राजनीतिसँगै ड्रागन खेती – Nepal Press
केवी गुरुङको ‘कृषि–कथा’

राजनीतिसँगै ड्रागन खेती

‘उत्पादनविनाको भाषणले समृद्धि आउँदैन’

रूपन्देही । राजनीतिक वृत्तमा केवी गुरुङका नामले चिनिने उनको पूरा नाम केशरबहादुर गुरुङ हो । नेकपा मसालसँग निकट रहेर लामो समयसम्म राजनीतिक आन्दोलनमा होमिएका गुरुङ जनजाति हकअधिकारमा लड्ने अग्रपंक्तिका अगुवा हुन् ।

विगतमा नेकपा मसाल प्यूठानका प्रवक्तासमेत रहेका गुरुङ २०४८ सालपछि भएको पहिलो आमनिर्वाचनमा प्यूठानमा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बने पनि झिनो मतले पराजित भएका थिए । पराजित भए पनि उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तर अँगालिरहे ।

किसान परिवारमा हुर्केका उनी आफूलाई कृषक नै हुँ भन्छन् । ‘म कृषकको छोरो भएर कृषिमा लागेको हँु, राजनीति गरेर कृषिमा लागेको हैन’, उनले भने । उनको यो अभियानले नयाँ पिंढीका लागि सकारात्मक सन्देश दिने उनका प्रशंसक बताउँछन् ।

हरेक नेपालीले थोरै भए पनि उत्पादनमूलक काममा चिन्ता गर्ने हो भने सजिलो गरी आत्मनिर्भर हुनसकिने उनको तर्क छ ।

अहिले गुरुङसँगै मिलेर तीन जनाले शुरू गरेको कृषि खेतीले नयाँ पुस्तामा उनको परिचय फेरिएको हो ।

प्यूठानको सरुमारानी–२ दर्भान निवासी ६२ वर्षीय गुरुङ हाल मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् । राजनीतिसँगै व्यावसायिक कृषक बनेका गुरुङ आफ्नो दुवै क्षेत्रप्रति पूर्ण सन्तुष्ट छन् ।

‘असफलता नै अभ्यास’

गुरुङको परिवारले पहिलेदेखि नै कृषिलाई मुख्य पेशा बनाएको थियो, तर परम्परागत रूपमा । उनले २०४५ सालमा दर्भानमा आँपका बगैंचा तयार गरेका थिए, त्यसले अहिले उत्पादन दिन शुरू गरेको छ ।

कृषिमा रमाउन चाहने भए पनि उनलाई २०५१/५२ सालतिर उद्योग खोल्ने मन पलायो र होजियारी उद्योग खोल्न पुगेका थिए । घरेलु उद्योगका रूपमा नेटिङ्ग प्रविधि प्रयोग गरी ऊलनका कपडा तथा स्वेटर, मोजा, ट्राउजरहरू बनाउने उद्देश्यसहित मेसिन ल्याएर काम थालेका थिए । तर त्यो सोचे जसरी सफल हुन सकेन । शुरूमा त्यसको उत्पादन र बिक्री राम्रै भएको थियो तर बजारको प्रतिस्पर्धा तथा नयाँनयाँ प्रविधि र लगानीका कारण टिक्न नसकेको उनी बताउँछन् ।

आज उनले त्यो असफलतालाई प्रेरणा मान्दै आत्मनिर्भर र आफूले बोकेको विचारसँग मेल खाने कृषि क्रान्तिको आधार व्यावसायिक कृषि खेती भेट्टाएकोमा खुशी व्यक्त गर्दछन् ।

गुरुङ भन्छन्, ‘कम्युनिष्ट आन्दोलनमा लागियो । नयाँ जनवादी क्रान्ति गर्ने लक्ष्य त्यसमा छ र त्यसको आधार भनेको कृषि क्रान्ति नै हो । तर हामीले त्यसलाई व्यवहारमा उतार्न सकेका छैनौं । नेपालको विकासको लागि कृषि उत्पादनमा नै जोड दिनु अपरिहार्य छ भन्ने मान्यतासहित हामीले टिम बनाएर यो काम थालेका हौं ।’

‘उत्पादनविनाको भाषणले समृद्धि आउँदैन’

तत्कालीन बाङ्गेसाल गाउँपालिका दर्भानमा परिवारसहित बस्दै आएका गुरुङको नेतृत्वमा जग्गा भाडामा लिएर व्यावसायिक कृषि खेती शुरू गरिएको हो । दर्भानमा २० रोपनी र सीमा जोडिएको दाङको लालमटियामा एक बिघा जग्गा भाडामा लिएर ड्रागन फ्रुटसँगै अम्बा (वेलौती) र बयर खेती गर्न थालेको दुई वर्ष वितेको छ । पार्टी काम सँगसँगै समय निकालेर कृषि पेशालाई अगाडि बढाएको उनको भनाइ छ ।

‘राजनीति वा समाजसेवा जे गरे पनि हामीले उत्पादनकै काम गरेका हुन्छौं । यसमा विचार र विकासको उत्पादन हुन्छ । कृषिमा जोडिनु भनेको प्रत्यक्ष उत्पादन गर्नु हो’ गुरुङ भन्छन्, ‘नेताले भाषण र नारा लगाउन मात्र सिकाउने होइन समृद्ध हुने बाटो पनि देखाउनुपर्छ भनेर नै आफू राजनीतिसँगै कृषि कर्ममा लागेको हुँ ।’

योभन्दा अगाडिको राजनीतिक संघर्ष व्यवस्था परिवर्तनका लागि थियो, त्यो अझै पूरा भएको त छैन तर केही उपलब्धि भएको छ । त्यसको रक्षा गर्दै थप नयाँ चरणको आन्दोलन जरूरी छ र आफ्नो कृषि कर्म पनि त्यसको सहायक भएको उनी दाबी गर्छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं भन्दै कृषि फार्मबाट उत्पादन भएका उपजको बिक्री थालिएको छ । हाम्रो बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि खेती थालिएको छ । त्यहाँबाट उत्पादित ड्रागन फ्रुटको खुद्रा मूल्य प्रतिकेजी रु.८०० तथा ताइवानी पिंक र ह्वाइट प्रजातिको अम्बाको प्रतिकेजी रु.१०० राखिएको गुरुङ बताउँछन् ।

तर समय र सिजन अनुसार दररेट परिवर्तन हुने उनी बताउँछन् । उत्पादन बिक्री थालिएपछि त्यसको माग बढेको र फर्ममै आएर लैजाने गरेको उनको भनाइ छ । अहिले यसको सिजन नभएकाले बिरुवा उत्पादनमा लागेको र सबैतिरबाट माग आएको गुरुङले बताए ।

ड्रागन खेतीमा उत्साहजनक सफलता

गुरुङको ड्रागन खेती प्यूठानमा नै पहिलो हो । फर्म दर्ता गरेपछि करिब २५ लाख रुपैयाँ लगानी गरेर यसको शुरुआत गरेको गुरुङ बताउँछन् । यो खेती शुरू गर्ने समयमा कस्तो होला भन्ने निकै डर लागेको उनको भनाइ छ ।

गुरुङका अनुसार ड्रागन फ्रुटको बेर्ना ताइवान र भारतको गुजरातबाट तथा अम्बा मलेशिया र बयरको बेर्ना थाइल्याण्डबाट किनेर ल्याइएको हो ।

उत्पादित फ्रुट प्यूठानसँगै रोल्पा, बुटवल, काठमाडौंसम्म गइरहेको छ । बजारमा रातो प्रतिकेजी ८०० र सेतो प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भैरहेको छ । उनका अनुसार असारदेखि कात्तिकसम्म यसको उत्पादन हुन्छ । अन्य समयमा संरक्षणमा ध्यान दिनुपर्दछ ।

गुरुङले अहिले दुई ठाउँमा गरी १२०० ड्रागन फ्रुट तथा अम्बा र बयर लगाएका छन् । उनले लगाएका तीनवटै फलफूलले आम्दानी दिन शुरू गरेको छ । ‘२०७६ असारबाट यो खेती शुरू गरेका हौं’ उनले भने, ‘अहिले फल दिन थालेपछि बिक्री थालिएको छ ।’

उत्पादन कति समयमा हुन्छ भन्ने प्रश्नमा ‘बिरुवामा भरपर्छ । यदि राम्रो र फलेको बोटबाट तयार गरिएको बिरुवा हो भने एक वर्षदेखि नै फल दिन्छ ।’

रातिमा मात्र फुल्ने भएकाले ड्रागन फ्रुटलाई भारतमा ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यसको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ ।

व्यावसायिक रूपमा प्यूठानमा यति धेरै क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गर्ने आफूहरू नै भएको गुरुङले बताए । ‘अरूले गमलामा थोरै मात्रामा लगाउने गरेको भए पनि व्यावसायिक रूपमा यसको खेती गर्ने हामी नै हौं’, उनले भने ।

ड्रागन फ्रुट तीन प्रकारको हुने भए पनि गुरुङले दुई थरीको मात्र बिरुवा लगाएका छन् । एउटा ड्रागन फ्रुटको फल १०० ग्रामदेखि एक किलोसम्म हुने गर्दछ ।

ड्रागन सिउँडी प्रजातिको वनस्पति हो । यसको फल बाहिर र भित्र रातो हुने, बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पहेंलो र भित्र सेतो हुने गरी तीन प्रकारको हुन्छ ।

विदेशमा व्यावसायिक रूपमा यसको खेती गर्ने प्रचलन बढी भए पनि नेपालमा यो व्यावसायिक रूपमा भित्रिएको लगभग पाँच वर्ष जति भएको बताइन्छ । आफूहरूले भारत तथा नेपालको दाङमा गरिएको ड्रागन खेतीको अवलोकन गरेको गुरुङले बताए । यसरी गरिएको अवलोकनबाट पनि यस खेती सम्बन्धी धेरै कुरा सिक्न पाएको उनले सुनाए ।

ड्रागन फ्रुट स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने थाहा पाएपछि नेपालमा पनि यो लगाउनुपर्छ भन्ने सन्देश दिन तथा कृषिलाई समृद्धिसँग जोड्न पनि आफूले यसको खेती गरेको उनले बताए ।

‘नेपालका फाइभ स्टार होटलहरूमा यो फलको माग धेरै नै छ भने नेपालीका लागि नयाँ फलफूल भएका कारण आम नेपालीले पनि खाने हुँदा ड्रागन फ्रुट बेच्नका लागि बजारको समस्या छैन’, गुरुङ भन्छन् ।

व्यवासायलाई अझ व्यापक बनाउने गुरुङको योजना

प्यूठान जिल्लामा व्यावसायिक कृषि खेतीको अवस्था निकै न्यून रहेको छ । धान, मकै, गहुँलगायत परम्परागत बालीमा केही नयाँ प्रविधिको प्रयोग गरिए पनि नगदेबालीका रूपमा रहेका फलफूल जातको खेती भने नगन्य अवस्थामा रहेको हुँदा नगदेवालीको व्यावसायिक अभियान थाल्ने योजना रहेको गुरुङ सुनाउँछन् ।

हाल आफूले गरेको कामबाट हौसिएका गुरुङले निजी तथा सामूहिक लगानीमा दर्भानमा आँप, लिची, भुईंकटहरलगायत खेती समेत थालेको सुनाउँछन् । त्यसलाई व्यापक बनाउने योजना रहेको छ ।

जिल्लामा खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको छ, त्यसको सही सदुपयोग हुनसकेमा कृषकलाई आम्दानी र देश पनि कृषि उत्पादनमा आत्मनिर्भर हुने दाबी गुरुङको छ ।

ड्रागन खेती साना किसानका लागि महँगो पर्ने अनुभव सुनाउँदै त्यसमा राज्यले अनुदानको व्यवस्था गर्नुपर्ने माग गर्छन् । संरचनामा कम लगानी गर्नुपर्ने अम्बा खेती अति उपयुक्त देखिएको हुँदा त्यसमा आफूले बल गरेको बताउँदै अरूलाई त्यही सुझाव दिन्छन् ।

अहिले अम्बा र ड्रागनको बिरुवा उत्पादनमा लागेको र जिल्लाभित्र तथा बाहिरबाट माग भइरहेको उनले बताए ।

गुरुङको भोगाइ अनुसार यो खेती गर्न धेरै गाह्रो पनि छैन । अन्य खेतीलाई जस्तो धेरै खनजोत तथा मलको प्रयोग जरूरी नभएको उनको अनुभव छ ।
ड्रागनको बिरुवा लगाउनुभन्दा पहिला ड्याङ बनाएर ६ फिट अग्लो खम्बा गाड्नुपर्छ । खम्बामा अड्याएर ड्रागनको बिरुवा रोप्नुपर्छ । एक खम्बादेखि अर्काे खम्बासम्मको दूरी ६ फिट हुनुपर्छ । ड्याङहरूबीचको दूरी १० देखि १२ फिटसम्मको हुनुपर्छ ।
यो खेतीको लागि पानी जम्न दिनुहुँदैन । त्यसैले खम्बा गाडेको ठाउँमा केही अग्लो बनाएर बिरुवा रोप्नुपर्छ । ड्रागनको बोटले कम्तीमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ ।
गुरुङका अनुसार १२ वर्षपछि बोटलाई एक फिटको उँचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिब १० वर्षसम्म उत्पादन दिने बताइन्छ ।
यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिने भनाइ छ ।

ड्रागन फ्रुटका फाइदा

ड्रागनको फललाई इनर्जी ड्रिंक, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका सामग्रीहरू बनाउन पनि प्रयोग गरिन्छ । ड्रागन फूलको पात सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती पनि बनाउन सकिन्छ ।

यो फल स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । यो फलमा धेरै प्रकारका भिटामिन र खनिज तत्वहरू पाइन्छ । यो फल नियमित खाने मान्छेमा मुटुरोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्ट्रोललगायतका रोगसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

नेपाली राजनीतिमा जोडिएका धेरै व्यक्तिले थोरै समय भए पनि यस्तै उत्पादनमूलक क्षेत्रमा लागेमा परिणाम राम्रो आउने उदाहरण प्यूठानी नेता तथा कृषक केबी गुरुङले दिएका छन् ।

कृषिप्रधान देश भएर पनि सरकार तथा हरेक नागरिकले यसलाई ध्यान नदिएका कारण वार्षिक अरबौंको कृषिजन्य पदार्थ आयात भएको बताउँदै गुरुङले योजना बनाएर लागेमा ५ देखि ७ वर्षमा आत्मनिर्भर बनेर निर्यातको चरणमा पुग्न सकिने बताउँछन् । नयाँ पिंढीलाई यो क्षेत्रमा ध्यान लगाउन सबैले चासो दिनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *