झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ – Nepal Press

झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनी तीनैजना झा दम्पतीको नातेदार नै भएको प्रहरीले जनाएको छ । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनी तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

पक्राउ परेका ठाकुरले झा दम्पतीको जग्गा नजिकै प्लटिङ गरेको थियो । तर प्लटिङ गरिएको जग्गाबाट सडकमा आउने बाटो थिएन । त्यसैले ठाकुरलगायतका व्यक्ति पटक-पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएको र बिक्री नगरेकै कारण अपहरण गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

झा दम्पतीको कंकाल फेला परे पनि घटनामा संलग्न को को छन् भन्नेबारे अझै खुल्न बाँकी छ । घटनाको नेपाल प्रहरी र सिआइबी टोलीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *