मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध – Nepal Press

मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध

काठमाडौं । गत सोमबार आफ्नै श्रीमतीको हत्या गरी फरार भएका सन्तोष सापकोटालाई प्रहरीले पक्राउ गर्‍यो । सन्तोषले घरायसी विवादको कारण हत्या गरेको प्रहरीमा बयान दिएका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुका सन्तोष लागुऔषध दुर्व्यसनी भएकाले सन्तोषी उनीसँग छुट्टिन चाहन्थिन् । सन्तोषले त्यही झोकमा श्रीमतीको हत्या गरे ।

000

टोखा नगरपालिका-३ सूर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गर्‍यो । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्रकुमार शाह पक्राउ परेका हुन् । उनीहरूसँग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

000

गत ६ फागुनमा काठमाडौंको गुहेश्वरीमा ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्या भयो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई हत्या गरी फालिएको थियो । हत्यामा संलग्न चारजना पक्राउ परेका छन् । उनीहरुले लुटपाट गर्ने हिसाबले आक्रमण गरेका थिए । तर कुटाइबाट गम्भीर घाइते भएपछि आफूलाई जोगाउन हत्या गरेर भागेका थिए ।

000

गत भदौ २० मा ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या गरेको आरोपमा नाताले भतिज पर्ने निर्मल केसी पक्राउ परे । उनले काकीसँग अनैतिक सम्बन्ध राख्दै आएको र विवाह गर्न दबाब दिएपछि घुम्न जाने मौकामा हत्या गरेको बयान दिए । आवेशमा आएर हत्या गरेको उनको स्वीकारोक्ति थियो ।

काठमाडौं उपत्यकामा केही समययता भएका अपराधिक घटनाका झलक हुन् यी । काठमाडौं उपत्यकामा मात्र नभएर पछिल्लो समय ७ वटै प्रदेशमा यस्ता अपराधको ग्राफ उकालो लाग्दैछ । अधिकांश हत्या आवेशमा आएर गरेको देखिन्छ । प्रहरीको पछिल्लो तथ्याङ अनुसार दिनँहु २ जनाको हत्या हुने गरेको छ । त्यो पनि सामान्य विवादमा ।

पछिल्लो घटनाक्रम हेर्ने हो भने अपराधीले छिनभरको आक्रोशमा हत्या गरेका घटना धेरै छन् । कुटपिटपछि पनि पक्राउ पर्ने डरले खेल खतम गर्न जघन्य हत्या गर्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । वर्षेनी सयौको संंख्यामा यसरी हत्या भइरहेको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार मुलुकभर आर्थिक वर्ष २०७५÷०७६ मा कर्तव्य ज्यान मुद्दामा ८८६ पुरुष र १५८ महिला पक्राउ परेका थिए । यस्तै २०७६।०७७ मा कर्तव्य ज्यानमुद्दामा ७८० पुरुष र ११९ महिला पक्राउ परे भने ०७७ देखि ०७८ माघसम्म कर्तव्य ज्यान मुद्दामा ५३३ पुरुष र ६१ महिला पक्राउ परेका छन् । प्रहरीको तथ्थाङ हेर्ने हो भने एक वर्षमा ५ सयभन्दा बढीको हत्या भएको छ । तीमध्ये अधिकांश हत्या आवेशमा आएर गरेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छः सामाजिक सञ्जालको दोष

जघन्य अपराधको घटनामा अनुसन्धान गरिरहेका डीआइजी उत्तम सुवेदी पछिल्लो समय हुनु सामाजिक सञ्जालको दुरुपयोगले आवेशमा आएर हत्या गर्ने क्रम बढेको बताउँछन् । यसअघिको अनुसन्धानले बेरोजगार, अशिक्षाजस्ता कारणले हत्या हुने गरेको देखिन्थ्यो ।

उनी भन्छन्, ‘हिजो हामीले गरिबी, दीर्घरोग, अशिक्षाले भन्थ्यौ । हिजोभन्दा अहिले ट्रेन्ड चेन्ज भो । अहिले सामाजिक विकृतिको कारण देखिदैछ । सामाजिक सञ्जालको दुरुप्रयोग गरी अनैतिक सम्वन्ध राख्ने र त्यसले श्रीमान–श्रीमतीबीच बेमेल हुने भएपछि अपराधमा संलग्न हुन थालेका छन् ।’

सामाजिक सञ्जालको दुरुपयोग र अल्कोहल नै अहिले अपराधको प्रमुख स्रोत बनेको प्रहरीको अध्ययनले देखाएको उनले बताए ।

सुवेदीका अनुसार पहिले रोजगारी नपाएर, परिक्षामा फेल भएर, व्यापारमा घाटा लाग्दा वा दीर्घरोग लाग्यो भनेर आक्रामक हुने डिप्रेसनमा जाने हुन्थ्यो ।

उनले एउटा घटना सुनाए, ‘एकजना २० वर्ष पुगेको युवती आत्महत्या प्रयास गरिरहेको घरबेटी आमाले देख्नुभयो । ती बुढीआमाले डोरी तान्दिनुभयो । उनलाई सम्झाउन थाल्नुभयो । उनी म त मर्छु मर्छु भनेर जिद्दी गर्न थालेपछि प्रहरी बोलाइयो । उनलाई किन आत्महत्या गर्न लागेको भन्दा उनको जवाफ सुनेर चकित भयौं । आफ्नो ब्वाइफ्रेन्डले बर्थडे बिर्सियो भनेर आत्महत्या गर्न लागेको रे । ‘सरी भन भन्दा सरी नभन्ने, अब म बाँचेर के गर्नु ?’ भन्ने जवाफ दिइन् ।’

उनी अगाडि थप्छन्, ‘बच्चाहरुलाई घरपरिवारको निगरानी पनि कम भो । स्कूलमा पनि नैतिक शिक्षा पढाउन छाडिययो । जसले गर्दा गर्न हुने र गर्न नहुने कुराहरु बच्चैदेखि सिकाइएन ।’

समाजमा गलत संगत भएका मान्छेहरु प्रशस्त हुनाले कोही रक्सीको कुलतमा, कोही ड्रग्सको कुलतमा फस्ने, र केही सामाजिक सञ्जालको दुरुप्रयोगमा फस्ने हुँदा यस्ता गतिविधि गर्न नहिक्चिाउने उनको बुझाइ छ ।

पोर्नाेग्राफीको लत

पछिल्लो समयमा अर्को चुनौती थपिएको छ । सानै उमेरका बच्चालाई पोर्नोग्राफी र पब्जीजस्ता गेमको लत बस्दै छ । यस्ता लतले उनीहरूलाई एकोहोरो बनाइदिने तथा मनोवैज्ञानिक समस्याहरु ल्याउने त कसैलाई आक्रामक वा कसैलाई डिप्रेसनमा पुर्‍याइदिनु गरेको उनले बताए ।

उनले भने, ‘आक्रामक बन्यो भने उ गुण्डागर्दी र हत्या–हिंसामा सलंग्न हुन्छ भने डिप्रेसनमा गयो भने आत्महत्याको मनस्थितिमा पुग्ने देखिएको छ ।’

यस्ता गतिविधिमा कमी ल्याउन स्कुल तह र घरदेखि नै सुधारका काम शुरू गर्नुपर्ने उनी बताउँछन् ।

मनोविद् यसो भन्छन्

परिवारबाट साथ र सहयोग नपाउँदा बच्चाहरू अपराधिक गतिविधिमा बढी लाग्ने र कानून कार्यान्वयन फितलो हुँदा हत्याका घटनाहरू बढिरहेको मनोविद्हरू बताउँछन् ।

मनोविद् स्वस्तिका पोखरेल भन्छिन्, ‘परिवारबाट सहयोग बच्चाले पाइराखेको छैन । उनीहरु शारीरिक तथा भावनात्मकरूपले जति बुवाआमाप्रति जति नजिक हुनुपर्ने हो त्यो भइराखेको छैन । त्यसैले अहिलेका किशोर–किशोरी एकदमै आक्रामक छन् ।’

बच्चालाई परिवारले भौतिकरुपमा सुखसुविधा दिए पनि भावनात्मक सम्वन्धका अभाव रहेको उनी बताउँछिन् । बच्चाको फिलिङ्सलाई परिवारले नबुझ्दा पनि समस्या बढेको उनको बुझाइ छ ।

अर्को कारण भने उनले बेरोजगारीलाई औंल्याइन् ।

उनी सुनाउँछिन्, ‘एउटा २०/२२ वर्षको युवकले बिहे पनि गरिसकेको हुन्छ । बालबच्चा नि भइसकेको हुन्छ । परिवारले जसरी पनि कमाएर ल्याउ भनेर दबाब दिन्छन् । उसको भावनालाई परिवारले बुझ्दैनन् । तनावले उ ड्रग्सको कुलतमा फस्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर