मेरियट वार्तामा ओलीको आशय-संकटमा पार्टी जोगाउने जिल्ला नेतृत्व फेरिन्न, बादलहरूबिनाको बैठक बस्दैन – Nepal Press

मेरियट वार्तामा ओलीको आशय-संकटमा पार्टी जोगाउने जिल्ला नेतृत्व फेरिन्न, बादलहरूबिनाको बैठक बस्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बिनासर्त पार्टीमा फर्किन आग्रह गरेका छन् । समूहगत बार्गेनिङ आफूले स्वीकार नगर्ने बताउँदै आएका ओलीले बिहीबार दोस्रो दिनको वार्तामा पनि बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

नेपालले राखेका सर्तमा ओली सहमत नभएपछि वार्ता सकारात्मक हुन नसकेको स्रोतले जनाएको छ । यद्यपि एकले अर्कोलाई कारवाही गरेर हटाउने तहको सम्बन्धमा पुगिसकेका नेताहरूबीच एक-दुई भेटमै सहमतिको अपेक्षा गर्न पनि नसकिने मिलाउन अग्रसर भएका नेताहरु बताउँछन् ।

माधव नेपालले शुक्रबार आयोजित दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न र २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन राखेको सर्त ओलीले अश्वीकार गरेका छन् । त्यस्तै २०७७ चैत २८ गते र त्यसयताका सबै निर्णय खारेज हुनुपर्ने सर्त पनि ओलीले अश्वीकार गरेपछि नेपाल जनकपुर जानुछ भन्दै मेरियट होटलबाट बाहिरिएका थिए ।

नेपालले वार्तामा एमालेका २०७५ जेठ २ अघिका जिल्ला अध्यक्षहरूलाई नै पुनर्वहाली गर्नुपर्ने अर्को सर्त राखेका छन् । तर, ओलीले पुस ७ गते आफूलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेपछि बनेका जिल्ला नेतृत्वहरू नै अहिलेको एमालेका शक्ति भएकाले तीनिहरुलाई तलमाथि नगर्ने जवाफ दिएका छन् ।

ओलीले हिजो एमालेकालका अध्यक्षहरूलाई माथिल्ला कमिटीमा व्यवस्थापन गर्न सकिने तर अहिले चलिरहेका नेतृत्वलाई हटाएर पुरानालाई पुनःस्थापित नगर्ने बताएका छन् । त्यस्तै नेकपा एकीकरणका क्रममा समेटिएका एमाले र माओवादी दुवैतर्फका केन्द्रीय सदस्य यथावत रहने ओलीले प्रष्ट पारेका छन् ।

माधव नेपालको सर्त अनुसार फर्किँदा रामबहादुर थापा बादलसहित माओवादीमा नफर्की आफूसँग रहेका नेताहरू पार्टीविहीन हुने भन्दै ओलीले कुनै पनि हालतमा त्यो शर्त नमान्ने प्रष्ट पारेका छन् । त्यस्तै २०७५ जेठ ३ गते नेकपा एकीकरणपूर्व एमालेबाट थपिएका ४२ केन्द्रीय सदस्य नचलाउने बताइसकेका छन् ।

ओली निकट एक नेताले भने, ‘हिजो केपी ओलीलाई साधारण सदस्यबाट समेत हटाएर नांगै खुट्टा बालकोट पठाउँछौं भन्नेहरूका सर्त मानेर खुरुक्क उनीहरुले भने जस्तो गरिदिनुपर्ने र संकटमा साथ दिएर सांसद पद समेत त्याग्न तयार भएका बादलहरुलाई तपाईहरु अहिले बाटोमै पर्खिनुस्, हामी माधव नेपालहरुसँग बैठक बस्छौं भन्न ओलीलाई नैतिकरूपमा पनि मिल्दैन ।’

ओलीले माधव नेपालहरु बिनासर्त एमालेमा समाहित हुने हो भने हिजोका पदहरू यथावत रहने र तत्कालीन एमालेको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारीमा रहेका तर यसबीचमा प्रचण्ड माधव पक्षमा लागेपछि नयाँ अध्यक्ष चयन भएकाले ती व्यक्तिलाई अरु कमिटीमा बढुवा गर्ने अनौपचारिक प्रस्तावमा सहमति जनाएका छन् ।

माधव नेपाल पक्षले अहिले पनि प्रचण्डको एजेण्डा बोकेर एमालेभित्र स्पेस खोजिरहेको निष्कर्ष ओलीको छ । त्यसैले नेपालका कुनै पनि शर्त मान्न ओली तयार छैनन् । नेपाल भने बिनासर्त एमालेमा फर्किन सकिरहेका छैनन् ।

स्रोतले भन्यो, ‘जसरी पुस ४ गते प्रचण्डको निवास खुमलटारमै पुगेर ओलीले १९ बुँदे अभियोगपत्र फिर्ता लिन र पार्टी एकता जोगाउन आग्रह गरेका थिए त्यसरी नै माधव नेपालसँग मेरियटमा वार्ता गरेका हुन् । एकताका लागि अधिकतम पहल गरेको सन्देश दिनलाई यो वार्ता भएको हो तर माधव नेपालका कुनै पनि शर्त मान्ने पक्षमा ओली छैनन् ।’

नेपाल पक्षले बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नरहेको ओलीनिकट स्रोतले जनाएको छ । माधव र प्रचण्ड मिलेर आफूमाथि गर्नेजत्ति सबै अत्याचार गरिसकेको र पुर्याउन सक्नेजति क्षति पुर्‍याइसकेकाले अब फ्लोर क्रस गरेर सरकार ढाल्नेबाहेक अन्य सामथ्र्य माधव पक्षसँग नरहेको ओलीको निष्कर्ष छ ।

ओलीले माधव नेपालसँग आफूलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाएर पार्टीविहीन बनाउन खोजेको चोट भुल्न नसके पनि एकताका लागि सकेसम्म लचिलो बन्न तयार रहेको बताएका थिए । नेपालले भने नेकपाको बेलाको कुरा नकोट्याउन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर