पोखराको सडकका शालिक सारिएनन् – Nepal Press

पोखराको सडकका शालिक सारिएनन्

रवीन्द्र अधिकारीको शालिक फेरिने

पोखरा । पोखरा काठमाडौं जोड्ने राजमार्ग पृथ्वी राजमार्गको मुख्य प्रस्थानविन्दु पोखरामा कुनै समय राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक थियो । शालिक रहेको चोकलाई आज पर्यन्त पृथ्वी चोकको नामले चिनिन्छ ।

तर, जनआन्दोलन २०६२/६३ सालको जनआन्दोलनमा तत्कालीन माओवादीले शालिक ढालिदिएका थिए । तत्पश्चात देशमा राजा शासन अन्त्य भएसँगै राजपरिवारका सदस्यका नाम जोडिएका संरचना परिवर्तन गर्नेक्रममा पृथ्वीनारायणको शालिक हटाएर शहिद लखन थापाको शालिक राखियो ।

प्रथम शहिद लखन थापाको शालिक अनावरण गर्दै चोकको नाम ‘लखन चोक’ पनि जुराइयो । तर, लामो समयसम्म पृथ्वीचोकमा अभ्यस्त भइसकेका पोखरेली अझैसम्म ‘लखन चोक’मा आफूलाई ढाल्न सकेका छैनन् ।

स्थानीय निर्वाचनपछि विजयी भएर पोखरा महानगरको प्रमुखका रुपमा पद सम्हालिइसकेपछि मेयर मानबहादुर जिसीले रातारात शालिकमाथि डोजर चलाए । अनावरित लखन थापाको शालिकमाथि डोजर चलाएपछि जनजाति विशेषतः मगर समुदाय आक्रोशित बने र महानगरको कदमविरुद्ध नाराजुलुस गरे ।

तत्कालीन समयमा मेयर मानबहादुर जिसीको तर्क थियो, ‘शालिकले ठूलो ठाउँ ओगट्यो । यसले ओगटेको ठाउँले गर्दा ट्राफिक जामको समस्या निम्त्यायो । शालिक हटाएपछि ट्राफिक व्यवस्थापन सहज हुन्छ ।’

सडकको ठूलो क्षेत्रफल ओगटेर बनेका शालिकले ट्राफिक जामको समस्या निम्त्याउने र हटाउँदा जनस्तरबाट विरोध हुँदै गएपछि महानगरले शहिदका शालिकका लागि नयाँ योजना परिकल्पना गर्यो, ‘निश्चित ठाउँ तोक्ने, शालिक व्यवस्थापन गर्ने र पर्यटन प्रवद्र्धन पनि गर्ने ।’

त्यही योजनाअनुसार महानगरले पोखरा १८ जामुनबोटमा करिब ५७ रोपनी जग्गालाई शहिद पार्कका रुपमा अघि बढायो । पार्कका लागि महानगरले आर्थिक वर्ष ०७५÷७६ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेर पार्क निर्माण कार्य अघि बढायो । त्यहाँ २० भन्दा बढी शहिदको शालिक ठड्याउने महानगरको योजना छ ।

पोखरा महानगरका विभिन्न ठाउँ, चोकमा रहेका शहिदका शालिकलाई एकीकृत गरेर पार्कमा राख्ने महानगरको योजना थियो । त्यो योजनाअनुसार अहिले पृथ्वीनारायण शाह, योगेन्द्रमान शेरचन, भीमसेन दाहाल, पुष्पलाल, रवीन्द्र अधिकारीको शालिक राखिसकेको छ ।

सारिएनन् सडकका शालिक !

पार्कमा शहिदका शालिक सार्न महानगरले पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय शहिद पार्क व्यवस्थापन समिति गठन पनि गरिसकेको छ । समितिको पार्क, शालिक व्यवस्थापन, संरक्षणसहितको जिम्मेवारी छ ।

तर, महानगरले जुन योजनाका साथ पार्कको निर्माण गरेको थियो । सो योजनाअनुसार भने काम भएको छैन । लामो समय बितिसक्दा पनि न त सडकका शालिक पार्कमा पुर्याइएको छ न त योजना बमोजिमका शालिक व्यवस्थित गरिएको छ ।

२० वटा शालिक राख्ने योजनासहित निर्माण गरिएको पार्कमा अहिलेसम्म जम्मा ५ वटामात्रै शालिक ठड्याइएका छन् । सडकका शालिक पार्कमा सार्न कोरोना महामारीका कारण रोकिएको महानगरले जनाएको छ । ‘सडकका सबै शालिकहरु सार्ने तयारी पूरा भइसकेको थियो । तर, बीचमा कोभिडका कारण काम रोकियो,’ पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘अब फेरि चाँडै त्यो काम पूरा गर्ने योजनामा छौं ।’

पार्कमा ५ वटा शालिक अनावरण भइसके पनि बाँकी शालिक ल्याउन भने केही समय लाग्ने देखिएको पार्क व्यवस्थापन संयोजक रणबहादुर थापा बताउँछन् । ‘सुरुमा विवाद नभएका शालिकमात्रै ल्याउने हाम्रो योजना हो । बाँकी योजना पूरा गर्नका लागि विवाद नहुने किसिमले हामी प्रक्रियामै छौं,’ उनले भने ।

पार्कका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट १ करोड रुपैयाँ थप विनियोजन भएको संयोजक थापा बताउँछन् । उनले प्रदेश सांसद रामजी बरालबाट पनि २ लाख रुपैयाँ र पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माको सांसद विकास कोषबाट बजेट विनियोजन भएको जानकारी दिए ।

‘अघिल्लो पटक छुटिएको बजेटले तारबार लगाउने, शालिकका लागि ठाउँ बनाउने र केही शालिक पनि राख्ने काम भयो,’ संयोजक थापाले भने, ‘अहिले छुटिएको बजेट पनि पार्कको पूर्वाधार विकासमै लगानी गर्ने गरी टेन्डरमा गइसकेको छ ।’

रवीन्द्र अधिकारीको पनि शालिक फेरिने !

०७५ फागुन १५ मा ताप्लेजुङमा हवाइ दुर्घटनामा परी मृत्यु भएका पूर्वमन्त्री रवीन्द्र अधिकारीको शालिक पार्कको उत्तरी भेगमा राखिएको छ । बहालवालमन्त्री रहेकै बखत हवाइ दुर्घटनामा मृत्यु भएपछि उनको सम्झनामा त्यहाँ शालिक राखिएको हो ।

शालिकका लागि गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माण गर्न १५ लाख उपलब्ध गराएको थियो । जसको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको पहिलो स्मृति दिवशको छेको पारेर अघिल्लो वर्षको फागुन १५ गते अनावरण गरेका थिए ।

पोखरेलीमाझ अत्यन्तै चर्चित रहेका नेता अधिकारीको शालिक उनीबमोजिम नभएको भन्दै तत्कालीन समयबाटै विरोध हुँदै आएको थियो । अधिकारीको नाममा बनेको शालिक ‘उनीजस्तै नभएको’ भन्दै पोखरेलीले असन्तुष्टि पोख्दै आएका थिए ।

अनावरित शालिकको बनोटबारे चौतर्फी विरोध आएपछि पोखरा महानगरले शालिक परिवर्तन गर्ने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले गरेको दोस्रो स्मृति दिवस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापाले शालिक परिवर्तन हुन लागेको जानकारी दिएका हुन् । ‘हतारमा गरिएकाले शालिकको केही भाग नमिलेको भन्ने जनगुनासो आयो । पोखराका मेयर सा’बले शालिक फेर्ने जानकारी दिनुभा’छ । यो फेरिन्छ,’ उनले भने ।

अघिल्लो पटक प्रदेश सरकारको सहयोगमा बनेको शालिक यस पटक भने महानगरले बनाउने भएको हो । शालिक परिवर्तनबारे जिज्ञासा राख्दा पोखरा महानगरका मेयर मानबहादुर जिसीले बल्ल कुरा सुरु भएको र कहिलेसम्म फेरिसक्ने एकीन नभएको बताए । उनले भने, ‘भ्यायो भने शालिकलाई अझै आकर्षक बनाउने हो कि भन्ने कुरा छ । बल्ल कुरो सुरु भएको छ । हेरौं कहिलेसम्म हुन्छ ।’

शालिकमा रवीन्द्र स्मृति प्रतिष्ठानले शनिबार अधिकारीको दोस्रो स्मृति दिवसमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रतिष्ठान अध्यक्ष विद्या भट्टराई लगायतको टोलीले माला तथा दीप प्रज्वलन गरेका थिए । वक्ताहरुले समृद्ध नेपालका एक अगुवा गुमाउँदा नेपाली राजनीतिले ठूलो क्षति भोगेको र उनको योगदान बिर्सन नहुने मत राखेका थिए ।

प्रतिष्ठानले रवीन्द्र अधिकारीको दोस्रो स्मृति सप्ताहव्यापी रुपमा मनाउँदै छ । शनिबार शहिद पार्कको शालिकमा दीप प्रज्वलन तथा माल्यार्पण गरिसकेपछि आइतबार बिहान हरिहर गुफालाई प्रतिष्ठानले सहयोग गरेको थियो । फागुन २१ गते काठमाडौंमा रवीन्द्र अधिकारीबारे लेखिएको रवीन्द्र स्मृति ग्रन्थ विमोचन गर्ने प्रतिष्ठानको कार्यतालिका छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *