८२ घण्टापछि उद्धार गरिएका युवाको कथा

भूकम्पले चुँड्यो खुट्टा, चुँडिए सपनाहरु

काठमाडौं । ०७२ साल वैशाख ८ गते सुत्केरी श्रीमती र काखेछोरालाई घरमा छाडेर निस्किएका थिए, अर्घाखाँचीस्थित चाम्लेका ऋषि खनाल । रोजागारीका लागि दुबई गएर पैसाका कमाउने सपनासहित काठमाडौं आएका खनालको जीवनलाई १२ गतेको भूकम्पले अन्तै मोडिदियो । विदेश गएर, कमाएर बाआमा, श्रीमती, छोरालाई सुखसँगै खुसी दिन हिँडेका उनलाई भूकम्पले थला पारिदियो ।

भूकम्पका कारण भत्किएको गोंगबुको एक होटलबाट ८२ घण्टापछि उद्दार गरिएका खनालको अनुभूति दर्दनाक छ । खुट्टा काटिएपछि थलिएका उनी अहिले पनि त्यो बेला सम्झँदा भकानिन्छन् ।

विदेश जानका लागि बिहानभर किनमेल गरेर होटल फर्किएका थिए, खनाल । खाना खाएर बानेश्वारमा आफन्त भेट्नका लागि निस्कने तयारी गर्दागर्दै भूकम्प भयो ।

‘होटलको तेस्रो तलमा थिएँ, सुरुमा त धेरै डर लागेन । जब होटल नै लचक–लचक हल्लिन थाल्यो, जब औधी आत्तिएँ’, उनी भूकम्प गएको बेला सम्झन्छन्, ‘एकछिनपछि केही सोच्नै नपाई होटल गर्याल्पगुर्लुप ढल्यो । आफूलाई कताकता हुत्तिएँ जस्तो भयो । एकछिन पछि त मैले आफूलाई थिचिएको, पुरिएको स्थितिमा पाएँ । कम्मरभन्दा तल थिचिएको छु । माथितिर सग्लै छु । न निस्कन सक्छु, न बोल्दा कसैले सुुन्छ । त्यसैगरी निसासिएर ८२ घण्टासम्म बस्दा धेरैपटक मरेको अनुभूति भयो ।’

कसैले आएर बँचाउँछ कि भन्ने झिनो आशको त्यान्द्रोले उनलाई बँचायो । अतिसकससँग विताएका ती ८२ घण्टालाई उनी विर्सन चाहन्छन्, तर सक्दैनन् । त्यतिबेला उनलाई सुत्केरी श्रीमती, काखे छोरा र बाआमाको धेरै याद आयो । ‘मलाई जे भए पनि उनीहरुलाई केही नहोस् भनेर भगवान्सँग कामना गरिरहें’ उनी भन्छन्, ‘सायद मेरो पुकारलाई भगवान्ले सुने, र त पुनर्जीवन पाएँ ।’

कति भोक लाग्यो, कति प्यास लाग्यो, कति पीडा भयो, त्यसलाई शब्दमा भन्न नसकिने बताउँछन् उनी । ‘जे होस्, ८२ घण्टापछि थिचिएको अन्धकारभित्र एउटा आशको धिपधिपे बत्ती बल्यो । कसैले उद्दारका लागि पहल गरिरहेको थाहा भयो । मान्छेहरुले भत्किएको होटल खनेर मलाई बाहिर निकाले । र अस्पताल लगे । त्यतिबेलासम्म्म म होशमै थिएँ’ उनी त्यो कहालीलाग्दो क्षण सम्झँदै भन्छन्, ‘अस्पतालमा डाक्टरले अरु सबै ठीकै भएको तर रगत जमेका कारण खुट्टा काट्नपर्ने बताए । र खुट्टा काटियो । त्यसपछि अहिले वैशाखीको भरमा जेनतेन जीवन धानिरहेको छु ।’

परिवारको सहारा बन्नुपर्ने बेला आफ्नो लागि अरु साहरा बन्नुपर्दा खनाललाई खुब पिर लाग्छ । ‘विदेश गएर, पैसा कमाएर परिवारलाई खुशी पार्ने धोको थियो, भुँइचालोले आफैं चाहिँ उनीहरुको सहारामा बाँच्नुपर्ने बनाइदियो । अहिले त आफ्नो जीवन आफैंलाई बोझ लाग्छ’, उनी भन्छन्, ‘सरकारले पनि अरु भूकम्पपीडतलाई हेर्यो, तर हामी जस्ता आपांगता नै नभएर थलका परेकाको हितमा केही गरेन ।’

खानलाउन नै धौधौ परेको पीडा सुनाउँदै उनले छोरालाई राम्रो विद्यालयमा पढाउने सपना साँचेका छन् अझै । तर कसरी रु भन्नेमा अन्योल छ । ‘छोराले राम्रो पढेर, ठूलो मान्छे भएर सुख दिन्छ कि भन्ने आश त छ, तर कसरी पढाउने रु’ उनी भन्छन् ।

अहिले गाउँमा खेतीको काम उनकी श्रीमतीले गर्छिन् । श्रीमती खेतबारीमा गएर दुःख गरिरहेको र आफू घरमै थलिएको बस्नुपर्दा उनलाई झन् पीडा हुन्छ ।

वैशाख ९ गते बिहानै रात्रिबस चढेर उनी काठमाडौं आएका थिए । उनको १४ गते दुबई उड्नका लागि टिकटसमेट आइसकेको थियो । तर उनी उड्न पाएनन्, थलिए ।

‘विदेश जान पाएको भए अहिले अवस्था अर्कै हुन्थ्यो होला’ उनी कल्पना गर्छन्, ‘आज श्रीमती, छोराछहरु खुसी हुन्थे होला । छोराले राम्रो स्कुलमा पढ्न पाउँथ्यो होला ।’

उनको अहिले अर्को छोरा जन्मिएको पाँच महिना भयो । उनको जिम्मेवारी बढेको छ, तर कसरी जिम्मेवारी बहन गर्ने चिन्ताले सताइरहेछ उनलाई ।

दुःखमाथि दुःख

१० कक्षासम्म पढेका उनी सानै उमेरमा भारत पसेका थिए कमाउन । भारतमा नै सिलाइ बुनाइको काम सिके र रोजगारी पनि शुरु गरे । भारतको रोजगारीले बढ्दो आफ्नो परिवारलाई भरण पोषण गर्न नसक्ने भएपछि उनी दुवइ जाने सपनासहित गाउँ फर्किए । र, एक लाख रुपैयाँ ऋण लिएर दुवइ जानका लागि गाउँबाटै मेनपावरलाई रकम बुझाए । त्यहीं मेनपावरको सूचना अनुसार उनी दुवई जान काठमाडौं आएका थिए ।

पोहरसाल उनकी श्रीमतीको पत्थरीको अपरेशन भयो । ३, ४ लाख रुपैयाँ सहयोग जुटाएर उनले अपरेशन गराए । उनी भन्छन्, ‘दुखीलाई दुःखमाथि दुःख नै थपिँदो रहेछ । यो जुनमा सुख र खुसीको दिन आउँदैन क्यार !’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *