बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या – Nepal Press

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ । बीबीसीका अनुसार हत्यापछि उनको शव बलजफ्ती जलाइएको थियो ।

प्रारम्भिक अनुसन्धान तथा एउटा भाइरल भिडियोले सम्पूर्ण घटनामा स्थानीय थानाका थानाध्यक्षको मिलेमतो रहेको संकेत गरेका छन् । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।

नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम) का अनुसार यो घटना २१ जनवरीको हो । सुरेश त्यस दिन आफ्नो काममा गएका थिए भने छोरा बजार गएका थिए । बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले उनलाई रोके ।

‘तर, मेरो छोराले उनको कुरा नसुनी घर पुग्दा आफ्नी बहिनीलाई घाइते अवस्थामा भुईंमा लडिरहेको देख्यो । त्यसपछि उसले मलाई फोन गरेर बोलायो । म घर पुग्दा पनि छोरी जमिनमै लडिरहेकी थिई । उसको घाँटीमा रातो दाग थियो । मैले उसलाई उपचारका लागि डाक्टरकहाँ पुर्‍याएँ । तर, कसैले पनि उपचार गर्न मानेनन्’ सुरेशले पूर्वी चम्पारणका अनुमण्डल अधिकारीलाई दिएको लिखित निवेदनमा भनेका छन् ।

सुरेशका अनुसार त्यसपछि त्यहाँ अभियुक्तका मानिसहरु जम्मा भएका थिए । उनीहरुले लाशलाई तुरुन्तै जलाउन दबाब दिन थाले ।

सुरेशले निवेदनमा भनेका छन्, ‘देवेन्द्रकुमार साहले लाश तुरुन्त जलाउन धम्की दिंदै भने कि अन्यथा तेरो छोराको पनि हत्या गरेर नेपालमा लगी फ्याँकिदिनेछु । त्यसपछि एउटा सादा कागजमा मेरो औंठा छाप लगाइयो र राति १२ बजे बलजफ्ती पोखर रोडमा सडकको किनारमा नून र चिनी हालेर लाश जलाइयो । बिहान भएपछि मलाई नेपालतर्फ लखेटियो ।

१२ दिनपछि एफआईआर दर्ता
२१ जनवरीमा भएको घटनाको प्रारम्भिक उजुरी २ फेब्रुअरीमा मात्रै दर्ता भयो । कुल ११ जनालाई अभियुक्त बनाइएको छ, जसमा चार अभियुक्त विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ । यसैगरी, अन्य सातजनामा घर मालिक सियाराम साह पनि छन् । उनीमाथि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप छ ।

एफआईआर दर्ता भएपछि गत ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भएको थियो । उक्त अडियोमा २१ जनवरीमा कुँडवा चैनपुरका थानाध्यक्ष संजीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीचको कुराकानी सुन्न सकिन्छ । कुराकानीमा थानाध्यक्ष संजीवकुमारले अभियुक्त रमेश साहसँग भनेका छन्, ‘केटीलाई ठेगान लगाउ र चिसोले मरेकी भनेर लेख ।’

एसपी झाले बीबीसीलाई बताएअनुसार यो घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ । अन्य अभियुक्तलाई गिरफ्तार गर्न एउटा कमिटी निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर