आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदै, यात्रु र उडानको अत्यधिक चाप – Nepal Press

आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदै, यात्रु र उडानको अत्यधिक चाप

काठमाडौं । सरकारको निणर्य बमोजिम आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदैछ । टीआईए बन्द गर्ने भनिएसँगै यात्रु र उडान संख्या अत्यधिक बढेको छ । यो दुई दिन बुधबार र बिहीबार मात्र १ सय ७ वटा फ्लाइट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) बाट भएका छन् ।

यो संख्या कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीका अनुसार आज राती १२ बजेसम्ममा २५ वटा विमान टीआईएमा आगमन हुने छन् भने २६ वटा विमान नेपालबाट अन्य मुलुकका लागि प्रस्थान गरेका छन् । जसमा नेपाल एयरलाइन्सको एउटा विमान जापान गएको छ र त्यो भोली नेपाल फर्किने छ ।

बिहीबारको भन्दा चार वटा बढी उडान बुधबार भएका छन् । बुधबार ५६ वटा फ्लाइट भएकामा २८ वटा जहाज अन्य मुलुक प्रस्थान गरेका थिए भने २८ ओटा नै नेपाल भित्रिएका थिए । जसमा २ हजार १९१ यात्रु अन्तराष्ट्रिय उडानबाट नेपाल आएका थिए भने ३ हजार ७०३ जना नेपालबाट बाहिर गएका थिए । यसमा १३ वटा चाटर्ड उडान थिए भने अन्य उडान सेड्यूल फ्लाइट भएको प्रवक्त क्षेत्रीले जानकारी दिएका छन् ।

देशमा कोरोना भाइरसका संक्रमित संख्या बढेसँगै एक हप्ता अघि सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक लगाउने निणर्य गरेको थियो । सरकारले अर्को निणर्य नगरुन्जेलीसम्मका उडान बन्द गर्ने भएपछि केही दिनदेखि अन्तराष्ट्रिय फ्लाइट र विभिन्न मुलुक यात्रा गर्ने यात्रुको संख्या बढेको छ। निषेधाज्ञापछि गत आईतबार टीआईएको अन्तराष्ट्रिय टर्मिनलबाट १८ वटा फ्लाइट भएका थिए भने सोमबार २० मंगलबार २० वटा फ्लाइट भएका थिए ।

त्यसभन्दा अघि नेपालबाट अन्तराष्ट्रिय उडान दैनिक १० देखि १५ वटामात्र हुनेगरेको प्रवक्ता क्षेत्रीको भनाइ छ । आज टीआईएमा ६ हजारभन्दा बढी यात्रुले आगमन र प्रस्थान गरेका छन् । जसको पूर्ण तालिका भने आउन बाँकी रहेको प्रवक्ता क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार निषेधाज्ञापछि २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गरिरहेको थिए । तर, बुधबार र बिहीबार भने यात्रुको संख्यामा अन्य बेलाको भन्दा करीब दोब्बर संख्याले नै बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर