवालयसंग सम्बन्धीत हरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसंग खोप माग गरेको थियो ।

सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिडसिल खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए ।

इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए। संचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए। ‘यो खोप कार्यक्रम सिभिल अस्पतालमा खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखिएको हो,’ पाण्डेले भने, ‘पहिलो डोज लगाएको तर दोश्रो डोज लगाउन बाँकी रहेका धेरै मानुभावहरु, संघीय संसदका कर्मचारी भन्दा पनि सिंहदरबारका अन्य कर्मचारी साथीहरु र उहाँहरुका परिवार लगायत विविध क्षेत्रका माननीय सदस्यहरुको परिवार र उहाँहरुसंग जोडिएकाहरुले पनि दोश्रो डोजको सुनिश्चितता नभएका कारण पहिलो दिन खोप लगाउदा पुग्ने स्थिति रहेन ।’

खोप अभाव भएपछि पालो कुरेर बसेका पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायत कर्मचारी खोप लगाउन बाँकी छन्। संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ ।

जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन्। अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन् । पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर