वीरगञ्ज र मकवानपुरमा खुले अक्सिजन बैंक, विपन्नलाई निशूल्क वितरण – Nepal Press

वीरगञ्ज र मकवानपुरमा खुले अक्सिजन बैंक, विपन्नलाई निशूल्क वितरण

काठमाडौं । कोरोनाको महामारीसँगै अक्सिजनको अभाव सुरु भएपछि विपन्न वर्गलाई लक्ष्यित गर्दै ‘निशुल्क अक्सिजन बैंक’ खुल्न थालेका छन् । वीरगञ्ज र मकवानपुरमा पहिलोपटक अक्सिजन बैंक सञ्चालनमा ल्याइएको छ ।

छिमेकी देश भारतमा अक्सिजन अभाव भएर कोरोनाका बिरामीहरुको मूत्यु भइरहेको छ । नेपालमा पनि सानो अक्सिजनको सिलिन्डर अभाव सुरु भइसकेको छ । यही स्थितिलाई मध्येनजर गर्दै पहिलो अक्सिजन बैंक वीरगञ्जमा र त्यसपछि हेटौंडामा खुलेको हो ।

गत वर्षको लकडाउनमा सर्वसाधारणलाई खानेकुरा निशूल्क वितरण गर्न विभिन्न स्थानमा खाद्यान्न बैंक खुलेका थिए । भएकाहरुले दिएर जाने र नभएकाहरुले लिएर जाने अवधारणामा खुलेका ती खाद्यान्न बैंक निकै प्रभावकारी बनेका थिए । अहिले खुलेका अक्सिजन बैंकहरुले पनि विपन्न वर्गलाई राहन मिल्ने सञ्चालकहरुको आशा छ ।

वीरगञ्जमा वीरगञ्ज महानगपालिका र लायन्स क्लबको साझेदारीमा निशुल्क अक्सिजन बैंक स्थापना भएको हो । वीरगञ्ज महानगपालिकाका जनस्वास्थ्य निरक्षक सुमन चन्द्र ठकुरीले ४७ देखि ५५ लिटरसम्मका अक्सिजन सिलिन्डर वीरगञ्ज महानगरपालिका भित्रका कोरोना लागेका विरामीलाई निशुल्क वितरण गरिएको बताए ।

वीरगञ्जमा निशुल्क अक्सिजन बैंकका सदस्य अनुप अग्रवालका अनुसार महानगरपालिकाले अक्सिजनसहितका सिलिण्डर खरिद गरेको हो । ती सिलिण्डरमा ग्यास सकिएपछि लायन्स क्लबले पुन अक्सिजन भर्ने व्यवस्था मिलाएको छ । अक्सिजन प्रयोग गर्दा आवश्यक पर्ने पाइप लगायतका सामग्री क्लवले नै किन्ने गरेको अग्रवालले बताए । अहिले वीरगञ्ज महानगरपालिकाका नागरिकलाई मात्रै यो सेवा दिइएको छ ।

अग्रवालले भने, ‘डाक्टरले कोरोना संक्रमण भई अक्सिजन प्रयोग गर्न पर्ने भनि सिफारिस गरेकाहरुलाई नागरिताको फोटोकपी पेस गरेपछि अक्सिजन निशूल्क उपलब्ध गराइन्छ ।’

अक्सिजन अभावले कसैको पनि मूत्यु नहोस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको अग्रवालले बताए ।

पछिल्लो समय अरु पनि धेरै संघसंस्थाहरुले अक्सिजन बैंक स्थापनाका लागि काम गरिरहेका छन् । संकटको समयमा विभिन्न सहयोगी संस्था र विभिन्न व्यक्तिहरुको सहयोगमा यस्ता सामाजिक कार्यहरु हुँदै अइरहेका छन् ।

हेटौंडामा लायन्स क्लब मकवानुर तथा जिल्ला प्रहरी कार्यालय मकवानुरको समन्वयमा निशुल्क अक्सिजन बैंक सञ्चालनमा ल्याइएको छ ।

मकवानपुरमा सञ्चालित निशुल्क अक्सिजन बैंकका संयोजक राजेश वाग्लेले जिल्लाका विपन्न जनता र डाक्टरले अक्सिजन आवश्यक भनेर सिफारिस गरेकाहरुलाई निशुल्क अक्सिजन वितरण गर्न थालिएको बताए ।

वाग्लेले भने, ‘स्थानीय तहले आर्थिक अवस्था कमजोर भएको प्रमाणित गरेको र डाक्टरले अक्सिजन प्रयोग गनुपर्ने भनेर सिफारिस गरेका व्यक्तिहरुलाई हामीले निशुल्क अक्सिजन दिने छौं ।’

हेटौंडाको व्यवसायी मोतिलाल यादवले सिलिन्डर खरिदका लागि करिब ५ लाख सहयोग गरेको उनले जानकारी दिए ।

मकवानपुरमा ठूला ३० वटा सिलिन्डर खरिद गरेर निशुल्क अक्सिजन बैंक सञ्चालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर