विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख – Nepal Press

विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

दिल्ली । भारतका पाँच राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै ती राज्यको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

पश्चिम बंगाल, तामिलनाडु, केरला, पाण्डुचेरी र आसममा सम्पन्न चुनावको मत गन्न सुरु भएको हो । भारतीय संचारमाध्यमले आ-आफ्नै ढंगले एक्जिट-पोल सार्वजनिक गरिरहेका छन् ।

केरलाको १४० सिटमध्ये ९२ सिटसहित कम्युनिष्ट दल एलडीएफले अग्रता हासिल गरिरहेको छ । कांग्रेसले नेतृत्व गरेको युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडीएफ) ४५ सिटसहित दोस्रो स्थानमा पछ्याइरहेको छ ।

बीजेपी ३ सिटसहित पुछारमा छ केरला राज्यमा । केरलामा चार दशकदेखि कांग्रेसले नेतृत्व गरेको युडीएफ र कम्युनिष्टले नेतृत्व गरेको एलडीएफबीच रस्साकस्सी हुनेगथ्र्यो तर यसपटक कम्युनिष्ट पार्टीले झन्डै दोब्बर मतान्तरले अग्रता हासिल गरिरहेको छ ।

परम्परागत कम्युनिष्ट प्रभाव रहेको केरलाका १४० सिटमा एलडीएफले बहुमत ल्याउने अपेक्षा गरिएको छ । २०१६ मा एक सिट जितेको बीजेपीले यसपटक भने केही सिट बढाउने अपेक्षा छ ।

यसपटक केरलामा मुख्यमन्त्री पिनाराय विजयन, ११ जना उनका मन्त्रिपरिषद् सदस्यहरु, प्रतिपक्षी दलका नेता रमेश चेन्नीथाला, बरिष्ठ कांग्रेस नेता ओमन च्यान्डीसहित कूल ९५७ जना उम्मेदवार थिए ।

पश्चिम बंगालको २९२ सिटमध्ये तृणमूल कंग्रेस १८१ सिटसहित अगाडि छ । बीजेपीले ८६ सिटसहित दोस्रो स्थानमा छ । कंग्रेस ३ सिटसहित पुछारमा छ । यसपटक सबैभन्दा बढी फाइदा बीजेपीलाई भएको छ जसले सिटसंख्या दोब्बर संख्यामा वृद्धि गरेको छ ।

तामिलनाडुमा डीएमके १३८ र एडीएमके ९५ सिटसहित अगाडि बढेका छन् । केन्द्र शासित राज्य पाण्डुचेरीमा बीजेपी ११ सिटसहित अग्रणी छ । कांग्रेसले पाँच सिटसहित बीजेपीलाई पछ्याइरहेको छ ।

आसाममा बीजेपी ८३ सिटसहित अगाडि छ । ४१ सिटसहित कांग्रेससहितको गठबन्धनले बीजेपीलाई पछ्याइरहेको छ । मतगणनाको नतिजा आज मध्यरातसम्म आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर