कतारी राजा थानी, कति धनी ? – Nepal Press

कतारी राजा थानी, कति धनी ?

काठमाडौं । कतारका राजा शेख तामीम बिन हमद अल थानी मंगलवार नेपाल आउँदै छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले कतारी राजको स्वागतमा मंगलवार देशभरि नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राजा शेख तमीमको व्यक्तिगत र राजनीतिक जीवनको बारेमा धेरैलाई चासो छ ।

आउनुहोस् जानौँ कतारी राजा थानीका केही तथ्यहरू

आठौं पुस्ताका राजा तमीम कतारका पूर्व राजा हमाद बिन खलिफाकी दोस्रो श्रीमती मोजा बिन्त नासिरको कोखबाट जन्मिएका चौथो सन्तान हुन् । कतारका पूर्व राजा हमाद बिन खलिफाका तीन श्रीमती र कुल २४ जना सन्तान रहेका छन् ।

उनका जेठा दाइ शेख जसिमले सन् २००३ मा कतारको उत्तराधिकारीको दाबेदारी त्याग गरेपछि उनी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले राजगद्दी सुम्पिएका थिए । तमीम कतार लगानी प्राधिकरण सञ्चालक समितिका प्रमुख समेत रहेका छन् । यस कोषको स्थापना उनका बुवाले गरेका थिए ।

यो कोषले विश्वभर अर्बौँ रुपैयाँको व्यावसायिक लगानी गरेको छ । बेलायतको सबैभन्दा बिलासी अपार्टमेन्ट ह्यारीस , पेरिसमा रहेको प्रिन्ट टेम्प्स डिपार्टमेन्ट स्टोर्स , फ्रेन्च फुटबल क्लब पिएसजी, बिलासी गाडी प्रोसेको उत्पादन गर्ने कम्पनी , मियरम्याक्स फ्लिम्समा लगानी छ ।

यस्तै प्रसिद्ध ब्राण्ड लुइ भितनको एक प्रतिशत स्टेक, बार्क्लेजको १२.५ प्रतिशत स्टेक पनि कोषसँग छ । लन्डनको अधिकांश सम्पत्तिमा कतारको लगानी रहेको छ । आधुनिक लन्डनको चिनारी भनेर चिनिने गगनचुम्बी भवन शार्डको ९५ प्रतिशत स्टेक कतारसँगै रहेको छ ।

कतारको सम्पूर्ण कार्यकारिणी अधिकार राजामा नै निहित रहेको छ । कतारका शासकहरूले विश्व समुदायमा आफ्नो उपस्थिति र प्रभावलाई सशक्त रूपमा राखेका छन् । यसको उदाहरण हो सन् २००६ को एसियन गेम्स र युएन क्लाइमेट चेन्ज कन्फ्रेन्स ।

हालका राजा शेख तामीम बिन हमद अल थानीले पनि अन्तर्राष्ट्रिय समुदायमा आफ्नो बलियो प्रभाव विस्तार गरिरहेका छन् । वैदेशिक लगानी, पूर्वाधार विकाश मात्रै नभएर तमीमले कतारको पहिचानलाई सशक्त बनाउन खेललाई पनि प्रयोग गरिरहेका छन् ।

२०१४ मा फिना पौडी विश्व च्याम्पियनसिप देखि २०२२ मा फिफा विश्वकपको आयोजनालाई यसको प्रमाणको रूपमा लिन सकिन्छ ।

अमेरिकाको युएससी विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका तमीमले विद्यार्थीकालमा नै विभिन्न सैन्य तालिम समेत लिएका थिए । सार्वजनिक रिपोर्टका अनुसार तमीम घुम्नका पनि सौखिन व्यक्ति हुन् ।

कतारमा पहिला देखिनै अल थानी परिवारले राज गर्दै आएको छ । रिपोर्टका अनुसार कतारमा राजपरिवारका ८ हजारभन्दा बढी सदस्यहरू रहेका छन् ।

राजपरिवारको कुल सम्पत्ति ३३५ बिलियन अमेरिकी डलर भन्दा बढिरहेको बताइन्छ । कतारको राजपरिवारलाई पहिला देखि नै विलासी परिवारको रूपमा हेर्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित विभिन्न समाचारहरूका अनुसार कतारको राज परिवारले हाल ओमानमा समुद्र भित्र एक विलासी महल बनाइरहेको छ ।

विलासिताकै कुरा गर्नु पर्दा कतारका राजा तमीमसँग ५०० मिलियन अमेरिकी डलर पर्ने समुद्री जहाज, सयौँ बिलासी कार आदि रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर