यस्तो छ सरकारले वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक र भत्ता – Nepal Press

यस्तो छ सरकारले वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक र भत्ता

काठमाडौं । चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि १ हजार ५ सय ५० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय मजदूर दिवस अर्थात मे १ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत श्रमिकको पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेका थिए ।

साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियाे)

त्यसको ठिक २ दिन पछि सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पुर्याएको सूचना राजपत्रमा प्रकाशित भएको छ ।

चिया बगान बाहेकका श्रमिकका लागि १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिपक काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

मन्त्रालयले श्रमिकको न्यूनतम श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गर्न नेपाल सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी तोकिए बमोजिमको एक स्थायी न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो ।

समितिले श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गर्दा नेपालभरका लागि वा कुनै खास क्षेत्र वा प्रकृतिको प्रतिष्ठान वा उद्योगका वा रोजगारीको क्षेत्रको लागि श्रमिको न्यूनतम पारिश्रमिक सिफारिस गर्न सक्ने व्यवस्था छ ।

तर न्यूनतमत पारिश्रमिक निर्धारण समितिमा ३ सदस्य रहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले भने न्यूनतम पारिश्रमिक निर्धारण गरिएको जानकारी राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र थाहा पाएको छ ।

समन्वय केन्द्रका अध्यक्ष समेत रहेका माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा रोजगारदातालाई सरप्राइज दिनेगरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको आरोप लगाए ।

सिम्खडाले भने–समितिको बैठकमा त झन कम्तीमा पनि २ हजार देखि २२ सयसम्म बढाउनेगरी छलफल भइरहेको थियो । रोजगारदाता पनि यसको सहमति नजिक आइसकेका थिए । तर एकाएका प्रधानमन्त्रीले ऐन कानून नै मिचेर न्यूनतम पारिश्रमिक निर्धारण गरिदिनुभयो । यो निर्णय श्रमिकको पक्षमा छैन् ।’

एक वर्षअघि न्यूनतम पारिश्रमिक बढाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत घोषणा गरेकै २ दिन पछि बढेको हुनाले प्रधानमन्त्रीको ठाडो निर्देशनमा यो निर्णय भएको ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाल प्रेससँग बताए ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता काफ्लेले यसको बचाउ गर्दै भने ‘त्यस्तो केहि पनि भएको होइन, निर्धारण समितिको बेला बेला बैठक बसिरहेको थियो । समितिको निष्कर्ष अनुसार नै अहिले न्यूनतम पारिश्रमिक निर्धारण भएको हो ।’

नयाँ लागू भएको पारिश्रमिक अनुसार श्रमिकको मासिक न्यूनतम ९ हजार ३ सय ८५ छ भने त्यसमा महंगी भत्ता ५ हजार ६ सय १५ गरेर १५ हजार पुर्याएको छ । दैनिक आधारभूत पारिश्रमिक ३ सय ६१ तोकिएको छ भने त्यसमा महंगी भत्ता २ सय १६ जोडेर जम्मा ५ सय ७७ पुर्याएको छ । यस्तै प्रति घण्टाको आधारतभूत पारिश्रमिक ४८ तोकिएको छ भने महंगी भत्ता २९ गरेर जम्मा ७७ पुर्याएको छ ।

यस अघि कति थियो न्यूनतम पारिश्रमिक ?

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको पालामा २०७५ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक ९ हजार ७ सयबाट एकैपटक ३९ प्रतिशत अर्थात ३ हजार ७ सय ५० बढाएर १३ हजार ४ सय ५० पुर्याएको थियो ।

२०७५ साउन १ गते बाट लागू भएको न्यूनतम पारिश्रमिकको तुलनामा २०७८ साउन १ गतेदेखि लागु हुने न्यूनतम पारिश्रमिकमा मासिक आधारतभूत पारिश्रमिक ९ सय ३० रुपैयाँ बढेको छ भने महंगी भत्ता ६ सय २० रुपैयाँ बढेको छ । दुवैलाई जोडेर हेर्दा जम्मा १ हजार ५ सय ५० रुपैयाँ बढेको छ ।

यस्तै दैनिक आधारभूत पारिश्रमिक ३६ रुपैयाँ बढ्दा महंगी भत्ता २४ रुपैयाँ बढेर दैनिक न्यूनतम पारिश्रमिक ६० रुपैयाँ बढेको छ । प्रतिघण्टा आधारतभूत पारिश्रमिक ५ रुपैयाँ बढ्दा महंगी भत्ता ३ रुपैयाँ बढेर जम्मा प्रति घण्टा न्यूनतम पारिश्रमिक ८ रुपैयाँ बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर